काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले ६ महिनापछि कार्यपालिका बैठक बोलाएका छन् । मेयर साहले उक्त बैठक भोलि शुक्रबारको लागि बोलाएको बताइएको छ ।
महानगरका मेयर बालेले भोलि शुक्रबार दिउँसो २ बजे बस्ने गरी कार्यपालिका बैठक बोलाएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले जानकारी दिए ।
उनका अनुसार भोलि कार्यपालिका बस्नको लागि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने छुट्टीमा बस्न लगाइएको छ । स्थानीय सरकार सञ्चालन ऐनले कार्यपालिका बैठक बोलाउने र त्यसको अध्यक्षता गर्ने जिम्मेवारी मेयरलाई दिएको छ ।
महिनाको एक पटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था ऐनमा छ । तर मेयर साहले काठमाडौं टावर नक्सा पास विवाद सुरू भएदेखि पुसबाट बैठक डाकेका थिएनन् । ६ महिनापछि शुक्रबार बस्ने भएको हो ।
आगामी आर्थिक वर्षको बजेट ल्याउन र कार्यपालिका बैठक बोलाउन उपमेयर सुनिता डंगोल र तीन जना वडाध्यक्षले मेयर साहसँग विभिन्न चरणमा छलफल गर्दै आएका थिए । मेयर साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको उपस्थितिमा कुनै हालतमा बैठक नराख्ने अडान लिएका थिए ।
त्यसपछि नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले मेयरको ढिपीका कारण महानगरका गतिविधि नै रोकिने स्थिति आएको भन्दै गुरागाईंलाई बिदा बस्न लगाएर भए पनि कार्यपालिका बैठक बोलाउनुपर्ने राय व्यक्त गरेका थिए ।
प्रतिक्रिया