सर्वसम्मत नभए बहुमतबाट भए पनि बजेट ल्याउने कसरत

बजेट ल्याउने छिद्र खोज्दै काठमाडौँ महानगर

काठमाडौँ । देशका ६ महानगरमध्ये ५ वटा महानगरले १० असारभित्रै आगमी आर्थिक वर्षका लागि बजेट ल्याइसके पनि स्थानीयतहमै सबैभन्दा बढी बजेट भएको काठमाडौँ महानगरपालिकाले भने अहिलेसम्म बजेट निर्माणको प्रक्रियासमेत सुरु गर्न सकेको छैन ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ मा १० असारभित्र स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

१० असारमा बजेट ल्याउन चुकेको महानगरले असार महिनाभित्र बजेट ल्याउनसके ‘बजेट भ्याकुम’बाट भने जोगिने छ । होइन भने, १ साउनदेखि महानगरको सम्पूर्ण आर्थिक कारोबार नै ठप्प हुनेछ । यस्तो अवस्थामा नागरिकले न राजस्व बुझाउन पाउँछन्, न त महानगरले कसैलाई भुक्तानी नै गर्न पाउँछ ।

५ महानगरले साढे २८ अर्ब बढीको बजेट ल्याउँदा काठमाडौँ महानगर एक्लैले भने करिब २८ अर्ब बराबर बजेट निर्माणको आन्तरिक तयारी गरिरहेको छ । तर, मेयर बालेन्द्र (बालेन) शाहले नचाहँदासम्म ती कर्मचारीहरूको आन्तरिक तयारी पनि खेर जाने देखिन्छ । महानगरका एक कर्मचारी भन्छन्, ‘महानगरको बजेट त करिब–करिब तयार भइसकेको छ । मेयरज्यूले बजेट सिलिङ तोकिदिने बित्तिकै बाँकी काम त १–२ दिनमै हुन्छ ।’

१० असारभित्र कार्यपालिकाबाट स्वीकृत गराएको नीति तथा कार्यक्रम र बजेट नगरसभामा प्रस्तुत गर्ने र असार मसान्तभित्र त्यसलाई नगरसभाबाट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, पुसदेखि कार्यपालिका बैठक राख्न नसकेका बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबिना नै ४ असारमा अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाएका थिए । मेयरले बोलाएको यो बैठकलाई कार्यपालिका सदस्यहरूले नै अस्वीकार गरेपछि बालेन आफैँ पछि हटेका थिए ।

गुरागाईंमा पुगेर अड्कियो बालेनको सुइँ

स्थानीयतहले १० असारसम्ममा बजेट पेस गर्नुपर्ने र असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी बाध्यता छ । तर, काठमाडौँ महानगरका मेयर बालेन शाह स्वयं संयोजक रहेको अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक नै अहिलेसम्म बस्न नसकेपछि बजेट नै अन्योलमा छ । बजेट निर्माणको पहिलो खुड्किलोको रूपमा रहेको सो समितिको बैठक नै बस्न नसक्दा अरू प्रक्रिया पनि सुरु हुन सकेको छैन ।

अहिले बालेनमाथि कार्यपालिका तथा नगरसभा सदस्यहरूले निरन्तर दबाब बढाइरहेका छन, तर बजेटको सुइँ मुख्य गरी प्रमुख प्रसाशकीय अधिकृत गुरागाइँमा नै पुगेर अड्किएको छ । स्रोतका अनुसार विभिन्न चरणमा बालेनसँग छलफल भए पनि त्यसले निकास पाउन सकेको छैन । बजेट ल्याउने सबालमा बालेन सकरात्मक भए पनि बजेट ल्याउने प्रक्रियामा गुरागाईं कानुनी रूपमै जोडिएकाले त्यसको विकल्पको खोजीमा बालेन छन् । सोहीअुनसार केहीदिनअघि महानगरका प्रवक्ता नवीन मानन्धरले विकल्पका रूपमा गुरागाइँलाई बिदामा राख्ने प्रस्ताव वडाध्यक्षहरूसामू राखेका थिए । तर, उनको प्रस्तावलाई सबैले स्विकार्न सकेनन् ।

स्वतन्त्र जितेका मेयर बालेन पछिल्लो समय आन्तरिक राजनीति र विशेष गरी प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग ‘इगो’ लिएर बसेका कारण पनि महानगरको नेतृत्व तह छरपस्ट अवस्थामा पुगेको छ । गुरागाईंलाई ‘बाइपास’ गर्ने राणनीतिमा एकोहोरो लागेका बालेनकै कारण काठमाडौँले पहिलोपटक निर्धारित समयमा बजेट ल्याउन असफल भएको छ ।

गुरागाईंलाई बाइपास गर्ने रणनीतिमा १ पटक असफल भइसके बालेन

स्थानीयतहले १० असारसम्ममा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्थाको दबाबमा परेका बालेनमाथि कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले पनि निरन्तर दबाब बढाइरहेका छन् । दबाबमा परेका बालेन अहिले बैठकका लागि तयार भए पनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई भने ‘बाइपास’ गर्ने रणनीतिमा छन् । मेयर शाहले महानगरको बजेट निर्माणका लागि अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाएका थिए । तर, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबिना नै बोलाइएको सो बैठक सबैले बहिष्कार गरेका थिए ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको सदस्यसचिव नै पालिकाको प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ । तर, सदस्यसचिवबिनाको समितिको बैठक सदस्यहरूले अस्वीकार गरेपछि बालेन आफैँ पछि हटेका थिए । बजेट समितिको बैठक अहिलेसम्म बस्न नसकेपछि महानगरको बजेट नै अन्योलमा परेको छ ।

सर्वसम्मत नभए बहुमतबाट बजेट : नविन मानन्धर

नविन मानन्धर

मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँबीचको समस्या समाधान गर्न नसकिए पनि बजेट भने ल्याएरै छाड्ने काठमाडौँ महानगरपालिका प्रवक्ता नवीन मानन्धर बताउँछन् । यसका लागि आफू निरन्तर लागिरहेको र मध्यस्थताको भूमिकासमेत निर्वाह गरिरहेको उनले बताए ।

‘अहिले औपचारिक, अनौपचारिक छलफल र बैठकहरू चलिरहेका छन् । तर, यति नै गते बजेट ल्याउने भनेर हामी अघि बढेका छैनौँ । प्रयास भइरहेको छ, ३२ असारभित्र जसरी पनि बजेट आउँछ’ मानन्धरले भने ।

यसपटक अरू वर्ष जसरी सर्वसम्मत रूपमा बजेट नआउनेतर्फ पनि मानन्धरले संकेत गरेका छन् । ‘यसपटक सर्वसम्मत रूपमा बजेट आउन नसके बहुमतबाट भए पनि आउँछ,’ मानन्धरले भने ।

प्रतिक्रिया