भारतीय सदनमा प्रतिरक्षाको बहस

नयादिल्ली, १५ चैत । भ्रष्टाचारको आरोप लागेका भारतीय सेनाध्यक्ष बिके सिंहले प्रधानमन्त्री डा. मनमोहन सिंहलाई लेखेको पत्रमा सेनासग हतियार कम भएको उल्लेख गरिएको सार्वजनिक भएपछि भारतको राज्यसभामा देशको प्रतिरक्षाप्रति चिन्ता व्यक्त गरिएको छ । यस विषयमा विपक्षी दलहरूले सरकारसग स्पष्टीकरण मागेका छन् । सरकारले भने मुलुकको प्रतिरक्षा क्षेत्रमा कुनै कमजोरी नरहेको दाबी गरेको छ ।
बुधबार भारतीय सञ्चारमाध्यममा सेनाध्यक्षले लेखेको चिठीको हवाला दिदै समाचार प्रकाशन भएको थियो । समाचारमा भारतीय सेनासग हतियार र बारुद कम रहेको जिकिर गरिएको थियो । ‘शत्रुको ट्यांकसग लड्न चाहिने युद्धसामग्री पनि सेनासग छैन र हवाई सुरक्षाका ९७ प्रतिशत सामग्री काम नलाग्ने भइसकेका छन्’ भनी सेनाध्यक्ष सिंहले पत्रमार्फत प्रधानमन्त्रीसग चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको थियो । तर, भारतीय रक्षामन्त्री एके एन्टोनीले भने भारतीय सेनाको तयारी मजबुत रहेकामा आश्वस्त पारेका थिए । सेनाको क्षमतालाई खस्कन नदिन सरकार प्रतिबद्ध रहेको उनले बताएका थिए ।
राज्यसभामा सरकारका तर्पmबाट भनाइ राख्दै एन्टोनीले सेनाध्यक्षले प्रधानमन्त्रीलाई चिठी लेखेको स्वीकार गरेका थिए । यद्यपि, सेनाध्यक्षले लेखेको पत्र सार्वजनिक गर्न नमिल्ने जिकिर उनले गरेका थिए । ‘यस्तो पत्र सार्वजनिक गर्दा मुलुकको हित नहुने भएकाले पत्र सार्वजनिक गर्न मिल्दैन । हाम्रो सेनाको तयारी मजबुत छ र यसको क्षमतालाई खस्कन दिइदैन,’ उनले भने । भारतीय सेनालाई संसारकै अब्बल बनाउन उच्चस्तरीय प्रशिक्षण, उपकरण र हतियारको व्यवस्था गरिने उनले बताए ।
सदनमा विपक्षी नेता अरुढ जेट्लीले पत्रबारे सार्वजनिक बहस चलाउनाले मुलुकको हित नहुने जिकिर गरेका थिए । तर, सञ्चारमाध्यममा आएका भारतको प्रतिरक्षा हैसियतसम्बन्धी समाचार चिन्ताजनक भएको उनले बताएका थिए । उनीपछि बोल्ने जनता दल युनाइटेडका नेता शिवानन्द तिवारीले सेनाध्यक्षले सञ्चारमाध्यममा पत्र चुहाएको भन्दै उनलाई बर्खास्त गर्न सरकारसग माग गरे । ‘पत्र ‘लिक’ गर्नु घोर अनुशासनहीनता हो, सेनाध्यक्षलाई पदबाट बर्खास्त गर्न म सरकारस“ग माग गर्छु,’ उनले भने ।  सेनाध्यक्ष सिंह अहिले भ्रष्टाचारसम्बन्धी विवादमा मुछिएका छन् । यस विषयमा मंगलबार रक्षामन्त्री एन्टोनीले सदनमा स्पष्टीकरण दिएका थिए । (एजेन्सी)

प्रतिक्रिया