भिजिट भिसामा विदेश पठाउँदा गरिएको अवैध असुली धन्दामा संलग्नताबाट चोखिन विषयान्तर गर्दै गृहमन्त्रीले भनिदिए– रवि लामिछाने पनि त भिजिट भिसामै अमेरिका गएको हो नि !
काठमाडौँ । भिजिट भिसा प्रकरण भन्नासाथ सेटिङमा पैसा खुवाएर ‘भिजिट भिसा’को नाममा नागरिकलाई विदेशमा काम गर्न पठाएको भन्ने आमबुझाइ छ । यो लुकेको विषय पनि होइन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक अनुसन्धानमा पनि प्रष्ट भइसकेको विषय हो यो ।
आमनागरिक दलालमार्फत् अध्यागमनका कर्मचारीलाई पैसा बुझाएर ‘भिजिट भिसा’मार्फत् खाडी मुलुकदेखि युरोपका देशसम्म कामको खोजीमा जाने गरेका छन् । यो तथ्य बाहिरिएपछि विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसहित अन्य कर्मचारीहरू अहिले अख्तियारको अनुसन्धानमा छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले उनको राजीनामा माग्दै सदन अवरोध र बहिष्कार गर्दै आइरहेका छन् । विपक्षीहरूको मुख थुन्न सरकारले असार ९ को मन्त्रिपरिषद् निर्णयअनुसार पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन पनि गरेको थियो, र समितिले काम पनि सुरु गरिसकेको छ ।
तर, समितिलाई दिइएको ९ बुँदे कार्यादेशमा भिजिट भिसामा विदेश जानेसँग अध्यागमनका कर्मचारीले सेटिङमा अवैध असुली गर्ने गरेकोबारे जाँच गर्ने सबालमा केही पनि उल्लेख छैन । समिति नै झारा टार्न बनाइएकाले कार्यादेश पनि सोही अनुसारको पाएको रास्वपाका एक नेता बताउँछन् । ‘यो झारा टार्ने र सेटिङमा हुने अवैध असुलीबाट चोखिने मेलो मात्र हो,’ ती नेताले भने ।
अध्यागमनमा हुने गरेको अवैध असुलीबारे अनुसन्धान गर्न सुरुदेखि नै आनाकानी गरिरहेको सरकारले यसलाई दबाउन निकै प्रयास गरेको थियो÷छ । भिजिट भिसा प्रकरणको विषय उठ्नासाथ विशेष गरी गृहमन्त्री रमेश लेखक त्यसलाई विषयान्तर गर्ने प्रयत्नमा देखिन्छन् । सुरुआती चरणमा विपक्षीहरूले यसको अनुसन्धान र गृहमन्त्रीको राजीनामा माग गरिरहँदा संसद्मा पुगेर कसको पालमा कति भिजिट भिसामा विदेश गए भन्ने तथ्यांक देखाए । तर, अवैध असुलीबारे कुरै निकालेनन् । अर्थात्, उनले भिजिट भिसालाई नै अपराधीकरण गरिदिए ।
यस्तै, पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा गएकामध्ये केही व्यक्ति नेपाल नफर्किएको भनी चलेको चर्चाबारे मंगलबार रास्वपा सांसदले सदनमा प्रश्न उठाएका थिए । तर, एमाले मुख्य सचेतक महेश बर्तौलाले सदनबाटै प्रतिवाद गरेका थिए । बुधबारको बैठकमा पनि एमाले सांसद सुनिता बरालले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर रास्वपाका तर्फबाट गरिएको टिप्पणीप्रति आपत्ति जनाएकी थिइन् । तर, बुधबारको गृहमन्त्रीको अभिव्यक्तिले भने स्पेन भ्रमणमा गएकाहरूमध्ये केही व्यक्ति उतै लुकेको कुरालाई पुष्टि गर्न पनि थप बल पुगेको रास्वपा नेताहरू बताउँछन् ।
०००
अवैध असुलीमा संलग्नता आरोपबाट चोखिन विषयान्तर
सेटिङमा हुने अवैध असुलीको विषय छोप्न गृहमन्त्री लेखकले फेरि अहिले अर्को प्रोपोगान्डा निकालेका छन् । बुधबार संसद्को रोस्ट्रममै पुगेर फेरि एक पटक भिजिट भिसा प्रकरणभित्रको अवैध असुलीको पाटो लुकाउन रास्वपामाथि नै प्रश्न तेस्र्याए । प्रश्न मात्रै तेस्र्याएनन्, भिजिट भिसामा विदेश जानु अपराध नै हो भन्ने पुष्टिसमेत गर्न खोजे ।
गृहमन्त्री लेखकले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो कि होइन ? भनेर प्रतिप्रश्न तेस्र्याउँदै सो कुरा प्रष्ट पार्न रास्वपालाई नै अह्राए । लेखकले भने, ‘उहाँ (रवि लामिछाने) कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरका रूपमा जानुभएको थियो अरे भन्ने सुनेको थिएँ । उहाँ भिजिटरका रूपमा अमेरिका जानुभएको हो कि होइन ? होइन भने के भिसामा जानुभएको हो, त्यो जानकारी गराउनुहुन आग्रह गर्दछु ।’
