अब कक्षा १–१२ एउटै सिफ्टमा

schoolsकाठमाडौं, १७ असोज । विभिन्न सिफ्टमा कक्षा १ देखि १२ सम्म सञ्चालनमा भएका विद्यालयहरू अबदेखि एउटै सिफ्टमा सञ्चालन हुने भएका छन् ।

विद्यालयहरूले मानोमानी ढंगबाट बिहान र दिउँसो कक्षा सञ्चालन गर्दै आएको भन्दै उच्च माविले सञ्चालन गरेका विद्यालयहरूले कक्षा १ देखि १२ सम्म एउटै समयमा कक्षा सञ्चालन गर्नुपर्ने भएको छ ।
शिक्षा विभागले सबै क्षेत्रीय निर्देशनालय र जिल्ला शिक्षा कार्यालयहरूलाई विद्यालयलाई एउटै सिफ्टमा विद्यालयको नियमित समयमा कक्षा सञ्चालन गर्नका लागि निर्देशन दिइसकेको छ । निर्देशनमा विद्यालयको नियमित समय बिहान १० देखि ४ बजेसम्म कक्षा १ देखि १२ सम्म सञ्चालन गर्नुपर्नेछ । बिहान र दिउँसो सिफ्टमा विद्यालय सञ्चालन गर्दा शिक्षकहरूले दोहोरो सुविधा लिने तर राम्रोसँग नपढाउने भएकाले एकै समयमा विद्यालय सञ्चालन गर्न थालेको हो ।
विभागमा निर्देशक टेकनारायण पाण्डेले सबै विद्यालयहरू अबदेखि एउटै सिफ्टमा सञ्चालन गर्न निर्देशन दिइसकेको जानकारी गराए । ‘हामीले एउटै सिफ्टमा सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइसकेका छौँ,’ उनले भने, ‘चाँडै नै विद्यालयहरूले नियमित समयमा १० देखि ४ बजेसम्म सबै कक्षा सञ्चालन गर्नेछन् । अबदेखि फरक समयमा कक्षा सञ्चालन गर्न पाउँदैनन् ।’
उनका अनुसार एउटै शिक्षकले दोहोरो सुविधा लिएर पनि राम्रोसँग नपढाउने भएकाले एउटै समयमा कक्षा सञ्चालन लागिएको हो । ‘दुई सिफ्टमा कक्षा सञ्चालन गर्दा दोहोरो सुविधा शिक्षकले लिएका थिए । तर, सुविधाअनुसार राम्रोसँग पढाएका थिएनन्,’ उनले भने, ‘एउटै सिफ्ट भएपछि दोहोरो सुविधा पनि लिन पाउँदैनन् । र राम्रोसँग पढाउनेछन् ।’
विभागले सबै कक्षामा राम्रोसँग पठनपाठन होस् भनेर एउटै सिफ्टमा कक्षा सञ्चालनको तयारी गरेको हो । भौतिक पूर्वाधार कारण एउटै सिफ्ट सञ्चालन हुन नसक्ने विद्यालयले भने फरक समयमा सञ्चालन गर्न सक्ने पाण्डेको भनाइ रहेको छ । तर, त्यस्ता विद्यालयले जिल्ला शिक्षा कार्यालयको अनुमतिमा मात्र फरक समयमा सञ्चालन गर्न पाउनेछन् ।
अहिले कक्षा १ देखि १० सम्म दिउँसो र बिहान कक्षा ११ र १२ को कक्षा सञ्चालन गर्दै आएका छन् । केही विद्यालयहरूले कक्षा ६ देखि १० सम्म बिहान सञ्चालन गर्दै आएका थिए । शिक्षकले बिहान पढाए दिउँसो राम्ररी नपढाउने गरेको विभागले जनाएको छ । शिक्षकले बिहान र दिउँसो पढाउँदा थप सुविधा लिँदै आएका थिए । निर्देशक पाण्डेले एउटै सिफ्टमा कक्षा सञ्चालन गर्दा खर्च पनि कम हुने बताए ।
यसैगरी विभागले कक्षा ९ र १० का लागि नियुक्त पाएका योग्य र विषय मिलेका शिक्षक उच्च माविमा पनि पढाउन पाउने व्यवस्था गरेको छ भने उच्च मावि तहमा नियुक्ति पाएका शिक्षकले तल्लोतहमा पनि पठन–पाठन गर्ने व्यवस्था गरिएको छ । निर्देशक पाण्डेले शिक्षकको व्यवस्थापन गर्न सजिलो हुने भएकाले योग्यता पुगेका शिक्षकलाई उच्चमावि र तल्लो तह सबैमा पढाउन व्यवस्था गरिन थालिएको जानकारी गराए । ‘योग्य र विषय मिलेको शिक्षकले तल्लो र माथिल्लो दुवै कक्षामा पढाउन सक्नेछन्,’ उनले भने, ‘एउटै शिक्षकले दुवैतिर पढाउँदा खर्च व्यवस्थापन पनि कम हुन्छ ।’

प्रतिक्रिया