- पुतलीखेतको हाम्रो व्यापार अत्यन्त चलनचल्तीमा थियो त्यतिबेला । हामीलाई पोखरा पनि बिर्साएको थियो पुतलीखेतले । धवलागिरि अञ्चलको व्यापारिक केन्द्र थियो त्यो । सिद्धार्थ राजमार्ग खुलेपछि बुटवलको व्यापारिक स्थान पुतलीखेतले लिएको थियो त्यतिबेला । हाम्रा थुपै्र ट्रकहरू थिए । हाम्रो पसलमा दैनिक १५–२० ट्रक चामल, नुन, तेल लगायतका समान आउँथ्यो ।
म जेल र प्रवासमा बस्दा पनि दाजु काजीमान श्रेष्ठको सुझबुझका कारण हाम्रो व्यापार व्यवसाय तलमाथि हुन पाएन । भैरहवाको ट्रन्सपोर्ट र डिलरसीप भरपर्दो साथीको जिम्मा लगाएर म पार्टी संगठनको काममा खटिन्थे । हामीसँगै काम गर्ने मान्छेहरू अहिले अर्बपति भइसकेका छन् । यदि म पनि राजनीतिमा नलागी व्यापार व्यवसायमा केन्द्रित भएको भए त्यो अवस्थामा हाम्रो परिवार पुग्ने थियो होला । तर मलाई कुनै पछुतो भने छैन । व्यक्तिगत नाफा नोक्सानभन्दा पनि देशको लागि काम गर्न पाउँदा मलाई ठुलो आत्मसन्तुष्टि मिलेको छ ।
जनमतसंग्रहपछिको स्थानीय चुनावमा दाजु काजीमान स्याङ्जा जिल्ला सदरमुकाम पुतलीखेत गाउँ पञ्चायतको प्रधानपञ्च उठ्नुभयो र राम्रो मत ल्याएर चुनाव जित्नुभयो । तर, उहाँलाई कहिल्यै पनि अञ्चलाधीशले राम्ररी काम गर्न दिएनन् । सदरमुकामको प्रधानपञ्च स्वतः त्यहाँको नगरविकास समितिको सदस्यसचिव हुन्थ्यो । तर, यो त कांग्रेसको मान्छे हो भनेर उहाँलाई काम गर्नै दिइएन । पुतलीखेत नगरविकास समितिका सदस्यसचिव मेरा दाजु काजिमानलाई त्यतिबेला कहिल्यै माइन्युट राख्न दिइएन । अञ्चलाधीश, सिडिओहरूले मनपरी गर्दथे ।
सदरमुकाम क्षेत्र अत्यन्त साँगुरो भएकोले स्याङ्जा चौकीदेखि अरौटी खोला पुलसम्म ६ मिटर बाटो कायम गरेर बजार बस्न दिने भन्ने राजाबाट हुकमप्रमाङ्गी भएको थियो । यही आधारमा नगरविकास समितिले घडेरी वितरण गरेको थियो । त्यतिबेला पञ्चहरू घडेरी बाँडेर खाने गर्दर्थे । त्यसबेलाका चल्तापुर्दा पञ्चहरूले चोकचोकका घडेरीहरू आफूले लिने अनि अलिकति घडेरी पुलिसलाई दिने गर्दथे । पुलिसहरूले तिनै घडेरीहरू अहिलेसम्म प्रयोग गरेका छन् ।
प्रधानपञ्च काजिमान भ्रष्टाचाररहित र संस्थागत विकास विकास गर्न चाहने भएकोले यस्ता कुकृत्यको विरोध गर्नुहुन्थ्यो । करिब सवासय हात चोकको घडेरी उहाँले जबरजस्ती नगरविकास समितिको नाममा राख्न लगाउनु भयो । यसका लागि उहाँले ठुलै दबाब दिनु भयो । उहाँ नगरविकास समितिको बैठकमा जाँदै नगएपछि, काजिमानको साह्रै चित्त दुख्यो, अब के गर्ने भनेर प्रशासन र पञ्चहरूबीच छलफल भएछ । काजिमान साँची नै लाग्यो भने यहाँ टिक्न सकिन्न भन्ने सिडिओलाई पनि लागेछ ।
