काठमाडौं, १५ असोज । भारतले नेपाली सेनालाई संविधानसभा चुनावअघि नै सैन्य सहयोग उपलब्ध गराउने भएको छ ।
प्रधानसेनापति गौरवशमशेर राणासंगको भेटमा सोमबार भारतीय सेनाअध्यक्ष जनरल विक्रम सिंहले पाइपलाइनमा रहेका सवारीसाधनसहितको अन्य सैन्य सामग्रीलाई चुनावअघि नै उपलव्ध गराउने प्रतिबद्धता जनाएका हुन् । भारतीय सेनाअध्यक्ष सिंहको औपचारिक निमन्त्रणामा साताव्यापी भ्रमणका क्रममा दिल्ली पुगेका राणाले सोमबार समकक्षी सिंहसँग भेट गरेका थिए ।
प्रधानसेनापति राणाले चुनावका लागि सवारीसाधनलगायत अन्य सैन्य सामग्री आवश्यक परेको बताएपछि सिंहले सबै प्रकारको सैन्य सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएका हुन् । भारतीय उच्च सैनिक अधिकारीसहित भएको भेटमा राणाले नेपाली सेनालाई हेलिकोप्टर आवश्यक रहेको प्रस्ताव पनि राखेपछि उनीहरूले एएलएच (एड्भान्स लाइट हेलिकोप्टर)समेत उपलब्ध गराउने भएको छ । भारतीय पक्षले नेपाली सेनालाई हेलिकोप्टरसम्बन्धी तालिमसमेत प्रदान गर्ने विषयमा छलफल सकारात्मक भएको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।
राणाले ६१ हजार नेपाली सेना संविधानसभाको दोस्रो चुनावमा परिचालन हुने भएकाले सवारी साधन र हेलिकोप्टर आवश्यक रहेको प्रस्ताव राखेको स्रोतको भनाइ छ । स्रोतका अनुसार भारतीय सेनाध्यक्षले नेसनल डिफेन्स कोर्स (एनडिसी)को संख्या बढाउन राखिएको नेपालको प्रस्तावलाई पनि सकारात्मक रूपमा लिएको र सेनालाई एनडिसीको संख्या थप्ने प्रतिबद्धता जनाएका छन् । हाल भारतले नेपाली सेनालाई एनडिसीका लागि १ जनाको कोटा उपलब्ध गराउँदै आएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलले भारतले चुनावअघि पाइपलाइनमा भएका सैन्य सामग्री उपलबध गराउने प्रतिबद्धता जनाएको जानकारी दिए । ‘पाइपलाइनमा रहेका सैन्य सामग्री यथाशीघ्र सुचारु गर्नुका साथै सेनालाई हेलिकोप्टर दिन पनि भारतीय पक्ष सहमत भएको छ,’ प्रवक्ता पोखरेलले सौर्यसँग भने ।
भारतले नेपाली सेनालाई राजाको प्रत्यक्ष शासनकाल सुरु भएपछि सैन्य सहयोग बन्द गरेको थियो । त्यसपछि भएको विस्तृत शान्ति सम्झौताका कारण सेनाले दोस्रो मुलकबाट सैन्य सहयोग भित्र्याउन सकेको थिएन । लडाकु समायोजन प्रक्रिया सकिएपछि सरकारले सेनालाई सैन्य सहयोग ल्याउने बाटो खुला गरे पनि भारतबाट आउन सकेको थिएन । भारतीय विदेशमन्त्री सलमान खुर्सिदले नेपाल भ्रमणमा सैन्य सहयोग चाँडै सुचारु गर्ने बताएका थिए ।
भारतले यसअघि पाइपलाइनमा रहेको करिब एक अर्ब ७६ करोड रुपियाँबराबरको हतियारसहितको सैन्य सामग्री उपलब्ध गराउने भएको हो । जसमा सवारीसाधान, बारुद, गोली, ८१ र ५१ एमएम र मोर्टारका साथै डेटोनेटर, सुरक्षा फ्युज र सैन्य हार्डवेयर छ ।
संयुक्त सैन्य अभ्यासको निरीक्षण
राणा र भारतीय स्थल सेनाअध्यक्ष सिंहले पिथौरागढमा सञ्चालन भइरहेको नेपाल–भारतको बटालियन तहको संयुक्त सैन्य अभ्यासको निरीक्षण पनि गरेका छन् ।
प्रधानसेनापति भएपछि तेस्रोपटक भारतको औपचारिक भ्रमणमा रहेका राणालाई भारतीय सेनाअध्यक्षले उनको सम्मानमा रात्रिभोज दिएका छन् । रात्रिभोजमा नेपाली कार्यबाहक राजदूत खगनाथ अधिकारीका साथै भ्रमण टोलीका सदस्य एवं भारतका उच्चपदस्थ सैनिक अधिकारीको उपस्थिति थियो ।
राणाले भारत भ्रमणको क्रममा भारतीय रक्षामन्त्री एके एन्टोनी र भारतीय विदेशसचिव सुजथा सिंहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । मंगलबार भारतीय सेनाको पश्चिम कमान्ड मुख्यालय जाने कार्यक्रम छ । राणासँगै भारत भ्रमणमा सैनिक विनय महानिर्देशक उपरथी भिक्टर राणा, सहायकरथी सुरेशराज शर्मा, महासेनानी प्रेमध्वज अधिकारी र सह–सेनानी आयुष राणा सहभागी छन् ।
प्रतिक्रिया