खेलकर्मीलाई सभासद् बनाउन महासंघको पहल

काठमाडौं : आसन्न संविधानसभा निर्वाचनका लागि नेपाल खेलकुद महासंघले थुप्रै खेलकर्मीलाई उम्मेदवार बनाउन पहल गरेको छ । राष्ट्रिय फुटबल संघमा आबद्ध फुटबल प्रशिक्षक छिरिङ लोप्साङ र महासंघ अध्यक्ष पुरुषोत्तम पौडेल प्रत्यक्षमा उम्मदेवार हुने सम्भावना प्रबल छ । पौडेल बारा ६ नम्बर क्षेत्रमा तथा छिरिङ मनाङबाट उम्मेदवार हुने तयारीमा छन् ।
यसैगरी काठमाडौंको क्षेत्र नम्बर ८ बाट ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठ उम्मेदवार हुने लगभग निश्चित रहेको जनाइन्छ । यसैगरी, महासंघका सल्लाहकार तथा नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ चितवनमा उम्मेदवार हुने सम्भावना रहेको छ ।
यसैगरी, नेपाल स्की संघकी सदस्य तथा महासंघकी सचिवालय सदस्य शान्त माया परियार समानुपातिकतर्फ टिकट पाउन लायक रहेको प्रतिक्रिया खेलकर्मीको छ । महासंघले सल्लाहकार उमेशलाल श्रेष्ठ, महासचिव टेन्डी शेर्पा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य खड्ग रानाभाट र सदस्य शकुन्तला नगरकोटीलाई सिफरिस गरेको छ ।
सञ्चारकर्मीसमेत रहनुका साथै मनाङ काठमाडौं एमाले सम्पर्क समितिकी संस्थापक अध्यक्ष भएकी परियार महिला भएकै कारण पनि उनको पक्षमा नेतृत्व सकारात्मक भएको जनाइन्छ । (सौस)

प्रतिक्रिया