के गर्नुप¥यो काजिमानजी तपाईंको कुरा के हो भन्नोस् भन्दै उनीहरू घरमै आए । अनि दाजुले भन्नुभयो, ‘चोकको सवासय हात घडेरी नगर विकास समितिका नाममा गरियोस्, अरू घडेरी पनि यसरी हिनामिना नगरियोस् ।’ दाजुको यो सर्त उनीहरूले तत्कालै स्वीकार गरे । दाजुका अडानका कारण नगर विकास समितिको नाममा आएको चोकको घडेरी अहिले निकै लाभप्रद बनेको छ । दाजुकै सक्रियतामा उक्त जग्गामा नगरविकास समितिको भवन बन्यो । त्यो भवनमा बनेका १६ वटा सटर राम्रै मूल्यमा भाडामा लागेका छन् । स्याङ्जा नगरविकास समितिको मुख्य आम्दानी भनेको अहिले त्यही भवनको सटर तथा कोठा भाडा हो । २०६५ सालमा मैले सोध्दा मासिक ६०–७० हजार रुपैँया बहाल आँउछ भनेका थिए कर्मचारीहरूले । त्यही रकमले भवनको तला थपिएको छ । अहिले उपल्लो तलामा नगरविकास समितिको कार्यालय छ भने तल्लो तला पुरै भाडामा छ ।
त्यसबेला खड्गबहादुर गुरुङले पनि एउटा घडेरी पाउनु भयो । तत्कालीन जिल्ला पञ्चायत सभापति जगतबन्धु अर्यालले पनि एउटा घडेरी लिनुभयो । उहाँ कांग्रेसमै सक्रिय हुनुहुन्थ्यो । २०५६ सालको आमनिर्वाचनमा हामीले उहाँलाई टिकट पनि दिएको हो । बिक्री भएको घडेरीको रकम ५० प्रतिशत सम्बन्धित जग्गाधनीले पाउँथ्यो, ५० प्रतिशत नगर विकास समितिमा जान्थ्यो । यसरी उठ्ने करोडौँ रुपैयाँ पञ्चहरूले जहाँ मनलाग्छ त्यहीँ खर्च गर्ने र बाँडीचुँडी खाने गरेरै सिध्याए ।
नेपाल रेडक्रस सोसाइटी त्यतिबेला जिल्लामा मगन्ते संघ भनेर चिनिन्थ्यो । नेपाल रेडक्रसमार्फत केही गर्नुपर्छ भनेर म जिल्लाको उपाध्यक्ष पनि भएको थिएँ । त्यतिबेला राजाकी कान्छी आमा हेलेन शाह रेडक्रसको अध्यक्ष थिइन् । ‘यो मगन्ते संघको म अध्यक्ष हुन्न, जहाँ गए पनि पैसा माग्न आइ भनेर व्यापारीहरू भाग्छन्, तिमीहरू नै केही गर’ भनेर उनले भनिन् । यस्तो हालतको रेडक्रसलाई स्याङ्जामा कसरी स्थापित गर्ने भन्नेमा मेरो सोच रह्यो । ‘नगरविकास समितिसँग मेन रोडमा घडेरी माग्ने र चन्दा उठाएरै घर बनाउने, त्यसको बहालबाट कार्यालय सञ्चालन गर्न सकिन्छ’, भन्ने प्रस्ताव मैले राखेँ । तर म कांग्रेस भएका कारण त्यसबेला मेरो कुरा सुनुवाई भएन । पछि एउटा घडेरी लिएर नेपाल रेडक्रस सोसाइटीको भवन बनाइयो । उक्त घरले बहालबापत राम्रै आम्दानी दिइरहेको छ ।
