काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छिन् । अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टीमा सक्रिय हुन नदिन गरिरहेको प्रयासलाई विफल पार्दै भण्डारीले औपचारिक रूपमै आफू एमाले राजनीतिमा फर्किएको घोषणा गरिन् । उनको यो घोषणालाई महत्वपूर्ण रूपमा हेरिएको छ । तत्कालीन महासचिव तथा आफ्ना दिवंगत पति मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमबाट उनै मदनलाई सम्झिँदै आफू राजनीतिमा पुनरागमन गरेको बताएकी हुन् । उनको राजनीतिक पुनरागमनसँगै एमालेको अन्तरिक राजनीति तरंगित बनेको छ भने पार्टीभित्र स्पष्ट २ कित्ता देखिने भएको छ । आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने तयारीका साथ लागेकी भण्डारी र अध्यक्षमा दोहोरिन चाहेका ओलीबीच औपचारिक रूपमै शक्ति संघर्ष हुने पक्का भएको छ ।
भण्डारीको पुनरागमन हुने चर्चासँगै अध्यक्ष ओली र उनी निकटका पदाधिकारीहरू उनलाई रोक्न लागिपरेका थिए । अध्यक्ष ओलीले त सार्वजनिक रूपमै भण्डारी पक्षले राख्ने कार्यक्रम इन्कार गर्न पार्टी पंक्तिलाई निर्देशन नै दिएका थिए । तर, शनिबार ओलीसमेत सहभागी भएको कार्यक्रममै भण्डारीले आफू एमाले राजनीतिमा फर्किएको घोषणा गरेर ओलीको रणनीति विफल पारिदिइन् ।
उनलाई राजनीतिमा रोक्ने पछिल्लो कडीका रूपमा गत बुधबार बसेको एमाले सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले आगामी विधान महाधिवेशनबाट पूर्वराष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्तिलाई राजनीतिमा आउन रोक लगाउनुपर्ने प्रस्ताव गरेका थिए । तर, अन्य नेताहरूले यस विषयमा समर्थन नजनाएपछि अध्यक्ष ओलीले नै त्यस विषयमा पछि छलफल गर्ने भन्दै विषय मोडेका थिए ।
गत ३ असारमा भएको भेटमा भण्डारीले आफू सक्रिय राजनीतिमा आउन लागेको जानकारी दिँदै अध्यक्ष ओलीलाई आगामी महाधिवेशनमा सहयोग गर्न आग्रह गरेकी थिइन् । तर, ओलीले उक्त प्रस्ताव ठाडै अस्वीकार गर्दै आफू पुनः अध्यक्ष दोहोरिने बताएका थिए । ओलीले नेतृत्वको चाहना नराख्न भनेपछि औपचारिक घोषणामार्फत् नै भण्डारीले आफू एमाले राजनीतिमा फर्किएको बताएकी हुन् ।
विधान महाधिवेशनमै कडा टक्करको संकेत
एमालेभित्र अब स्पष्ट २ कित्ता बनेको छ । अध्यक्ष ओली नेतृत्वको संस्थापन पक्ष र भण्डारी नेतृत्वको अर्को पक्षबीच आगामी भदौमा हुने भनिएको विधान महाधिवेशनमै कडा टक्कर पर्ने देखिएको छ । एमालेले २०–२२ भदौमा विधान महाधिवेशन बोलाएको छ । अघिल्लो महाधिवेशनमा ७० बर्से उमेर हद लगाएको एमालेले हाल सो प्रावधानलाई निलम्बन गरेर राखेको छ । ओली उमेर हद हटाएर पुनः आफैँ अध्यक्ष बन्ने तयारीमा छन् ।
तर, भण्डारी पक्ष भने उमेर हद लगाएर ओलीलाई बिदा गर्ने पक्षमा छ । उमेर हदको विषय उठाउने नेताहरूलाई ओलीले आफ्नो विपक्षी कित्तामा राख्न सुरु गरेका छन् । शनिबार पनि उनले पार्टीको महाधिवेशन आइनसकेको भन्दै स्वार्थीहरूलाई महाधिवेशन लागेको टिप्पणी गरे । ‘महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन । हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन,’ उनको भनाइ थियो, ‘केही स्वार्थीहरूलाई महाधिवेशन लागेको मात्रै हो । हामी त्यस्ताका पछाडि लाग्नुहुँदैन ।’
तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान महाधिवेशन आइरहेको सन्दर्भमा सचेत कार्यकर्ताहरूले छलफल गर्ने बताए । कसैलाई बोल्न पाउँदैनस् भन्नुनहुने भन्दै उनले पार्टीको लोकतान्त्रीकरणको सन्दर्भमा छलफल गर्ने उपयुक्त समय नै यही भएको तर्क गरे । ‘विधान महाधिवेशन आउँदै छ । सचेत कार्यकर्ता अलिअलि कुरो गर्छन् नि । के गर्दा ठिक होला ? खबरदार ! यो बोल्न पाउँदैनस् भन्न मिल्दैन,’ उनले भने । उनले १०औँ महाधिवेशनमा उमेर हदको विषय पार्टी जीवनको लामो अनुभव र सुविचारित ढंगले ल्याइएको भन्दै ती विषयमाथि खुलेर छलफल गर्नुपर्ने बताए ।
‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’
पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीको ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्ने भनाइलाई आदर्श मानेर आफू एमालेमा फर्किएको बताइन् । राजनीतिक उतारचढावका क्रममा आफूले धेरै सिकेको र परिपक्वसमेत भएको भन्दै संयमतापूर्वक अगाडि बढ्ने बताएकी उनले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउने दायित्व वहन गर्ने बताइन् । ‘अब म एमाले परिवारको एक सदस्यका रूपमा पुनः जोडिएको छु । र, यसमा म गर्व गर्छु । मेरो कुनै विशिष्ट आकांक्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो,’ उनले भनिन् ।
एमालेमा बम पड्किँदैन : ओली
मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओली भने भण्डारीको घोषणा नसुनी कार्यक्रमबाट बाहिरिए । भण्डारीले आफ्नो कुरा सुन्न आग्रह गरे पनि आफू विदेश जानुपर्ने भन्दै आफ्नो मन्तव्य सकेर बाहिरिए । ओलीले सम्बोधन गर्दै भण्डारीले बम पड्काउने र त्यहीँबाट एमाले ध्वस्त हुने सपना कसैले देखको भन्दै त्यस्तो नहुने टिप्पणी गरे । ‘यहाँ विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ । यहीँबाट एमाले ध्वस्त हुन सुरु गर्छ, यो सपना देखेर बसेका छन् । कुनै बम, बन्दुक, बारुद, गोला केही पड्किनेवाला छैन,’ उनले भने, ‘नेकपा (एमाले) एक छ । एक रहन्छ । एकजुट भएर जान्छ ।’ उनले कार्यक्रम रोक्न आफूहरूले कुनै प्रकारको व्यवधान नगरेको प्रष्टीकरण समेत दिए । भण्डारीको कार्यक्रमलाई प्रभावित पार्न एमालेले विभिन्न जनसंगठनहरूलाई आ–आफ्नो कार्यक्रम गर्न निर्देशन दिएको थियो ।
प्रतिक्रिया