कालिकोट । निरन्तर परेको वर्षाका कारण कालिकोटमा पहिरोजाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको दहिखोलादेखि हुल्म बजारसम्मका विभिन्न स्थानमा सडक माथिबाट माटो, ढुंगा र पहिरो खसेपछि सवारी आवतजावत पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।
घटनास्थलमा इलाका प्रहरी पोष्ट हुल्मबाट प्रहरी निरीक्षक (प्रनि) विनोद बुढाको नेतृत्वमा प्रहरी टोली खटिएको छ । टोलीले स्थानीयको सहयोगमा सडक खुलाउने प्रयास जारी राखेको छ । यसैबीच खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाहीले यात्रामा निस्कनुपूर्व मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेका छन् ।
नगर प्रमुख शाहीले खाँडाचक्रवासी तथा जिल्लावासी सबैलाई यो विपद्को समयमा विशेष सतर्कता अपनाउन आग्रह गर्दै सुरक्षित रहन अपिल गरेका छन् । अहिले पनि वर्षा जारी रहेकाले थप पहिरोको जोखिम रहेको र सम्भावित जोखिमबाट बच्न सावधानी अपनाउन प्रहरीले पनि आग्रह गरेको छ । अवरुद्ध सडक चाँडै सुचारु गर्ने प्रयास भइरहेको जिल्ला प्रशासनले जानकारी दिएको छ ।
कालिकाेट
प्रतिक्रिया