काठमाडौँ । औपचारिक घोषणासहित एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले नेतृत्वमा पुग्न नदिन अध्यक्ष केपी शर्मा ओलीले अर्ली महाधिवेशनको तयारी थालेका छन् । आगामी राष्ट्रिय महाधिवेशनबाट पनि अध्यक्षमा तेहरिन चाहेका ओलीले समयअगावै महाधिवेशन गरेर सो पद हत्याउन लागेका हुन् ।
यसका लागि उनले भित्रभित्रै तयारी सुरु गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू सत्ता र शक्तिमै भएका बेला महाधिवेशन गरी आफूअनुकूल निर्णय गराउन सकिने आकलन गरेका छन् । यसका लागि ओलीपक्षीय नेताहरू पार्टीभित्र सो अनुकूलको माहोल बनाउन भन्दै भित्री रूपमा लागिपरेका छन् ।
पार्टी विधानअनुसार हरेक ५ वर्षमा महाधिवेशन गर्नुपर्ने हुन्छ । १०औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो । सोअनुसार एमालेले२०८३ मंसिरसम्ममा गर्दा हुन्छ । तर, विद्या भण्डारी पक्षधरलाई कार्यकर्ताको तल्लो तहसम्म पुग्ने समय नदिन र पूरा तयारी गर्न समय अपुग गराउने गरी महाधिवेशन अघि सार्ने गृहकार्य भएको हो ।
त्यसैगरी, अघिल्लो २ वर्ष ओली प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई छाड्ने कांग्रेस–एमालेबीच सहमति छ । सोअनुसार ओलीको कार्यकाल २०८३ असारमा सकिन्छ । विधानतः महाधिवेशन हुने हो भने सो समयमा उनी प्रधानमन्त्रीको कुर्सीबाट हटिसकेका हुनेछन् । तसर्थ शक्तिमा हुँदै महाधिवेशन गराउन सके आफू अध्यक्ष बन्न सक्ने उनको बुझाइ छ ।
‘अध्यक्षज्यूको चाहना पुनः दोहोरिने हो । यसका लागि अहिले पूर्वराष्ट्रपति चुनौतीका रूपमा देखापर्नुभएको छ,’ एमालेका एक पदाधिकारीले भने, ‘अर्ली महाधिवेशन गर्न अध्यक्षको स्वार्थ भनेको पूर्वराष्ट्रपतिलाई थप कार्यकर्तामाझ पुग्न नदिनु र सत्तामै रहेका बेलामा आफूअनुकूल पार्न सकिन्छ कि भन्ने हो ।’
एमाले उपाध्यक्ष युवराज ज्ञवाली भने पार्टीमा अर्ली महाधिवेशनको आवश्यकता नभएको बताउँछन् । पार्टीको औपचारिक फोरमहरूमा पनि सो विषयमा छलफल नभएको भन्दै उनले कोही व्यक्तिले इच्छाएको भरमा निर्धारित समयभन्दा अगाडि महाधिवेशन हुन नसक्ने बताए । ‘अर्ली महाधिवेशन गर्नुपर्ने देशको आवश्यकता पनि होइन । पार्टीको आवश्यकता पनि होइन,’ उनले भने ।
विधान महाधिवेशनबाटै विद्यालाई रोक्ने प्रस्ताव तयार !
एमालेले आगामी भदौ २०–२२ मा विधान महाधिवेशन बोलाएको छ । स्रोतका अनुसार विधान महाधिवेशनलगत्तै अर्ली महाधिवेशनको मिति तय गरिनेछ । विधान महाधिवेशनले एमाले नेतृत्वमा विद्या भण्डारी जान नसक्ने गरी रोक्ने तयारी ओली पक्षको छ । पूर्वराष्ट्रपति तथा पूर्वउपराष्ट्रपतिजस्ता संवैधानिक पदमा बसेका व्यक्तिलाई राजनीतिमा सक्रिय हुन नदिने गरी विधानबाटै प्रतिबन्ध लगाउने उनीहरूको तयारी छ ।
यद्यपि भण्डारीले पार्टीको सदस्यता नवीकरण गरिसकेको अवस्थामा उनलाई कार्यकारी भूमिकामा रोक्ने गरी विधान बनाउनेतर्फ गृहकार्य बढेको बताइएको छ । विधानबाटै उनलाई रोक्न सकिए आफू एकल उम्मेदवार हुने ओलीको सपना छ । स्रोतका अनुसार एमाले महासचिव शंकर पोखरेलले गत हप्ता सम्पन्न सचिवालय बैठकमै विद्यालाई रोक्ने गरी विधान बनाउनुपर्ने प्रस्ताव राखेका थिए । तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित बहुमत सचिवालय सदस्यले सो प्रस्तावको विरोध गरेका थिए । तर, भदौमा हुने विधान महाधिवेशनमा अधिकांश प्रतिनिधि संस्थापनबाट ल्याउन सके यस्तो व्यवस्था गर्न सकिने उनीहरूको ठहर छ ।
यता, ७० बर्से उमेर हद लगाएर अध्यक्ष ओलीलाई चाहिँ अध्यक्षको दौडबाटै हटाउने तयारी भण्डारी पक्षको छ । यसमा उनीहरूको तीव्र लबिइङ छ । एकले अर्कालाई रोक्ने छुट्टाछुट्टै तयारी भइरहँदा आगामी विधान महाधिवेशनमै खास रूपमा शक्ति परीक्षण हुने देखिएको छ ।
एमाले उपाध्यक्ष ज्ञवाली पार्टीलाई लोकतान्त्रीकरण गर्न उमेर हद आवश्यक भएको बताउँछन् । विगतमा लामो छलफलपछि उमेर हद लगाइएको भन्दै उनले अहिले निलम्बित अवस्थामा रहेको उमेर हदको प्रावधान विधान महाधिवेशनमा पुनः ब्यँुतिने विश्वास व्यक्त गरे । ‘उमेर हदको विषय आगामी विधान महाधिवेशनमा निर्णय हुन्छ । यो आवश्यक पनि छ,’ उनले भने । विधानबाट कसको राजनीतिक बाटो रोकिनेछ, सो भने प्रतीक्षाको विषय बनेको छ ।
प्रतिक्रिया