युद्धको विभिषिकाबाट बचाउने दृढता खोइ ? भन्दै राष्ट्रसंघ कार्यालय अगाडि शान्ति समाजको प्रदर्शन

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले युद्धको विभिषिकाबाट बचाउने दृढता खोइ ? भन्दै ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

विगत २९ वर्षदेखि आणविक अस्त्रको विश्वव्यापी उन्मुलन र युद्ध निषेधः शान्ति विशेष अभियान सञ्चालन गरिरहेको सो मानव अधिकार तथा शान्ति समाजले आज शुक्रबार आफ्ना माग राख्दै प्रदर्शन गरेको हो ।

वर्तमान–भावी पुस्तालाई युद्धको विभिषिकाबाट बचाउने दृढता खोइ ? भन्दै विश्वका विभिन्न भागमा चलिरहेको युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने र सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरुले युद्धको पक्षपोषण होइन, युद्ध अन्त्य र शान्ति प्रवर्द्धनमा योगदान गर्नुपर्ने आग्रहसहित प्रदर्शन गरेको समाजले जनाएको छ ।

भावी पुस्तालाई युद्धको विभिषिकाबाट बचाउने दृढतासहित ८० वर्षअघि संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो । आजको प्रदर्शनमा विभिन्न प्लेकार्डहरुसहित प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराल, पूर्व सभापति होमकान्त चौलागाई, सल्लाहकार रामप्रसाद जोशी, महासचिव प्रकाश शाही, कवि अर्जुन पराजुली, वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी, कोषाध्यक्ष चन्द्रमणी बञ्जारा, सदस्यता अपिल समिति संयोजक किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, उमा गौतम, मणीराम दाहाल, काठमाडौं शाखा सभापति विकास थापा, ललितपुर शाखा सभापति मनबहादुर थापा, आजीवन सदस्यहरु जयराम पुडासैनी, तुलसीराम भण्डारी, रेजीना राई, मन्दिर अमात्य, वुद्ध रिसाल, बाबुराम न्यौपाने, ईश्वरी नेपाल, राजकुमार श्रेष्ठ लगायत शान्तिवादीहरुको सहभागिता थियो ।

प्रदर्शन पश्चात संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई शान्ति समाजका तर्फबाट लेखिएको पत्र नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका अधिकारीमार्फत हस्तान्तरण गरिएको थियो ।

पत्रमा एकातिर सवा तीन वर्षदेखि रुस–युक्रेन युद्ध जारी छ भने अर्कोतिर २० महिनादेखि गाजामा इजरायली अत्याचार जारी रहेको जसका कारण बालबालिका, महिलाले समेत अकल्पनीय प्रताडना भोग्नुपरेको, युद्धका कारण अपुरणीय क्षति मात्र नभई मानवता निरन्तर पराजित भइरहेको र संयुक्त राष्ट्रसंघ लाचार मुकदर्शक भएको भान पर्न थालेको र यसै वर्ष १३ जुनबाट शुरु भएको इजरायल–इरान युद्ध लगायत विश्वका विभिन्न भागमा चलिरहेको युद्धका कारण मानव सभ्यता नै खतरामा पर्न थालेकोले विश्वका विभिन्न भागमा चलिरहेको युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघले प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया