किसानका लागि देउखुरीमा अत्याधुनिक डेरी

cowदेउखुरी, १४ साउन । दाङका किसानहरुको दैनिकी अचेल फेरिन थालेको छ । एउटा गाई, भैंसी मात्र पाल्ने किसानले गोठैभरि गाई भैंसी पालेका छन् । अनि दुध वेचेर मनग्य आम्दानी गरीरहेका छन् ।
किसानहरुले उत्पादन गरेको दुधलाई वजारीकरण गर्न र किसानको क्षमता अभिवृद्धि गर्न देउखुरीमा पहिलो पल्ट दुधलाई प्रशोधन गरी विक्री वितरण गर्ने पाश्चराईज्ड प्रविधिको डेरी परियोजना शुरु भएको छ । दुई करोडको लागतमा लमहीमा डेरी प्लान्ट निर्माण भैरहेको छ ।
उद्यमशील कृषि वहुउद्देश्यीय सहकारी संस्थाले जिआईजेड ईन्कुलुडको सहयोगमा करीव दुई करोडको लागतमा डेरी परियोजना शुरु भएको हो । परियोजनाको पहिलो चरणमा कृषिकहरुलाई ब्यावसायिक दुध उत्पादनमा सघाउन कृषकहरुको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको छ ।
चैलाही, सोनपुर, सिसहनिया, लालमटिया, सतवरिया, गढवा, गोवरडिहा, गंगापरस्पुरलगायत गाविसका एक हजार वढी किसानलाई समूहमा आवद्ध गराई ब्यावसायिक दुध उत्पादनमा सहभागी गराइएको संस्थाका प्रवन्ध निर्देशक शंकर गौतमले जानकारी दिए । ‘दुधलाई प्रशोधन गरी वजार पुर्‍याउने लक्ष्य अनुसार काम भैरहेको छ,’ उनले भने, ‘किसानलाई ब्यावसायिक रुपमा अघि वढाउने हाम्रो प्रयास हो ।’
उनका अनुसार किसानहरुलाई ब्यावसायिक दुध उत्पादन अन्र्तगत उन्नत जातका गाईपालनमा उत्प्रेरित गर्न किसानहरुको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो । किसानहरुलाई समुहमा आवद्ध गराई आहार, गोठ, पशु स्वास्थ्य, पशु पालन, प्रजनन् ब्यवस्थापन, अभिलेख राख्न सघाउन किसानहरुलाई अग्रसर गराइएको छ ।
यसैवीच, आईतवारदेखि लमहीमा डेरी मूल्य श्रृङ्खला प्रवद्र्धन आयोजना अन्र्तगत कृषक ब्यवस्थापन तालिम शुरु भएको छ । तालिममा तीसजना किसानको सहभागिता छ । (फाईल तस्विर)

प्रतिक्रिया