पुतलीखेतको हाम्रो व्यापार अत्यन्त चलन चल्तीमा थियो त्यतिबेला । हामीलाई पोखरा पनि बिर्साएको थियो पुतलीखेतले । धवलागिरि अञ्चलको व्यापारिक केन्द्र थियो त्यो । सिद्धार्थ राजमार्ग खुलेपछि बुटवलको व्यापारिक स्थान पुतलीखेतले लिएको थियो त्यतिबेला । हाम्रा थुपै्र ट्रकहरू थिए । हाम्रो पसलमा दैनिक १५–२० ट्रक चामल, नुन, तेल लगायतका समान आँउथ्यो । त्यो सबै भरिया र खच्चरलाई बोकाएर बाग्लुङ, म्याग्दी, पर्वत, मुस्ताङ लगिन्थ्यो । किनमेल गर्न आउने मान्छे यति धेरै हुन्थे कि हिउँदको बेलामा घरमा नअटेर बगरमा पाल टाँगेर बस्थे । त्यसले गर्दा स्याङ्जा बसिन्जेल हामीलाई पोखरा र काठमाडौँमा घडेरी जोड्नुपर्छ भन्ने महसुस नै भएन । ५–६ जना त पसलमा सामान बेच्ने मान्छे नै थिए । हिउँदका बेला पसलमा काम गर्ने मान्छे तेब्बर चाहिन्थ्यो । म राजनीतिमा सक्रीय रहँदा पनि यत्रो व्यापार दाजु काजिमानले धान्नु भयो ।
स्याङ्जा र कुश्माबीच मोटरबाटो बनाउनुपर्छ भनेर धेरैले कल्पना गरे । त्यतिबेला नै सेडाले सर्भे ग¥यो । कतिमान्छे भारी बोक्छन्, कति मान्छे रित्तो आवतजावत गर्छन्, कति गधा र खच्चर आवतजावत गर्छन् भन्ने सबै आँकडा सेडाले तयार ग¥यो । त्यसैका आधारमा पुतलीखेतदेखि कार्कीनेटा हुँदै पर्वतको कुश्मासम्म सडक बनाउनुपर्छ भनेर सेडाले रिर्पोट दियो । यातायात मन्त्रालयले पनि सोच्यो । विस्तृत सर्भे पनि भयो । तर पन्चहरूको बोलावाला भएकोले म्याग्दीका रापंस भीमप्रसाद गौचनले त्योबाटो ‘डाइभर्ट’गरी स्याङ्जा नाउडाँडा, सेती दोभान हुँदै लाने भनेर अवरोध र्सिजना गरे ।
आँधी खोला हुँदै हिँउदमा माथि माथि ट्रक र ट्रयाक्टर जान थालिसकेकोले पुतलीखेतको बजार पनि माथि माथि सर्न थालिसकेको थियो । पुतलीखेतको व्यापारिक महत्व ह्रास हुँदै गयो । तर सडक बनेन, मण्डले पाल्ने माध्यम भयो सडक योजना । ‘फुड पर वर्क’ को करोडौँ रुपैयाँ दुरुपयोग भयो । चामल आँउथ्यो, दुध आउँथ्यो, गहुँको पिठो आउँथ्यो, सारा चिज आउँथ्यो । तर पञ्चहरूले बाँडीचुँडी खाइदिँदा मुलुकको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बद्नाम भयो । पछि ‘फुड फर वर्क’को कार्यक्रम पनि अन्तर्राष्ट्रिय जगतले कटौती गर्दै लग्यो । २५ हजारको बजेट भयो भने ५ हजारको काम हुन्थ्यो, २० हजार ठेकेदारसँग मिलेर पञ्चहरूले खान्थे । कमिसन अञ्चलाधीशमार्फत राजपरिवारका सदस्यसम्म पुग्थ्यो । मण्डले पाल्ने कामको प्रबन्ध पनि भ्रष्टचार गरिएको बजेटबाटै अञ्चलाधीश र सिडिओले गर्दथे ।
