पर्यटकीय सुन्दरता समाप्त हुने पर्खाइमा पोखरा

पोखरालाई कंक्रिट र फोहोरी सहरमा परिणत हुने खतराबाट जोगाउने हो भने प्रदेशको राजधानीका लागि पोखराको विकल्प खोज्न कति पनि ढिलाइ गर्नुहुन्न । तर, यो विकल्प पोखराबाट टाढाको दुरीमा भने हुनु हुन्न । पोखराबाट कार्यालय भ्याउने गरी १ देखि डेढ घन्टाको ड्राइभिङ दुरीमा प्रदेश राजधानी स्थापना गर्नुपर्छ ।

सूर्यभक्त अधिकारी

पोखरा पर्यटकीय सहर बन्नुको मुख्य कारण सफा तालतलैयाहरू, प्रष्टसँग देखिने हिमाल, संस्कृतिक सम्पदा बोकेका आसपासका गाउँहरू हुन् । तर, पछिल्लो समयमा तालतलैयाको सफाइमा ध्यान दिइएको छैन । अव्यवस्थित सहरीकरणका कारण धुलो, धुँवा तथा तुवाँलो बढ्दै जाँदा हिमालहरू प्रष्ट देखिन छाडेका छन् । माछापुच्छ«े हिमाल पहिलेको जस्तो सेताम्मे देखिन छाडेको छ । तीव्र बसाइँसराइका कारण आसपासका गाउँहरू रित्तिने क्रम बढ्दो छ । साविकका कतिपय पदमार्गमा गाडी गुड्ने सडक बनिसकेका छन् ।

पर्यटकीय सम्पदा संरक्षण र संवद्र्धनतिर ध्यान नदिने हो भने पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुको औचित्य रहन्न । पोखरामा सर्वप्रथम अव्यवस्थित सहरीकरण रोक्नु पर्छ । अव्यवस्थित सहरीकरण रोक्नका लागि गण्डकी प्रदेशको प्रशासनिक तथा राजनीतिक राजधानी पोखराबाट अन्यत्र सार्नुपर्छ । पर्यटनसँग सम्बन्धितबाहेक प्रदेश तथा संघीय स्तरका अन्य कार्यालयहरू पोखरा उपत्यकाबाट बाहिर सार्नु पर्छ । यसैगरी पोखरा आसपासका जिल्लाबाट भइरहेको तीव्र बसाइँसराइ रोक्दै अमूर्त सम्पदा बोकेका स्थानीय गाउँहरूको संरक्षण र संवद्र्धन गनुपर्छ ।

यति गर्न सकियो भने पोखरा नेपालकै मुख्य पर्यटकीय स्थल बन्ने बाटो खुल्छ । किनकी गण्डकी प्रदेश थातथलो भएका नेपालीहरूको जनसंख्या अन्य प्रदेश तथा विदेशमा निकै ठुलो छ । उनीहरू कम्तिमा पनि वर्षको एकपटक पोखरा घुम्न गए भने मात्रै पनि पोखराको पर्यटन व्यवसायले फट्को मार्छ ।

प्रदेशको राजनीतिक तथा प्रशासनिक केन्द्र बनाइसकेपछि पोखराको पर्यटकीय महत्व घट्दै जान्छ भन्ने हेक्का गण्डकी प्रदेशसभाले राख्न सकेन । कतिसम्म भने विकल्पका लागि अध्ययनसमेत गरिएन । गण्डकी प्रदेशको स्थायी राजधानी बनाउन संभावित ठाउँहरूको बारेमा अध्ययनसमेत नगर्नु गण्डकी प्रदेशको पहिलो संसद् र पहिलो सरकारको मुख्य त्रुटी थियो । मुलुकको दोस्रो ठुलो सहर पोखरामा प्रदेशको राजधानीका लागि सबै पूर्वाधार थिए । त्यसैले नयाँ पूर्वाधार निर्माण गरी उपयुक्त स्थानमा प्रदेश राजधानी राख्नुभन्दा पोखरामा भइरहेको साविकको पूर्वाधारलाई प्रयोग गर्ने सहज बाटो रोजियो ।

