महोत्तरी । यतिबेला नेकपा माओवादी केन्द्र मधेस प्रदेशको आन्तरिक विवाद सतहमा देखिएको छ । केन्द्रीय सदस्य भरत साहबाट प्रारम्भ भएको विवाद अर्का केन्द्रिय सदस्य राजु खड्कासम्म आइपुग्दा गुटगत विभाजनभन्दा पनि पक्ष र विपक्षमा बाँडिएको छ ।
संस्थापन र संस्थापन इतरबीच देखिएको गुटगत विभाजन अब व्यक्तिगत प्रतिष्ठासँग जोडिन थालेको छ । गुटैपिच्छेका नेता इतर समूहका नेता कार्यकर्तामाथि ‘पार्टीले कारबाही गर्नुपर्ने कि नपर्ने’ भन्दै कार्यकर्ताहरूको हस्ताक्षर बटुल्न मैदानमा उत्रिएका छन् ।
एकातिर यथेष्ट हस्ताक्षर बटुलेर हेडक्वाटरमा भूगोलमा आफ्नो प्रभावकारिता छ भन्ने प्रमाणित गर्ने र अर्कोतिर आरोपहरू मिथ्या हुन् भन्ने देखाउन कार्यकर्ताहरूलाई स्पष्ट पार्न भ्याइनभ्याइ छ ।
यसैबीच पार्टी नीतिविपरीत हस्ताक्षर अभियान चलाएर कार्यकर्ताहरूलाई भ्रमित बनाउन खोजेको भन्दै गत ८ असारमा माओवादी केन्द्र महोत्तरीले विज्ञप्ति नै जारी गरेको थियो ।
विज्ञप्तिमा विषयको स्पष्टताविना पार्टीमा आफ्नो स्वार्थका लागि गरिने हर्कतले भ्रम सिर्जना गरेको भन्दै पार्टीभित्र सम्बन्धित कमिटीमार्फत् समाधान खोज्न आग्रह गरिएको थियो ।
मधेसको यो विवाद वुझ्नका लागि प्रदेशको मध्यविन्दुमा रहेको महोत्तरीमा नै प्रवेश गर्नुपर्छ । नेताद्वय साह र खड्का हस्ताक्षर अभियानमा उत्रे पनि विषयवस्तु भने फरक फरक छन् ।
पार्टीका पूर्व महोत्तरी इन्चार्जसमेत रहेका राजु खड्का २०७९ सालको निर्वाचनमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्नुपर्ने अडानसहित कार्यकर्ताहरूको बहुमत सहितको ऐक्यबद्धता संकलन गर्न हस्ताक्षरमा लागेका छन् ।
तर भरत साह भने पार्टी हेडक्वाटरमा आफूविरुद्ध परेको निवेदनउपर कारबाहीबाट उन्मुक्ति पाउनुपर्ने अडानसहित हस्ताक्षरको माध्यमबाट ऐक्यबद्धता संकलन गरिरहेका छन् ।
मधेस प्रदेशका यी २ नेताहरूको कारणले नेतादेखि कार्यकर्ताहरूबीच मत बाझिएको देखिएको छ । ‘उहाँहरू आफ्नो स्वार्थपूर्तिका लागि हस्ताक्षर अभियानमा लाग्नुभएको छ यसले पार्टीलाई कमजोर वनाउने र कार्यकर्ताहरूलाई भ्रम सिर्जना गर्ने बाहेक केही उपलब्धि हुन नै सक्दैन’, पार्टीका एक केन्द्रीय सदस्यले भने ।
किन कार्यकर्ताहरू पक्ष र विपक्षमा विभाजनमा छन्
माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी भएदेखि नै संसदीय दलका नेतासमेत रहेका भरत साहले आफूखुसी निर्णय गरेको भन्दै माओवादीबाट निर्वाचित सांसदहरूले उनीविरुद्व पक्ष र विपक्षको नाममा हस्ताक्षर अभियान चलाएका थिए ।
प्रदेशमा निर्वाचित अधिकांश सांसद नेता साहको विरुद्ध उभिएपछि संसदीय दलको नेताबाट हटाउने प्रक्रियालाई पनि सांसदहरूले सँगै अगाडि बढाए । प्रचण्ड निकट मानिने साहल पद जोगाउनका लागि लबिङमा त लागे, तर प्रदेशमा माओवादीका ९ सांसदमध्ये ७ जना भने साहको विपक्षमा उभिएपछि प्रचण्डले समेत कुनै बहाना बनाउन सकेनन् ।
अन्ततः साहले केही महिनाअगाडि मात्र केन्द्रीय सदस्य र संसदीय दलको नेताबाट राजीनामा दिइसकेका छन् । साहले सांसदहरूले आफ्नो नैतिकतामाथि प्रश्न उठाएपछि राजीनामा दिएको प्रष्टीकरण दिएका छन् ।
१ वर्षदेखि सांसदहरू नै संसदीय दलको नेताबाट हटाउने प्रक्रियामा लागेको र त्यहीअन्तर्गत चरित्रमाथि प्रश्न उठाएर राजनीतिक जीवन समाप्त बनाउने खेलमा लागेको उनको भनाइ छ ।
