काठमाडौँ । कोसी प्रदेशमा चिया र कफी खेतीको क्षेत्रफल बढेको छ । नेपाल राष्ट्र बैंकले गरेको कोसी प्रदेशको आर्थिक गतिविधि अध्ययन अर्धवार्षिक प्रतिवेदनअनुसार चिया र कफी खेतीप्रति आकर्षण बढेको हो । आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनामा चिया खेतीले ढाकेको क्षेत्रफल १६ हजार ६०४ हेक्टर र कफी खेतीले ढाकेको क्षेत्रफल ७७७ हेक्टर पुगेको छ ।
चिया खेती अघिल्लो वर्षको पहिलो ६ महिनाको तुलनामा शून्य दशमलव ६ प्रतिशतले बढेको देखिन्छ, भने कफी खेतीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९७ दशमलव ३ प्रतिशतले बढी हो । यस प्रदेशको पहाडी जिल्लाहरूमा कफी खेतीप्रति आकर्षण बढेसँगै कफी खेतीको क्षेत्रफलमा उल्लेखनीय रूपमा वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । ६ महिनाको अवधिमा प्रदेशको कुल कृषि उपजले ढाकेको क्षेत्रफलमा चिया तथा कफी बालीले ढाकेको क्षेत्रफल १ दशमलव ८ प्रतिशत रहेको छ । चिया तथा कफी खेती गरिएको कुल क्षेत्रफलमध्ये झापा र इलाम जिल्लामा मात्र ९३ प्रतिशत भू–भाग रहेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनाको अवधिमा चियाको उत्पादन १० हजार ७५६ दशमलव १ मेट्रिक टन रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ८ प्रतिशतले बढी हो । समीक्षा अवधिमा कफीको उत्पादन १ दशमलव ६ प्रतिशतले बढेको छ । कोसी प्रदेशमा कुल चिया उत्पादनको ९६ दशमलव ४ प्रतिशत हिस्सा झापा र इलाम जिल्लाको रहेको प्रतिवेदनमा उल्लेख छ । कुल कफी उत्पादनमा इलाम जिल्लाको हिस्सा सबैभन्दा बढी ५९ दशमलव ७ प्रतिशत रहेको छ ।
कृषि बालीको क्षेत्रफल घट्यो, उत्पादन बढ्यो
अन्य प्रदेश जस्तै कोसीमा पनि कृषि बालीले ढाकेको क्षेत्रफल निरन्तर घट्दो रहेको छ । आव २०८०/०८१ को पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा कोसी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल २ दशमलव ८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कोदो, फापर, जौ, सुर्ती, आलु, मकैलगायत बालीले ढाकेको क्षेत्रफल घटेकोले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको देखिन्छ ।
कृषिको कुल क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफलको हिस्सा ८८ दशमलव ३ प्रतिशत, तरकारी बालीले ढाकेको क्षेत्रफल ४ दशलवम ६ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल ७१ प्रतिशत रहेको छ । खाद्य, नगदे तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ८२ दशमलव ५ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा समग्र कृषि बालीको उत्पादन २ दशमलव शून्य ३ प्रतिशतले बढेको छ । सो अवधिमा खाद्य, नगदे तथा अन्य बालीको उत्पादन २ प्रतिशत, तरकारीको उत्पादन ५ दशमलव ४ प्रतिशत, फलफूलको उत्पादन २ दशमलव ९ प्रतिशत, चियाको उत्पादन शून्य दशमलव ८ प्रतिशत तथा कफीको उत्पादन १ दशमलव ६ प्रतिशतले बढेको छ । मसलाको उत्पादन भने ९ दशमलव ९ प्रतिशतले घटेको छ ।
नगदे तथा अन्य बालीको क्षेत्रफल घटे पनि व्यावसायिक कृषि खेतीमा भएको विस्तार, समयमा वर्षा, सिँचाइको सुविधा, समयमै मलको उपलब्धता, उन्नत जातको बिउवीजनको प्रयोग गर्नुले उत्पादकत्वमा वृद्धि भई समग्र कृषि बालीको उत्पादन बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कुल खेतीयोग्य क्षेत्रफलको ४० दशमलव ८ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ४० दशमलव ५ प्रतिशत रहेको थियो । कोसी प्रदेशमा दुध, मासु, अन्डा र माछाको उत्पादन बढेको छ । दुध उत्पादन १ दशमलव ९ प्रतिशत मासु उत्पादन ४ दशमलव ८ प्रतिशत अन्डा उत्पादन ७ दशमलव २ प्रतिशत, माछा उत्पादन ४ दशमलव ८ प्रतिशतले बढेको छ भने ऊन उत्पादन २ दशमलव २ प्रतिशतले घटेको छ ।