जबकि उनको यो तर्कमा कुनै पनि तुक देखिँदनै । किनकि देशका जो–कोही नागरिक पनि सम्बन्धित देशले अनुमति दिए भिजिट भिसामार्फत् जान पाउँछन् । देशको कुनै पनि कानुनले त्यसलाई रोक्दैन । यस्तो सामान्य ज्ञान सायद लेखकमा पक्कै पनि थियो । तर उनले भिजिट भिसा प्रकरणको अवैध असुलीको पाटो लुकाउन विषयान्तर गरेको प्रष्ट छ ।
संसद्मा उनले बुधबार दिएको अर्को अभिव्यक्ति गृहमन्त्रीको स्तरभन्दा निकै तल्लो तहको थियो । ‘अनि भिजिट भिसामै गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ? अनि भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अर्कोलाई ज्यादा नैतिकताको प्रश्न पढाउन हुन्छ कि हुँदैन ?’, उनले प्रश्न गरे । ‘सिंगै ऐनको ड्राफ्ट नै मैले बनाएको हो’ भनेर ठोकुवा गर्ने लेखक बुधबार अवैध असुलीलाई लुकाउने प्रयासमा यो स्तरको बयानबाजीमा उत्रिएका हुन् ।
भिजिट भिसामा विदेश जानेसँग अध्यागमनका कर्मचारीले सेटिङमा अवैध असुली गरेको विषयमा छानबिन गरौँ भन्ने मागलाई विषयान्तर गर्न ‘रवि लामिछाने पनि त भिजिट भिसामा अमेरिका गएको रहेछ नि !’ भन्ने खालको अभिव्यक्ति दिएर सदन र नागरिकलाई गुमराहमा राख्दै अनुसन्धानको मुख्य विषयलाई नै ढाकछोप गर्ने प्रयास गृहमन्त्री लेखकले गरेका हुन् ।
तर, भिजिट भिसामा गएकाले पनि त्यो देशको नागरिकता लिन पाउँछन्, र त्यसो गर्नुलाई भिजिट भिसाको दुरुपयोग मानिँदैन पनि । विश्वमा कतिपय यस्ता देशहरू पनि छन्, जसले भिजिट भिसाअन्तर्गतका विभिन्न श्रेणीअनुसारको भिसा दिएर आफ्नो देश बेलाउँछन् र सो देशको नागरिकतासमेत प्रदान गर्छन् । त्यसैले सम्बन्धित प्रवेश अनुमति दिएमा भिजिट भिसामा जो–कोही पनि विदेश जान पाउँछ । कुनै पनि कानुनले यसलाई रोक्दैन, तर भिजिट भिसामा विदेश गएर कामको खोजी गर्नुचाहिँ गैरकानुनी हुन्छ ।
जुनसुकै भिसामा गएर पनि त्यस देशको आवश्यक प्रक्रिया पूरा गरेपछि पिआर, ग्रिनकार्ड वा नागरिकता पाइने हो । तर, पछिल्लो समय नेपालबाट पैसा खाएर भिजिट भिसामा पठाइएकाहरू भने त्यस देशमा पनि गैरकानुनी हुन्छन् । उनीहरूले त्यहाँको सरकार र स्थानीय प्रशासनसँग लुकेर बस्नुपर्ने अवस्था हुन्छ भने अवैध बसोबास गरेको थाहा पाएका दिन उनीहरूलाई डिपोर्ट गरिदिन्छ । यसरी डिपोर्ट भएर नेपाल फर्काइनेको संख्या पछिल्लो समय बढ्दो छ । कतिपय त तिनै देशका जेलमा कैदी जीवन बिताइरहेका छन् ।
रास्वपा र राप्रपाद्वार बैठक बहिष्कार
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै आएका रास्वपा र राप्रपाले बुधबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । रास्वपा सांसद सोविता गौतमले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग वा संसदीय छानबिन समिति गठन नभएसम्म सदनको बैठक बहिष्कार जारी रहने बताइन् । ‘नागरिक बेचिने र मुलुकको छविमा आँच आउने विषयमा पनि स्वार्थ बाझिने, आफू मातहतको र कनिष्ठ कर्मचारी सम्मिलित टालटुले प्रशासनिक समिति बनाएर झेली खेल खेलेको छ,’ उनले भनिन्, ‘हाम्रो कुरा सरकारले नसुनेका कारण निरन्तर संसद् बहिष्कार गरिरहेका छौँ ।’ राप्रपा सांसद अनिशा नेपालीले पनि उच्चस्तरीय छानबिन समिति वा आयोग नबनेसम्म राप्रपाले संसद् बैठक बहिष्कार गर्ने जानकारी दिइन् । गौतम र नेपालीले धारणा राखेपछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए ।
प्रतिक्रिया