प्रहरीमा ६ हजार दरबन्दी थपिने

काठमाडौं, ३ जेठ । आगामी संविधानसभा चुनावलाई लक्ष्य गर्दै सरकारले नेपाल प्रहरीको दरबन्दी बढाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा जनशक्ति अभाव रहेको तथा आगामी चुनावमा थप सुरक्षाकर्मी आवश्यक हुने भन्दै ६ हजार १० नयाँ  दरबन्दी थप्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले प्रहरीको दरबन्दी थप्ने निर्णय गरिएको बताए । बैठकले लोकमार्गको सुरक्षा, अस्थायी प्रहरी बिट, महानगरी सुरक्षाका लागि जनशक्ति अभाव भएकाले दरबन्दी थपगर्ने निर्णय गरिएको उनले बताए । थप गरिएको दरबन्दी मध्ये एक हजार ७ सय १४ दरबन्दीलाई न्यायिक प्रहरी बनाइनेछ ।
यसअघि नै प्रहरी प्रधान कार्यालयले दरबन्दी बढाउन गृह मन्त्रालयसमक्ष प्रस्ताव लगेको थियो । त्यसबारे गृहले मागेको स्वीकृति अर्थले दिएको थियो ।
मन्त्रीपरिषद् बैठकले आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको विजेता बनेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई जनही तीन लाख ५० हजार रुपियाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ । क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले खेलाडीलाई पुरस्कृत गरिएको मन्त्री पौडेलले बताए । क्
मन्त्री पौडेलले दिएको जानकारी अनुसार बैठकले रुकुम जिल्लाको चौरदहारी र पाँचथरको फिदिममा व्यवस्थित आवास विकासका लागि जग्गा उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया