काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अगस्टमा अस्ट्रेलियामा टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्ति जारी गर्दै अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलिया भ्रमण गर्ने जनाएको छ । क्यानका अनुसार नेपाली टोलीले अस्ट्रेलियामा रहँदा टप इण्ड टी– २० सिरिज खेल्ने छ ।
नेपाली टोलीले अस्ट्रेलियामा टी– २० विश्वकप २०२६ को एसिया छनोटको तयारी गर्नेछ । विश्वकपको एसिया छनोट १ देखि १७ अक्टोबरसम्म ओमानमा हुँदैछ । सिरिजमा नेपालले कम्तिमा ६ खेल खेल्ने क्यानले जनाएको छ ।
अस्ट्रेलिया भ्रमणको क्रममा टोलीले डार्विनमा रहेको डिएक्ससि एरिना, टिआइओ स्टेडियम तथा काज्लिस् एरिनामा सिरिजका खेल खेल्नेछ । क्यानका अनुसार सिरिजमा नेपालले अस्ट्रेलियाका बलिया स्थानिय टोलीको सामना गर्नेछ ।
सिरिजको खेल तालिका अर्को हप्ता घोषणा हुने क्यानले जनाएको छ । आईसीसी टी– २० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमण गर्ने र टी–२० सिरिज खेल्ने भएको हो । अस्ट्रेलियामा हुने तयारीले नेपालको टी– २० विश्वकप छनोटमा सहयोग पुग्ने क्यानले विश्वास लिएको छ ।
प्रतिक्रिया