क्युमा रहेका चलचित्र चल्ने

काठमाडौं, २३ चैत । नेपाली चलचित्र प्रदर्शनमा लाग्दै आएको ‘पालो प्रणाली’ नमान्ने घोषणा गरेका प्रदर्शकहरूले हालसम्म क्युमा रहेका चलचित्र भने त्यसैअनुरूप प्रदर्शन गर्न सहमति जनाएका छन् । बिहीबार प्रदर्शकहरूको संस्था नेपाल चलचित्र संघ, निर्माताहरूको संस्था नेपाल चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डका पदाधिकारीबीच बोर्डको कक्षमा बसेको बैठकले सो सहमति जनाएको हो ।
निर्माता र प्रदर्शकबीच सिन्डिकेट प्रणाली मान्ने वा नमान्ने विवाद चर्किइरहँदा बोर्डले सहजकर्ताको भूमिका निर्वाह गरेको हो । बैठकमा पालो कुरेर बसिरहेका तीन दर्जनबढी चलचित्र चलाउन्जेल पालो प्रणालीलाई पनि अवलम्बन गर्न प्रदर्शकहरू सहमत भएका हुन् ।
ती चलचित्र प्रदर्शन भइसकेपछि हलवाला र निर्माताले आफूखुसी स्वतन्त्र रूपमा चलचित्र चलाउन पाउने बाटो पनि बैठकमा भएको सहमतिले खोलिदिएको छ । सहमतिमा तीनै पक्षले हस्ताक्षर गरेका छन् । बुधबार प्रदर्शकको भेलाले पालो प्रणाली नमान्ने निर्णय गरेको थियो । यद्यपि, चलचित्र संघका प्रतिनिधिले त्यो संस्थाको आधिकारिक निर्णय नभएको बैठकमा बताए ।

प्रतिक्रिया