गण्डकी प्रदेशका सबै जनतालाई पायक पर्ने पनि पोखरा नै हो । यसमा कुनै विवाद छैन । सबै जनतालाई पायक पर्ने हिसाबले त पोखरा केन्द्रीय राजधानीसमेत रहनुपर्ने ठाउँ हो, प्रदेश राजधानीको त कुरै छाडौँ । मध्यपहाडी लोकमार्गको निर्माण सम्पन्न हुनासाथ कर्णाली क्षेत्रका लागिसमेत पोखरा सन्धिसर्पनजस्तो हुन्छ ।
पोखरालाई अहिलेकै पोखरा नै रहन दिने कि ? काठमाडौँ या वीरगन्ज जस्तो बनाउने ? यो नै मुलुकका लागि मुख्य प्रश्न हो । पोखरा मुलुकको मुख्य पर्यटकीय हब हुनुको मुख्य कारण सफा तालतलैया तथा नदी नाला, प्रदूषण मुक्त स्वच्छ वातावरण तथा मनोरम प्राकृतिक दृश्यहरू हुन् ।

पोखराको हावापानी न त गर्मी न त जाडो छ । हिउँदमा पनि काठमाडौँजस्तो जाडो हुँदैन, गृष्म ऋतुमा पनि काठमाडौँजस्तो गर्मी हुँदैन । अबको ५ वर्षभित्र मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर सडक, गैँडाकोट–पोखरा सडक, निर्माण सम्पन्न भइसक्छ । यी पूर्वाधार सम्पन्न हुनासाथ पोखरा बसोबासका लागि हरेक हिसाबले मुलुककै सर्वोत्तम स्थान हुनेछ ।

पोखरा क्रमशः कंक्रिट र फोहोरी सहरमा परिणत हुन थालेको छ । पोखराका नदीहरूको हालत र काठमाडौँका नदीहरू जस्तै हुनेक्रम सुरु भइसकेको छ । पोखराका तालतलैयाको हालत वीरगन्जका पोखरीहरू जस्तै हुन लागेका छन् । वायु प्रदूषणका कारण पोखराबाट पहिलेको जस्तो स्पष्ट रूपमा हिमाल देखिने छाडेको छ । प्याराग्लाइडिङ व्यवसाय एकादेशको कथा हुने हो कि भन्ने चिन्तामा पर्यटन व्यवसायीहरू देखिन थालेका छन् । । पर्यटकीय सुन्दरता समाप्त भयो भने पोखरा र वीरगन्जमा के फरक ?

अनौपचारिक तथा बोलीचालीमा पोखरालाई पर्यटकीय राजधानी भनिँदै आएको धेरै पहिलेदेखि नै हो । पोखराको पर्यटनले गण्डकी प्रदेशलाई मात्रै होइन, सिंगो मुलुकलाई लाभ पु¥याइरहेको कुरा विभिन्न तथ्यांकद्वारा पनि स्पष्ट हुन्छ । नेपाल घुम्न आएकामध्ये करिब ४० प्रतिशत विदेशी पर्यटक पोखरा पुग्ने गर्छन् । यसैगरी आन्तरिक पर्यटनको हिसाब गर्ने हो भने त करिब ६० प्रतिशत हिस्सा पोखराले नै ओगट्छ । पोखरालाई केन्द्रित बनाएर विकास गर्न सकिने पर्यटकीय गन्तव्यहरूको संख्या उल्लेख्य छ । मनाङ, मुस्ताङ, उत्तरी गोरखा त पोखराबाट नजिक पर्ने नेपालका मुख्य पर्यटकीय गन्तव्य हुँदै हुन् । त्यसबाहेक पोखराबाट १ देखि ३ घन्टासम्मको ड्राइभिङमा पुगिने पर्यटकीय गन्तव्यहरू उल्लेख्य छन् । पोखरालाई मुकाम बनाएर आसपासका क्षेत्रहरू घुम्न जाने बाह्य तथा आन्तरिक पर्यटकको संख्या निकै ठुलो छ ।

