काठमाडौं, २७ जेठ । कांग्रेस नेता शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका लागि आइतबार दिल्लीतिर लागेका छन् । भारत सरकारको निमन्त्रणामा ६ दिनका लागि देउवा पत्नी आरजु राणा र पार्टी केन्द्रीय सदस्य विमलेन्द्र निधिका साथ भारत प्रस्थान गरेका हुन् ।
भारत भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग नेता देउवाले भारतीय नेताहरूसँग नेपालमा हुन लागेको संविधानसभा चुनाव, दुई देशबीचको सम्बन्ध विस्तार, जलस्रोतको विकासमा सहयोगलगायत विषयमा छलफल हुने बताए । ‘नेपाल–भारत सहयोग एवं सम्बन्ध विस्तार तथा सिँचाइ, जलस्रोत विकासलगायत विषयलाई प्राथमिकता दिइनेछ,’ देउवाले भने, ‘जलस्रोत विकासमा दुवै देश मिलेर गर्न सकिने धेरै काम छन् ।’ उनले संविधानसभा चुनावका लागि हुनसक्ने प्राविधिकलगायत व्यवस्थापकीय सहयोगका सन्दर्भमा पनि कुरा हुने जानकारी दिए ।
उनले संविधानसभा चुनावको सन्दर्भमा राजनीतिक दलहरूले कुनै पनि सर्त राख्न नहुने धारणा व्यक्त गर्दै यसबारे पार्टी सभापति सुशील कोइरालाको ध्यानाकर्षण गराइसकेको जानकारी दिए । निर्वाचन अध्यादेशका लागि थ्रेसहोल्डलगायत विषयमा विवाद भइरहेका बेला उनको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।
भारत भ्रमणका क्रममा देउवाले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह र कांग्रेस–आईका अध्यक्ष एवं सत्तारुढ दलहरूको गठबन्धन नेसनल प्रोग्रेसिभ एलाइन्सका अध्यक्ष सोनिया गान्धीसँग भेट गर्ने कार्यक्रम छ । यसैगरी, उनले विदेशमन्त्री सलमान खुर्सिद, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, विदेश सचिव रञ्जन मथाईलगायत भारत सरकारका उच्चपदस्थ पदाधिकारीसँग पनि भेट गर्नेछन् । भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव र राष्ट्रवादी कांग्रेस पार्टीका अध्यक्ष शरद पवारलगायत शीर्षनेतासँग पनि भेटघाटको कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
‘वरिष्ठ’ पद छैन, देउवा ‘नेता’ मात्रै : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो आधिकारिक विज्ञप्ति वा बैठकको निर्णय पुस्तिकामा ‘वरिष्ठ’ शब्द लेख्ने गरेको छैन ।
भारत सरकारको अपौचारिक भ्रमणमा आइतबार दिल्ली प्रस्थान गरेका नेता शेरबहादुर देउवाका बारेमा जानकारी दिन पार्टी कार्यालयद्वारा जारी विज्ञप्तिमा कांग्रेसले ‘नेता तथा पूर्वप्रधानमन्त्री’ मात्रै भनेर सम्बोधन गरेको छ । देउवालाई पार्टीका अधिकांश कार्यक्रममा ‘वरिष्ठ’ नेताका रूपमा आसन ग्रहण गराए पनि कांग्रेसको आधिकारिक स्थानमा भने उनलाई ‘नेता’का रूपमा मात्रै सम्बोधन गरिने गरिएको छ ।
कांग्रेस पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीद्वारा शनिबार बेलुका जारी विज्ञप्तिमा पनि देउवालाई ‘नेता एवं पूर्वप्रधानमन्त्री’ मात्रै भनेर सम्बोधन गरिएको छ । यस विषयमा जिज्ञासा राख्दा सचिव पराजुलीले देउवालाई ‘वरिष्ठ’ नेता दिने निर्णय सुशील कोइराला सभापति भएपछि पार्टीमा कतै नभएको जानकारी दिए ।
‘गिरिजाप्रसाद कोइराला सभापति भएका बेला पार्टी एकीकरण हुने क्रममा ‘वरिष्ठ’को उपाधि दिइएको थियो,’ उनले भने, ‘तर, अहिले सभापतिमा सुशील कोइराला निर्वाचित भएर आउनुभएको छ । यसपटक देउवालाई ‘वरिष्ठ’ नेता दिने निर्णय कतै भएको छैन ।’
यसै विषयमा जिज्ञासा राख्न प्रवक्ता दिलेन्द्र बडूसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । देउवानिकट केन्द्रीय सदस्यहरू उनी वरिष्ठ नेता भएको दाबी गर्छन् । ‘शेरबहादुर देउवा वरिष्ठ नेता नै हुनुहुन्छ,’ उनीनिकट एक सदस्यले भने, ‘निर्णय वा लेखिरहनुपर्दैन । देउवा सधैँ वरिष्ठ रहिरहनुहुन्छ ।’
केन्द्रीय सदस्य एनपी सावदले पनि पार्टी एकीकरण गर्ने क्रममा देउवालाई वरिष्ठ नेताको पद दिइएकाले अर्को व्यवस्था नहुँदासम्म सोही निर्णय कार्यान्वयन हुने दाबी गरे । उनले भने, ‘नेता देउवा वरिष्ठ नेता नै हुन्, कुनै आशंका नगर्नुस् ।’
प्रतिक्रिया