काठमाडौँ । सरकारले इरानमा रहेका नेपाली नागरिकको उद्दार सुरु गरेको छ । उद्धारको पर्खाइमा रहेका १६ मध्ये ११ जना नेपाली नागरिक मंगलबारसम्म भारत आइपुग्ने भएका हुन् । तेहरानबाट उनीहरू टर्कीको मदस सहरमा पुगिसकेकाले त्यहाँबाट भारत सरकारको सहयोगमा उनीहरू भारत हुँदै आइपुग्ने छन् ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सोमबारको प्रतिनिधिसभा बैठकमा यसबारे जानकारी गराएकी हुन् । उनका अनुसार नेपालीलाई उद्धार गरिदिन भारत सरकारलाई अनुरोध गरिएकामा इरानस्थित भारतीय राजदूतावासको सहयोगमा ११ जनालाई नेपाल फर्काउने प्रक्रिया सुरू भएको हो ।
१६ मध्ये बाँकी ५ जना भने अध्यागमन कानुनका कारण इरानको थुनामा रहेको र कागजी प्रक्रिया पूरा गरी स्वदेश फर्काउन मन्त्रालयले नेपाली राजदूतावास, दोहामार्फत पहल गरिरहेको जनाएको छ । ‘१६ जना नागरिक इरानमा हुनुहुँदोरहेछ, भारत सरकारले उहाँहरूको उद्धार गरेर ल्याइदिनेछ । ११ जना मसदमा आइपुग्नु भएको छ, सायद मंगलबार भारतमा आउनुहुन्छ’ मन्त्री देउवाले संसद्मा भनिन्, ‘गैरकानुनी ढंगले गएका ५ जना जेलमा छन् । यही बेला रेस्क्यु गरेर ल्याउन सकिन्छ कि भनेर प्रयास गरेका छौँ ।’
‘अपरेसन सिन्धु’ मार्फत नेपाली र श्रीलंकन नागरिकको उद्दार गर्दै भारत
इरान र इजरायलबीच बढ्दो तनावका बीच गत बुधबार भारतको परराष्ट्र मन्त्रालयले इरानबाट आफ्ना नागरिकहरूको उद्धार गर्नका लागि ‘अपरेसन सिन्धु’ सुरु गरेको थियो । अपरेसन सिन्धुमार्फत् भारतले सोमबारसम्म करिब १ हजार ८ सय आफ्ना नागरिकको इरानबाट उद्दार गरिसकेको छ । जसमा १ हजारभन्दा बढी विद्यार्थी रहेका छन् । भारतको परराष्ट्र मन्त्रालयले आफ्ना नागरिकसँगै नेपाल र श्रीलंकाका नागरिकको पनि अपरेसन सिन्धुमार्फत् उद्दार गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ । ‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा भारतीय दूतावासले अब इरानमा फसेका नेपाली र श्रीलंकाली नागरिकको उद्धार गर्न पनि मद्दत गर्नेछ’, इरानस्थित भारतीय दूतावासले भनेको छ ।
इजरायलबाट फर्किन ८८५ जनाले टिपाए नाम
इजरायलबाट नेपाल फर्किन हालसम्म ८८५ जनाले विवरण दर्ता गराएका छन् । सोमबार प्रतिनिधिसभामा परराष्ट्रमन्त्री डा.राणाले गराएको जानकारीअनुसार नेपाल फर्किन चाहने नेपालीको विवरण लिन सुरु गरेपछि सोबारसम्म ८८५ जनाले आफ्नो नाम दर्ता गराएका हुन् । इजरायलमा करिब ५ हजारदेखि ७ हजारको संख्यामा नेपालीहरू रहेको परराष्ट्र मन्त्रालयको अनुमान छ । सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिन सुरू गरेको थियो । १७ जुनमा अनलाइन पोर्टल खोलेर परराष्ट्रले इजरायलस्थित दूतावासमार्फत नेपाली नागरिकहरूको विवरण लिन सुरु गरेको थियो ।
मन्त्री डा.राणाका अनुसार २ देशबीच युद्ध सुरु भएको दिन अर्थात् १३ जुनदेखि नै परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण गराएको र १५ जुनमा प्रेस एड्भाइजरीसमेत जारी गरी इजरायल तथा इरानमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको थियो ।
प्रतिक्रिया