वैदेशिक रोजगारीको पेलानमा कृषि
कृषिमा आधारित ग्रामीण अर्थतन्त्र खुम्चिएर वैदेशिक रोजगारीमा आधारित रेमिट्यान्स अर्थतन्त्र मौलाउँदै गएपछि नेपालमा युवा जनशक्तिको अभाव देखा पर्न थालेको छ । यसको प्रत्यक्ष असर कोसी प्रदेशको कृषि तथा अन्य आर्थिक गतिविधिमा परेको र आगामी दिनमा झन् बढ्ने देखिन्छ ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार कोसी प्रदेशको खेतीयोग्य जमिन घडेरीमा परिणत हुँदै गइरहेको र युवाजनशक्ति वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेकाले कृषि क्षेत्रमा युवा जनशक्तिको अभाव हुने देखिन्छ । जसलाई कृषिको व्यावसायीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी बढ्दो खाद्यान्न आयातलाई न्यूनीकरण गर्नु नै उत्तम हुने विज्ञहरूको सुझाव छ ।
प्रदेशमा पर्याप्त रोजगारीको अवसर सिर्जना गरी दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न र निजी क्षेत्रका लगानीकर्तालाई आकर्षित गर्न पूर्वाधार र व्यवसाय मैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । पहाडी भेगमा बाँदरको समस्याले विकराल रूप लिइरहेकोले कृषिको भू–क्षेत्र तथा कृषि उत्पादनमा समेत प्रतिकूल प्रभाव पर्ने देखिन्छ । त्यस्तै, मलको अभाव, आधुनिक बिउवीजनको अभाव तथा दक्ष जनशक्तिको अभावले गर्दा कृषिमा चुनौती थपिएको छ ।
भारतमा निर्यात खुलेपछि भटमासको तेल उत्पादन बढ्यो
आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनामा भटमासको तेल उत्पादन सबैभन्दा बढी वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले गरेको कोसी प्रदेशको आर्थिक गतिविधि अध्ययन अर्धवार्षिक प्रतिवेदनअनुसार भटमासको तेल उत्पादन सबैभन्दा बढी ६४१ दशमलव शून्य ५ प्रतिशतले वृद्धि भएको हो । साथै यसअवधिमा घरेलु धातुका सामान उत्पादन सबैभन्दा बढी ७९ दशमलव ५३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा भारतीय बजारमा भटमासको तेल निर्यात बन्द रहेकोले आधार अवधिमा उत्पादन थोरै मात्रमा भएको देखिन्छ । समीक्षा अवधिको सुरुआतदेखि नै भटमासको तेल भारततर्फ निर्यात भइरहेकाले उत्पादनमा उल्लेखनीय वृद्धि भएको हो ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा भटमास तेलको उत्पादन क्षमताको १४ दशमलव ५ प्रतिशत रहेकोमा समीक्षा अवधिमा उत्पादन क्षमताको १०७ दशमलव १ प्रतिशतमा उद्योगहरू सञ्चालनमा रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । विगतमा भटमास तेलको निर्यात भारतीय बजारमा बन्द रहेकोमा समीक्षा अवधिमा भारतीय बजारमा निर्यात भइरहेकाले उत्पादन क्षमताभन्दा पनि बढीमा उद्योगहरू सञ्चालनमा रहेको देखिन्छ ।
आर्थिक वर्ष २०८१/०८२ मा नेपालको राष्ट्रिय कुल ग्राहस्थ्य उत्पादनमा कोसी प्रदेशको हिस्सा १५ दशमलव ९० प्रतिशत हुने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान रहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा कोसी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको हिस्सा ३४ दशमलव शून्य ५ प्रतिशत, उद्योग क्षेत्रको १६ दशमलव शून्य ९ प्रतिशत र सेवा क्षेत्रको ४९ दशमलव ८५ प्रतिशत योगदान रहने अनुमान रहेको छ ।
प्रतिक्रिया