काठमाडौं, २१ असार । नेपाली सेनामा समायोजित पूर्व माओवादी लडाकुहरुले अन्तिम दलेल कवाज देखाएको छ ।
सैन्य समायोजन आधार तालिम अन्तर्गत विभिन्न ८ वटा तालिम केन्द्रहरुमा तालिमरत सैन्यहरुको आज (शुक्रबार) अन्तिम दलेल कवाज सम्पन्न भएको हो । समायोजन तालिम पूरा गरेका मध्ये सिपाही दर्जा निर्धारण भएकाहरु सम्बन्धित युनिटमा हाजिर हुन जानेछन् ।
हाजिर भए पश्चात ३ महिनाको दर्जा विशेष तालिम संचालन गरिने छ । प्युठ र अमल्दारको हकमा नेपाली सेनाले तर्जुमा गरेको परिमार्जित बिल्लादार क्याडर ग्रेड गरिने सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पूर्व माओवादी लडाकुहरु मध्ये १ हजार ३ सय ५२ जनाले तालिम सम्पन्न गरिसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सेनामा पूर्व माओवादी लडाकुहरु मध्ये ७१ जना अधिकृतहरु सैनिक प्रतिष्ठानमा र बाँकी १ हजार ३ सय ७३ पदिक तथा अन्य दर्जामा समायोजित हुने सैन्यहरु सेनाको विभिन्न ८ तालिम केन्द्रहरुमा तालिमरत थिए ।
तालिमका समयमा २१ पूर्व माओवादी लडाकुहरु विविध कारणले बाहिरिएका विज्ञप्तिमा उल्लेख छ ।
सेनामा तालिमरत सैन्यहरु मध्ये सैन्य तालिम केन्द्र त्रिशुलीमा ४ सय ७९ जना, एकीकृत सैनिक तालिम केन्द्र सालझण्डीमा १ सय ९१ जना, पूर्वी पृतना तालिम शिक्षालय ईटहरीमा ८० जना, पश्चिम पृतना तालिम शिक्षालय खैरेनीटारमा ८५ जनाले तालिम लिएका छन् ।
त्यसै गरी, मध्य पश्चिम पृतना तालिम शिक्षालय नेपालगञ्ज ८६ जना, नम्वर २ सैन्य तालिम गुल्म हिलेमा १ सय ७३ जना, नम्वर ४ सैन्य तालिम गुल्म सुर्खेतमा ८७ जना र नम्वर ५ सैन्य तालिम गुल्ममा १ सय ७१ जना गरी १ हजार ३ सय ५२ सैन्यहरु तालिमरत थिए ।
सैनिक प्रतिष्ठान खरिपाटीमा अधिकृत तहमा तालिमरत ७० जनाको तालिम आगामी भदौ महिनामा सम्पन्न हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
तालिमरत पूर्व माओवादी लडाकुहरु मध्ये तालिम शुरु हुनु पूर्व स्वेच्छिक अवकासमा गएका १६ जना, तालिमको दौरान विविध कारणबाट स्वेच्छिक अवकास गएका १३ जना सैन्य र अधिकृत तहमा तालिमरत १ जना, मेडिकल अनफिट भएका ३ जना र तालिम छाडी भगैर परेका ५ जना गरी ३८ जना तालिमबाट बाहिरिएका विज्ञप्तिमा जनाईएको छ ।
प्रतिक्रिया