प्रज्ञा प्रतिष्ठानमा गुञ्जिए एआइजी टेकबहादुर तामाङ

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङको एकल सांगीतिक साँझ भएको छ । गीतकारसमेत रहेका प्रहरी प्रमुख तामाङको शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एकल सांगीतिक साँझमा नेपाल प्रहरीसहित धेरै दर्शक–स्रोताहरूले साथ दिएका थिए ।

गीतकार संघ नेपालको आयोजनामा भएको ‘गीतकार टेक तामाङ सांगीतिक साँझ–२०८२’मा डेढ दर्जनभन्दा बढी गायक गायिकाले उनलाई गीत गाएर साथ दिएका थिए । गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको सभापतित्व एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा भएको सांगीतिक साँझमा स्रोता दर्शकहरूको भिड सम्हाल्न गाह्रो भएको आयोजक अध्यक्ष बसन्त वित्यासी थापाले बताए ।

थापाका अनुसार गीतकार तामाङका रचनामा केन्द्रित रहेर चर्चित गायक गायिकाहरूले प्रस्तुति दिएका थिए । गीतकार तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीतहरू प्रस्तुत गरिएको थियो । जसमा नेपाल मेरो घर (किरण प्रधान), आमा (शिव परियार), स्वर्ग सुख (डेबिट शंकर), मीठा मीठा बोली (रुपक चौधरी) र जित्नेहरूको पनि (सत्यराज आचार्य) थिए । यसैगरी, आफ्नै धड्कन (स्वरुपराज आचार्य), मन पर्छ (संगीता राना प्रधान), अल्झिरह्यो याद (प्रदीपराज पाण्डे), नजिक यति भएर पनि तथा जन्मिखेली ( कन्काइष्ट राई) को साथमा तिमी सागर (सञ्जय तुम्रोक र सुमिना लो) प्रस्तुत भए ।

तिमीलाई पराईको र अँगालोमा बेरिरहुँ (अन्जु पन्त), मै खुकुर (सञ्जय तुम्रोक), माथि माथि लेकमा (रेश्मा बमजन) र जोर मादलको तालैमा (अस्मिता अधिकारी) पनि प्रस्तुत भए । स्वर्ग झैँ सैलुंग(प्रल्हाद तिमिल्सिना र सुमिना लो) पनि प्रस्तुत भए । गायक गायिकाले सांगीतिक प्रस्तुत दिँदै जाँदा दर्शकदीर्घामा वान्समोरको आवाज गुन्जिरहेको थियो । दर्शकहरू गीतसँगै झुमेका थिए । संगीतकार अशोककुमार राईको संगीत संयोजनमा रहेको २५ जनाको वाद्यवादनको समूहले प्रत्यक्ष रूपमा वाद्यवादनमा साथ दिएका थिए ।

जसमा मनोहर सुनाम भ्वाइलिन संयोजक, शिलाबहादुर मोक्तान किबोर्ड, भरत बुढाथोकी तालवादन संयोजकको रूपमा रहेका थिए । भ्वाइलिनतर्फ मोहनकृष्ण ढली, किशोर कार्की ढली, रविन कार्की ढली, नारायण कार्की ढली, रोमन बुढाथोकी, बिकासनाथ योगी रहेका थिए । त्यस्तै बाँसुरीतर्फ गोपाल देव घतानी र धनबहादुर गुरुङ रहेका थिए । त्यस्तै तालवादनतर्फ कुमार महाराज, मेघराज लुंगेली, अनिल थापा, पोषण धर्ती रहेका थिए । गिटारतर्फ देव राई, सञ्जिव लिम्बु, दिपेश श्रेष्ठ रहेका थिए भने सीता मैया राहचल सितारमा रहेकी थिइन् । सारंगीमा भरत नेपाली थिए भने प्याड ड्रमतर्फ भुपेन्द्र रसाइली रहेका थिए । त्यसैगरी ब्रासतर्फ रुद्र परियार, पूर्ण नेपाली र तेज तामाङ रहेका थिए ।

गीतकार संघ नेपाल र भीमबहादुर फूलमाया स्मृति पुस्तकालयको सहयोगार्थ गीतकार टेक तामाङ सांगीतिक साँझले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको गीतकार तामाङले बताए । उपस्थित स्रोता दर्शकलाई स्वागत गर्दै गीतकार तामाङले औपचारिक रूपमा २०५० सालदेखि सांगीतिक यात्रामा लागेको भए पनि सांगीतिक साँझले पूर्णता दिएको बताएका थिए । ‘मेरो सांगीतिक साँझ मान्यजन, संगीतप्रेमी शुभचिन्तहरूको उपस्थितिले ऐतिहासिक बनेको महसुस गरेको छु’, एआइजी एवं गीतकार तामाङले भने ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले गीतकार तामाङलाई शुभकामना दिँदै गीतकारको सांगीतिक साँझ ऐतिहासिक बनेको बताए । गीति लेखनमा सक्रिय रहेका तामाङ सुरक्षा सेवामा पनि उत्तिकै नेतृत्वदायी भूमिकामा रहेका कारण पनि गीतहरूले मातृभूमिप्रतिको भाव बोक्न सफल भएको उनले बताए ।

प्रतिक्रिया