काठमाडौँ । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश मेघराज पोखरेलले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताएका छन् । आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले कानुन व्यवसायीको पक्षधरता हुने भए पनि न्यायाधीश निष्पक्ष हुनुपर्ने धारणा पनि राखे । आफू न्यायाधीश बनेपछि निरपेक्ष रूपमा काम गर्ने दाबी पनि उनले गरे। न्यायाधीश भएपछि संविधान, कानुन र न्यायको पक्षमा अब्बल सावित गर्ने प्रतिबद्धता उनले जनाए ।
उनले भने, ‘कानुन व्यवसायीहरूले एउटा न एउटाको पक्षमै काम गर्नुपर्छ। तर, न्यायाधीश भएपछि न्यायाधीशको पक्ष हुँदैन। न्यायकर्मीको जिम्मेवारी पाएँ भने मेरो जुन रोल थियो, त्यसलाई परिवर्तन गरेर संविधान, कानुन र न्यायको पक्षमा अब्बल सावित गर्नेछु । न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्छ । त्यस्तो दृष्टिकोण न्यायाधीशले राख्नुपर्छ । यसको लागि न्यायपालिकामा दबाब, प्रलोभनहरू आउन सक्छन् । धम्की आउन सक्छन्। त्योभन्दा माथि उठेर निर्णय गर्नुपर्छ। कार्यपालिका र व्यवस्थापिकासँगको सम्बन्धमा पनि न्यायपालिकाको भूमिका हुन्छ ।’
सबैले संविधानभित्रै रहेर काम गर्नुपर्ने उनको धारणा थियो । संविधानको सीमाभित्र रहेर काम गर्न नसके मुलुकमा गतिरोध हुने जिकिर उनको भनाइ थियो ।
प्रतिक्रिया