पोखरालाई कंक्रिट र फोहोरी सहरमा परिणत हुने खतराबाट जोगाउने हो भने प्रदेशको राजधानीका लागि पोखराको विकल्प खोज्न कति पनि ढिलाइ गर्नुहुन्न । तर, यो विकल्प पोखराबाट टाढाको दुरीमा भने हुनु हुन्न । पोखराबाट कार्यालय भ्याउने गरी १ देखि डेढ घन्टाको ड्राइभिङ दुरीमा प्रदेश राजधानी स्थापना गर्नुपर्छ । जसरी दिल्लीको ऐतिहासिकता कायमै गर्न नजिकै नयाँदिल्ली बनाइयो त्यसरी नै पोखराको पर्यटकीय सौन्दर्यता कायम राख्न नजिकै नयाँ पोखरा निर्माण गर्नुपर्छ । साथै पोखराको आसपासमा कम्तिमा ८–१० वटा स्याटलाइट सहरहरूको निर्माण गर्नुपर्छ । ता कि पोखरा बसोबास होइन घुम्ने र मनोरञ्जन गर्ने सहर मात्रै बनोस् ।

पोखराको स्याटलाइट सहरका रूपमा दमौली, दुलेगौंडा, भीमाद, भोर्लेटार, दुईपिप्ले, सुन्दरबजार, स्याङजा पुतलीखेत, कुश्मा, बाग्लुङ, फलेवास विकसित हुँदै गइरहेका छन् । यी ९ वटै सहरमा पूर्वाधारको व्यापक विकास गरिनु पर्छ । ता कि पोखरामा घरघडेरी किन्न चाहनेहरू यी स्याटलाइट सहरमै रोकिउन् । यी स्याटलाइट सहरमध्येकै कुनै एउटा सहरलाई गण्डकी प्रदेशको राजधानी सहरका रूपमा विकास गर्दा पोखरालाई नोक्सान होइन नाफा नै हुन्छ । यी सहरहरू कुनै पनि पोखराबाट १ घन्टाको ड्राइभिङ दुरीभन्दा टाढा छैनन् । अझ सुरुङ मार्ग निर्माण गर्ने हो भने आधा घन्टा दुरीका हुन् । पोखराबाट यी ९ वटै स्याटलाइट सहरमा तत्काल सुरुङ मार्ग निर्माण गर्न नसकिएला तर जुन सहरलाई राजधानी बनाउने हो, पहिलो चरणमा त्यो सहरसम्म पोखरा उपत्यकाबाट सुरुङ मार्ग निर्माणका लागि बजेटले धान्छ ।

खैरेनीटार, दमौली वा भीमादका लागि सुरुङ मार्ग निर्माणको आवश्यकता छैन । तर, खैरेनीटार वा दुलेगौंडा अहिले नै पोखरा बनिसकेका छन् । खैरेनीटार राम्रो विकल्प हो तर सर्वोत्तम विकल्प भने तनहुँ जिल्ला सदरमुकाम दमौली हुन सक्छ । त्यसो त बाग्लुङ, कुश्मा, फलेवास र ग्यादी सहरहरू रहेको कालीगण्डकी उपत्यका ज्यादै फराकिलो छ । पर्याप्त ठाउँ छ । विमानस्थल पनि छ । कालीगण्डकी कोरिडोर र मध्यपहाडी राजमार्गको जक्सन पनि हो यो । तर, तत्काल सुरुङमार्ग नबनाउने हो भने पोखराबाट अली धेरै दुरी छ । हाल करिब ७० किलोमिटर दुरी छ । सुरुङ मार्गको निर्माणद्वारा त्यो दुरीलाई ३० किलोमिटरमा सजिलै झार्न सकिन्छ । तर पन्चासेको डाँडो पुरै छेड्दा १५ किलोमिटर त सुरुङ मार्ग नै बनाउनु पर्ने हुन्छ । तत्कालका लागि व्यावहारिक छैन ।

प्रतिक्रिया