झोला नपाएको भन्दै प्रधानाध्यापकमाथि हातपात

School 1बर्दिया, १० असोज । राहतका लागि वितरण गरिएको झोला नपाएको विषयलाई लिएर प्रधानाध्यापकमाथि हातपात भएपछि दौलतपुरमा रहेको नेपाल राष्टिय निम्न माध्यमिक विद्यालय मंगलबारदेखि बन्द भएको छ ।
असार ६ गते कर्णाली नदीमा आएको बाढीबाट पीडित परिवारका बालबालिकाका लागि प्लान नेपालले वितरण गरेको झोला नपाएको भन्दै दौलतपुर गाविस–९ का लडडु थारूले मंगलबार विद्यालयभित्रै प्रधानाध्यापक प्रेम शाहीमाथि हातपात गरेका थिए । विद्यालयमा पढाइरहेको अवस्थामा एक्कासि आफूमाथि हातपात गरिएको प्रधानाध्यापक शाहीले बताए । उनले भने, ‘कक्षा कोठामा पढाइरहेको थिएँ, बोलाएर हातपात गरे ।’ विद्यालय हाताभित्रै प्रवेश गरी हातपात गर्ने क्रियाकलापबाट आफूहरू असुरक्षित भएको भन्दै विद्यालय प्रशासनले विद्यालय बन्द गरेको हो । हातपात गर्नेलाई कारबाही नभएसम्म पठनपाठन सुचारु नगर्ने शिक्षकले बताएका छन् । प्रधानाध्यापक शाहीले सार्वजनिक अपराध अन्त्य गर्न कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय राजपुरमा उजुरी दिएका छन् ।
हातपात गर्ने थारूलाई सार्वजनिक अपराधअन्तर्गत कारबाहीका लागि बुधबार जिल्ला प्रहरी कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय राजपुरका प्रहरी निरीक्षक राजु थापाले बताए । विद्यालय हाताभित्रै प्रवेश गरी हातपात गरेको विरोधमा दौलतपुर गाविसभित्र रहेका ६ वटा विद्यालय पनि बन्द भएका छन् ।

प्रतिक्रिया