भोटेकोशीको बाढी वर्षाले होइन : मौसम विभाग

जलाधार क्षेत्रमा बाढी नै आउने गरी पानी नपरेको समेत जनाएको छ । गत २४ घण्टा (सोमबार बिहान ९ बजेदेखि २०८२-०३-२४ गते मंगलबार बिहान ९ बजेसम्म) मा नेपाल-चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको थियो ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले मंगलबार भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठूलो प्रवेश गरेको जनाएको छ । महाशाखाले भोटेकोशी बाढीबारे प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

महाशाखाको प्रतिवेदनअनुसार रसुवागढी नाकाबाट केही तल रसुवा टिमुरेस्थित रहेको जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्यांकअनुसार बिहान ३:१० बजे उक्त स्थानमा जलसतह एक्कासि करिब ३.५ मिटर बढेको देखिन्छ ।

त्यस्तै रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल स्याप्रुवेसी स्वचालित जलमापन केन्द्रमा बिहान ३:३० बजे एक्कासि बहाव बढेको देखिन्छ । उक्त केन्द्रमा बिहान ३:३० बजे ३.६५ मिटर रहेको जलसतह एक्कासप ३:४० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्यांक सम्प्रेषण बन्द भएको महाशाखाले जनाएको छ । केन्द्रका गेजरिडरलाई उद्धृत गर्दै महाशाखाले उक्त केन्द्र नै बाढीले बगाएकोसमेत जानकारी दिएको छ ।

महाशाखाले भोटेकोशी जलाधार क्षेत्रमा बाढी नै आउने गरी पानी नपरेको समेत जनाएको छ । गत २४ घण्टा (सोमबार बिहान ९ बजेदेखि २०८२-०३-२४ गते मंगलबार बिहान ९ बजेसम्म) मा नेपाल-चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको थियो ।

महाशाखाले विश्व मौसम संगठनको फ्ल्यास फ्लड गाइडेन्स सिस्टमको ‘ग्लोबल हाइड्रोइस्टिमेटर स्याटेलाइट-बेस्ड प्रिसिपिटेसन इस्टिमेट्स’ अनुसार पनि भोटेकोशी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको नदेखिएको जनाएको छ । त्यसैले पनि भोटेकोशीमा आएको बाढी वर्षाका कारण उत्पन्न भएको नदेखिएको महाशाखाको अनुमान छ ।

प्रतिक्रिया