थोत्रा जहाज हटाउन अल्टिमेटम

काठमाडौं, २१ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलबाट पुराना जहाज हटाउन सम्बन्धित कम्पनीलाई १५ दिनको समय दिएको छ । विगतदेखि नै जहाज हटाउन आग्रह गर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जहाज कम्पनीलाई यसका लागि अन्तिम मौका दिएको हो ।
मंगलबार सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले जहाज मालिक तथा सञ्चालकलाई जहाज हटाउनका लागि पुनः आग्रह गरेको हो । लामो समयदेखि ती जहाज सञ्चालनमा सञ्चालन गर्न सकिने अवस्थामा समेत नरहेको भन्दै प्राधिकरणले पूर्णतः काम नलाग्ने भएपछि हटाउन लागेको हो । विभिन्न विमान कम्पनीले भाडामा ल्याएका जहाज बिग्रिए पछि विमानस्थलमा त्यत्तिकै छोडेका छन् ।
‘कवाडी’ अवस्थामा पुगिसकेका जहाज विमानस्थल रनवेको पूर्वपट्टि आगो निभाउने मेसिन नजिक राखिएको छ । यसका कारण सुरक्षा बढेको विमानस्थल प्रहरीले बताउदै आएको छ । तोकिएको समयभित्र सम्बन्धित कम्पनी वा सञ्चालकले दाबी नगरे सबै जहाज लिलाम गरिने प्राधिकरणले जनाएको छ । सम्बन्धित कम्पनीले प्राधिकरणलाई तिर्नुपर्ने सबै बक्यौतासमेत यो अवधिभित्र तिर्नुपर्नेछ । लिलामीबाट प्राधिकरणको रकम उठ्न नसकेमा नियमअनुसार बाकी रकम सम्बन्धित कम्पनीबाट असुल गरिने प्राधिकरणले बताएको छ ।
लिलामी गर्न लागिएका जहाजमा धेरैजसो कस्मिक एयरका छन् । विगतमा कस्मिकले सञ्चालन गरेका नौ एन एजिवाई, नौ एन एइपी, नौ एन एसिई र नौ एन एसिजी गरी चारवटा जहाज हटाउन प्राधिकरणले सूचना जारी गरेको छ । यसमध्ये एउटा जहाज कस्मिकको स्वामित्वमा छ भने बा“की तीन वटा जहाज निर्माता जर्मनी कम्पनी डोर्नियरकै स्वामित्वमा छन् । नेपाल एयरवेजको नौ एन एडिजे एएस ३५० बी जहाज पनि हटाउनुपर्ने सूचीमा परेको छ । कस्मिक र नेपाल एयरवेज दुवै कम्पनी बन्द भइसकेका छन् । प्राधिकरणको तथ्यांकअनुसार नेपाल एयरवेजको एयर अपरेसन सर्टिफिकेट (एओसी) नम्बर ००६ ९६ हो । उसको एओसी रद्द भइसकेको छ । त्यस्तै कस्मिक एयरको एओसी नम्बर ०१८ ३ हो । यसले २००३ मा एओसी पाएर केही वर्ष सेवा सञ्चालन गरेको थियो ।
प्राधिकरणले सम्बन्धित कम्पनीलाई पटकपटक पत्राचार गरी जहाज हटाउन आग्रह गरे पनि चासो नदेखाएपछि लिलामीको प्रस्ताव पर्यटन मन्त्रालयमा पठाइएको छ । प्राधिकरणले गत वर्ष नै जहाज लिलामी गर्ने बताए पनि गर्न सकेको थिएन । थोत्रा जहाजले विमानस्थलको सुन्दरतामा असर परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि जहाज हटाउन निर्देशन दिएको थियो ।
जहाजको पार्किङ शुल्कसमेत सम्बन्धित कम्पनीले तिरेका छैनन् । जहाजको पार्किङ, ल्यान्डिङ र नेभिगेसन गरी एक करोड ५० लाख रुपिया बक्यौता नाघेको विमानस्थल प्रशासनले जनाएको छ । जहाजको तौल र आकारको आधारमा पार्किङ शुल्क लिने गरिन्छ ।
विमानस्थलमा नेकोन एयर, यति एयरलाइन्स र नेपाल वायुसेवा निगमका समेत पुराना जहाज अलपत्र अवस्थामा छन् । त्यस्तै विभिन्न विमान कम्पनीले छोडेर गएका मिनीबस, हाइड्रोलिक ज्याक, भर्‍याङ, ब्यागेज ट्रलीलगायतका पुराना सामान तथा उपकरणहरू समेत अव्यवस्थित रूपमा छरिएर रहेका छन् ।

प्रतिक्रिया