उनलाई यतिबेला १ जना महिला प्रदेश सांसदसँग जोडेर नैतिक प्रश्न उठाइएको छ । नेता साहको आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध नै रहेको दाबीसहित सांसदका श्रीमानले पार्टीमा उजुरी दिएका छन् ।
उजुरीपछि राष्ट्रिय सभा की पूर्वउपाध्यक्ष शशीकला दाहालको संयोजकत्वमा छानबिन समितिसमेत गठन भएको छ ।
छानबिन समितिको प्रतिवेदन नआउन्जेल आफूले पदबाट राजीनामा दिएको नेता साहले बताएका छन् । तर, उजुरीकर्ताले आफूसँग प्रमाणसमेत सुरक्षित रहेको दाबी गर्दै आएका छन् ।
भरत साहले भने षड्यन्त्रपूर्वक लगाइएको आरोपको कुनै वास्तविकता नरहेको र छानबिन समितिको प्रतिवेदनसमेत आफ्नो पक्षमा आउने बताए ।
नेता साहसँग नैतिक प्रश्न मात्र जोडिएको छैन आर्थिकरूपमा समेत पारदर्शी नभएको सांसदको आरोप छ । एक सांसदले भनिन्, ‘उहाँले सत्ताका लागि जे पनि गर्नुहुन्छ । अहिलेको सरकार बन्ने बेला नेता साहले केन्द्रको नीति विपरीत अगाडि बढ्नुभएको थियो, सुरसन्ड काण्ड सुन्नु भएकै होला ।’
साहको विषयलाई लिएर पनि अहिले कार्यकर्ताहरू पक्ष र विपक्षमा उभिँदा पार्टीभित्रै असन्तुलन देखिएको छ ।
केन्द्रीय सदस्य तथा पूर्व महोत्तरी इन्चार्ज राजु खड्काको विषय के हो ?
नेताको खड्का आन्तरिक कलह भने २०७९ सालको निर्वाचनसँग जोडिएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा आफू बर्दिवास नगरपालिकाको नगरप्रमुख उम्मेदवार बन्दा गिरिराजमणि पोखरेल समूहले हराएको आरोप लगाउँदै आएका छन् ।
निर्वाचनमा पूर्वमन्त्री पोखरेल समूहले अन्तर्घात गरेकै कारण पराजय बेहोर्नुपरेको नेता खड्काको निष्कर्ष छ । अन्तर्घात गरेको विभिन्न प्रमाणसमेत रहेको जिकिर गर्दै अनुशासन समितिले गरेको छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म पार्टीका गतिविधिमा सहभागी नहुने नेता खड्काले बताउँदै आएका छन् ।
‘खड्काको लडाइँ गुटगत प्रतिष्ठासँग जोडिएको छ’, एक नेताले भने, ‘उहाँ आफै इन्चार्ज हुँदा यी विषयहरू खोज्नु भएन अहिले प्रकाशहरि पोखरेल इन्चार्ज हुनासाथ अन्तर्घातका कुरा निकाल्नु भएको छ ।’
तर खड्काले पार्टी अनुशासन विपरीत काम गरेर कमजोर बनाउने जोकोही कारबाहीको भागिदार हुनुपर्ने अडान राख्दै आएका छन् । उनको अडानलाई साथ दिने र नदिनेबीचको समूह विभाजनले समेत पार्टीभित्र अर्को आन्तरिक कलह सिर्जना भएको छ ।
मधेस प्रदेश इन्चार्ज मातृका यादवसमेत नेता खड्काको अडानलाई साथ दिँदै आएका छन् । यसले इन्चार्ज यादव र पोखरेलबीच आन्तरिक टकरावमा पुनरावृत्ति भएको कतिपयले प्रतिक्रिया दिएका छन् ।
नेता खड्काको पृष्ठभूमि जनमोर्चा भएता पनि उनी पार्टी अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । जनयुद्ध लडेका र नलडेकाबीचको गुटगत खाल्डोमा नेता खड्काको यो विषयले थप प्रभाव बनाएको स्वयं माओवादीका नेताहरू बताउँछन् ।
मधेसमा माओवादी केन्द्रले पुरानो विरासत फर्काउने दाबी गरेता पनि मधेसमा शीर्ष नेताहरूबाटै समस्या बन्दै गएको छ ।
‘यी समस्या समाधान भएनन् भने पुरानो विरासत फर्काउने होन झन् ओरालो यात्रामा जाने देखिन्छ,’ माओवादीका एक केन्द्रीय सदस्यले भने ।
प्रतिक्रिया