उक्त सडकको नाम पुतलीखेत–कुश्मा राख्ने भनिए पनि सूर्यबहादुर थापा प्रधानमन्त्री भएपछि त्यो सडकको नाम नाउडाँडा–म्याग्दी राख्ने प्रयत्न भयो । भीमप्रसाद गौचन यातायातमन्त्री हुँदा सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । प्रधानमन्त्रीलाई हेलिकोप्टरमा लगेर म्याग्दीमा सडक शिलान्यास गर्ने कार्यक्रम तय भयो । तर विवाद देखिएको थाहा पाएपछि शिलान्यास गर्न सूर्यबहादुर गएनन् । अनि पोखरादेखि सुर्खेत जोड्ने सडक बनाउने परिकल्पना सुरु भयो । यो बनाउँदा पनि पुतलीखेतदेखि कुश्मा जाने बाटो बनाउनुपर्छ भन्नेकुरा सरकारी मुखपत्र गोरखापत्रले पनि छाप्यो । तर पुतलीखेत कुश्मा सडक बन्नेकुरा त्यतिकै थाति रह्यो । ४०–५० करोड रुपैयाँ खर्च भयो तर १० किलोमिटर सडक पनि बनेन ।
पछि चाइनिजहरूले बाटो बनाउने प्रयत्न गरे । उनीहरू आएर हेरे । धवलागिरि अञ्चलका लागि यो सडक अत्यन्त जरुरी थियो । विशेषगरी त्यहाँका मान्छेको बढी आवतजावत भारतसँग हुन्थ्यो । लाहुरे पनि त्यतिकै, व्यापारी पनि त्यतिकै हुन्थे । उनीहरूले जहाँबाट भए पनि हामीलाई बाटो चाहियो भनेपछि चाइनिजहरू इस्टिमेट गर्न स्याङ्जा पनि आए ।
त्यतिबेलासम्म चाइनिजहरूले बनाइदिएको पृथ्वीराजमार्ग अत्यन्त व्यस्त बनिसकेको थियो । भारतले बनाएको सुनौली–पोखरा सडक पनि व्यस्त नै थियो । चाइनिजहरूले भारतले बनाएको सिद्धार्थ राजमार्गको पुतलीखेतबाट सडक आरम्भ गर्लान् कि आफँैले बनाएको पृथ्वी राजमार्गको पोखराबाट गर्लान् भन्ने कुरामा बहस हुन थाल्यो । आखिर उनीहरूले आफँैले बनाएको पृथ्वी राजमार्ग अन्र्तगतको पोखराको पृथ्वी चोकबाट बाग्लुङ जाने सडकको निर्माण प्ररम्भ गर्ने निधो गरे ।
जबकी पोखराबाट कुश्मा पु¥याउँदा करिब ६० किलोमिटर पर्छ भने पुतलीखेतबाट कुश्मा ३० किलोमिटर मात्रै छ । आधा छोटो हुँदाहुँदै पनि चाइनिजहरूले पोखरा–कुश्मा नै रोजे अहिले त्यो बाटो मध्यपहाडी लोकमार्गको एउटा खण्डका रूपमा महाकाली जोडिन लागेको छ । अर्काे शाखाले मुस्ताङ जोडिएको छ । त्यो सडक तिब्बत–नेपाल व्यापारका लागि महत्वपूर्ण सावित हुँदै छ । तर, त्यो सडक बनेपछि स्याङ्जा पुतलीखेतको ब्यापार तथा अन्य चहलपहल स्वाठ्ठै घट्यो । सडक योजनाका कारण नेपालका विभिन्न सहरको उत्थान तथा पतन भएका थुप्रै उदाहरणमध्येको एउटा उदाहरण हो यो ।
(नेपाली कांग्रेसका अग्रज नेता श्रेष्ठसँग सौर्यकर्मी विन्दुकान्त घिमिरेले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया