उफ्फ गर्मी ! आकुलव्याकुल मधेस, खडेरीको संकेत

समयमै वर्षा नहुँदा मधेसमा खानेपानीको हाहाकार छ । मल, बिउ र सिँचाइको अभावले रोपाइँ पनि प्रभावित

जनकपुरधाम । एकातर्फ मौसम पूर्वानुमानले देशभर भारी वर्षाको चेतावनी दिइरहेका बेला मधेसमा भने अत्यधिक गर्मीले जनजीवन कष्टकर बनेको छ । मौसम पूर्वानुमान महाशाखाले मधेसबाहेकका अधिकांश प्रदेशहरूमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरे पनि मधेसमा लामो समयदेखि वर्षा नहुनुका कारण खडेरीको अवस्था सिर्जना भएको छ ।

उच्च तापक्रमका कारण जनजीवन प्रभावित भएको छ भने खेतीपातीमा पनि प्रतिकूल असर परेको छ । लामो समयदेखि वर्षा नहुँदा खेत सुक्खा रहेका छन्, जसले अन्न उत्पादनमा असर पार्ने चिन्ता बढाएको छ । त्यस्तै, अत्यधिक गर्मीका कारण सार्वजनिक खानेपानीका धारा (कल) सुक्न थालेका छन्, जसका कारण पानीको हाहाकारसमेत देखिन थालेको छ । स्थानीयवासीहरू उच्च तापक्रम र पानी अभावका कारण दैनिक जीवनमा कठिनाइ भोगिरहेका छन् ।

मधेसमा व्यापक गर्मी, खानेपानीको गम्भीर संकट

मधेस प्रदेशको विभिन्न जिल्लाहरूमा हाल भइरहेको अत्यधिक गर्मीका कारण जनजीवन मात्र होइन, खानेपानी आपूर्तिमा समेत गम्भीर संकट देखापरेको छ । विशेषगरी ग्रामीण क्षेत्रका चापाकलहरू सुक्न थालेका छन् भने सहरी क्षेत्रमा पानी वितरण प्रणालीमै समस्या देखिएको छ । चुरे क्षेत्रको अत्यधिक दोहन, वन विनाश र भूमिगत जलस्रोतको अत्यधिक उपयोगका कारण पानीको सतह लगातार घट्दै गएको छ । यसले गर्दा मधेसका बारा, पर्सा, महोत्तरी, रौतहट, सिरहा, धनुषा, सप्तरी लगायतका जिल्लाहरूमा पानीको अभाव चुलिएको छ ।

धेरैजसो गाउँघरमा मुख्य पानीको स्रोतको रूपमा रहेका हातेचापाकलहरू अब ७०–८० फिटभन्दा तलको पानीसमेत तान्न नसक्ने अवस्थामा पुगेका छन् । कतिपय स्थानमा चापाकलमा मोटर जडान नगरी पानी नआउने अवस्था आएको छ । जनकपुरधाम, वीरगन्ज, जलेश्वर, गौर, लहान, सिरहा बजारजस्ता सहरी क्षेत्रमा पनि पुराना धारा तथा पाइपलाइन जीर्ण अवस्थामा छन्, जसका कारण नियमित आपूर्ति सम्भव भएको छैन । जनकपुरधाम उपमहानगरपालिकाभित्र हाल ४० हजारभन्दा बढी घरधुरी छन् । तर, खानेपानी संस्थानले जडान गरेका ४ हजार ६८५ धारामध्ये ५६ प्रतिशत मात्रले नियमित पानी पाउने गरेको तथ्यांक छ । बाँकी घरधुरीले वैकल्पिक रूपमा चापाकलको भरमा रहेका छन् ।

वीरगन्ज महानगरपालिकाले खानेपानीको अभाव भइरहेका वडा–२, ४, १२, १६, १८ लगायतमा ट्रयांकरमार्फत पानी वितरण सुरु गरिसकेको छ । प्रत्येक वडामा अस्थायी पानी ट्यांकी स्थापना गरिएको छ भने टोलटोलमा धारा निर्माणको प्रयास भइरहेको जनाइएको छ । जनकपुरधाम, जलेश्वर, राजविराज नगरपालिकाले पानीको समस्या बिर्सेर असारे बजेट मिलाउनमा भिडेको देखिएको छ । स्थानीय तहहरूलाई अल्पकालीन राहत योजनाहरू ट्यांकरबाट पानी वितरण, नयाँ चापाकल जडान, र वर्षा पानी संकलन प्रणाली अपनाउन आवश्यक रहेको बेला जनताको समस्यालाई बिर्सेर बजेट मिलाउनमा भिडेको देख्दा दुःख लाग्ने गरेको स्थानीयको भनाइ छ ।

चुरे विनाशको असर

खानेपानी अभावको मूल जड चुरे क्षेत्रको दोहनमा रहेको जलस्रोत विज्ञहरू बताउँछन् । वन विनाश, अवैज्ञानिक खानी उत्खनन र पानी पुनःभरण नभएका कारण भूमिगत जलको मात्रा घट्दै गएको हो । यसको प्रत्यक्ष असर मधेसका बस्तीहरूमा परेको छ, जहाँ ८० प्रतिशतभन्दा बढी जनता चापाकलमा निर्भर छन् ।

२५ प्रतिशत मात्रै धान रोपाइँ

यता धान रोपाइँको समयमा आकाशे पानीको भरमा रहेको मधेस प्रदेशमा लामो समयदेखि वर्षा नै नभएपछि हालसम्म २५ प्रतिशत मात्रै रोपाइँ हुन सकेको छ । कृषि मन्त्रालय मधेस प्रदेशका कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डलका अनुसार अहिलेसम्म मधेसभरिमा ७५ देखि ८० प्रतिशत रोपाइँ सम्पन्न हुनुपर्नेमा २५ प्रतिशत मात्रै सम्पन्न हुनु एकरूपले मधेसमा खडेरीको सम्भावना बढ्दै गएको रूपमा लिन सकिने बताए । अहिले पनि ४–५ दिनभित्र पर्याप्त वर्षा भए किसानले रोपाइँ सम्पन्न गर्न सक्ने सम्भावना छ तर आकाशे पानीको भरमा रहेको मधेसको किसानले १ हप्ताभित्र वर्षाको पानी नपाए मधेसमा खडेरी पर्न सक्ने सम्भावना रहेको उनको भनाइ छ । उनले भने, ‘अहिले नै मधेसको अवस्था बिग्रियो भनेर आँकलन नगरौँ, वर्षा हुने सम्भावना छ, पानी परेपछि स्थितिमा सुधार आउँछ ।’


मधेसमा मंगलबारसम्मको रोपाइँ सम्पन्नको तथ्यांक हेर्ने हो भने सिरहा जिल्लामा धान रोपाइँ हुने कुल क्षेत्रफल ५४ हजार हेक्टर मध्ये १३ हजार ५०० हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, प्रतिशतमा हेर्ने हो भने २५ प्रतिशत रोपाइँ मात्र हुन सकेको छ । धनुषामा ४३ हजार ७०० हेक्टर मध्ये ७ हजार ४२९ अर्थात १७ प्रतिशत, बारामा ४६ हजार २० हेक्टर मध्ये १० हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको अर्थात २१ दशमलव ७ प्रतिसत रोपाइँ भएको छ । त्यसैगरी पर्सामा ६१ दशमलव ९९ प्रतिशत रोपाइँ भएको छ, मधेस प्रदेशमा सबैभन्दा बढी रोपाइँ भएको जिल्लामा पर्सा नै रहेको छ । पर्सामा ३९ हजार ७३१ धान रोपाइँ हुने क्षेत्रफल मध्ये २४ हजार ६३१ हेक्टरमा धान रोपाइँ भएको छ । रौतहट, सर्लाही, सप्तरी र महोत्तरीमा क्रमशः ४०, ३०, १० र ९ दशमलव ४१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

संवेदनशील छैन मन्त्रालय

लामो समयदेखि वर्षा नभएको कारण खेतीपाती गर्नमा समस्या आइरहेको बेला व्यापक सिँचाइको व्यवस्था मिलाउन मधेस प्रदेशका ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयले नीति बनाउनुपर्नेमा असारको चटारोमा व्यस्त रहेको पाइएको छ । मन्त्रालयले मधेसमा हुन सक्ने खडेरीलाई मध्यनजर गर्दै किसानलाई सिँचाइको व्यवस्था मिलाउन कस्तो नीति लिएको भनेर पटकपटक मन्त्रालयका निमित सचिव रामकुमार खंगलाई फोन गर्दा उनले फोन उठाएनन् । त्यसपछि मन्त्रालय नै पुगेर सचिवसँग भेटनका लागि घन्टाैँ कुर्दा पनि भेट्न नबोलाएको सचिवले मधेसका किसानप्रति कतिको संवेदनशील छ भनेर प्रष्ट हुन्छ । सचिवले किन भेट्न नचाहेको बुझ्न खोज्दा अहिले असारे बजेटका कारण व्यस्त रहेको जानकारी पाइयो ।

अपुग छ मल

कृषि मन्त्रालयले धान खेतीको मध्यनजर गर्दै २९ जेठको निर्णयअनुसार मधेस प्रदेशको ८ वटै जिल्लामा ५ हजार ९६३ मेट्रिक टन डिएपी मल र २३ असारको निर्णयअनुसार ८ वटै जिल्लामा ७ हजार १५६ मेट्रिक टन युरिया मल वितरण गरेको छ । प्राप्त तथ्यांकअनुसार सप्तरीमा १३ दशमलव ३१ प्रतिशत रहेको खेतीयोग्य जमिनका लागि ७९०, सिरहाको १४ दशमलव ६३ खेतीयोग्य जमिनका लागि ८२८ मेट्रिक टन, धनुषाको १२ दशमलव ६३ खेतीयोग्य जग्गाका लागि ७४७ मेट्रिक टन, महोत्तरीमा १२ प्रतिशतका लागि ६९८, सर्लाहीको १४ दशमलव ९१ प्रतिशतका लागि ८५६, रौतहट, बारा र पर्सामा क्रमशः ७४९, ७१८ र ५७७ मेट्रिक टन डिएपी पठाएको मन्त्रालयले जनाएको छ । त्यसैगरी मन्त्रालयले सोही प्रतिशत बमोजिम सप्तरी, सिरहा, धनुषा, महोत्तरीमा क्रमशः ९५६, १ हजार ४६, ९०४, ८५४ मेट्रिक टन युरिया पठाएको छ भने सर्लाही, रौतहट, बारा र पर्सामा सोही प्रतिशत बमोजिम क्रमशः १ हजार ६७, ८५५, ७९८ र ६७१ मेट्रिक टन युरिया मल वितरण गरेको छ । वितरण गरिएको यी मलहरू किसानहरूका लागि पर्याप्त नरहेको मन्त्रालय नैै स्वीकार्छ । सरकारले पठाए बमोजिम नै जिल्लामा वितरण गर्ने समस्या रहेकोले किसानलाई मलको अपुग व्याप्त रहेको र यसका लागि सरकारले मल खरिदमा बजेट बढाए मात्र सम्भव हुने कृषि प्रसार अधिकृत मण्डलले बताए ।

जनकपुरधामबासी भन्छन् अब भगवान्को सहारा

जनकपुरधामबासी भन्छन्, ‘रामराम भजु आरो कोनो उपाय नहै, पुरा देश पानी स डुइवगेलै मगर मधेसमे एको बुंद पानी नै परैछै, पापीसभ बेसी भगलै मधेसमे ।’ (राम राम भज्नुबाहेक अरू कुनै उपाय छैन, देश पानीले डुबायो तर मधेसमा एक बुँद पानीका लागि हाहाकार छ, पापीहरू धेरै बढे मधेसमा) भनेर दुःख पोख्छन् । पत्रकार श्यामसुन्दर शशीले यसमा देवताको कुदृष्टि लागेको भनेर दुस्प्रचार नगर्न आग्रह गरे । उनले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव मधेसमा परेको र यसकारण मधेसमा गर्मीमा बढोत्तरीका साथै पानीको हाहाकार भएको छ । यसका लागि सरकारलाई दीर्घकालीन योजनाका साथै वृक्षरोपण, चुरे विनाशबाट रक्षा नगरेसम्म कुनै पनि हालतमा मधेसलाई जलवायु परिवर्तनबाट बचाउन सकिँदैन ।

प्रतिक्रिया