प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक बहुमतले पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन् ।

आज पारित भएको बजेट साउन १ गतेबाट लागू हुनेछ । आजको बैठकमा विनियोजन विधेयक पारित गर्नु मन्त्रालयगत रुपमा उठेको प्रश्नको मन्त्रीहरुले जवाफ दिएका थिए ।

त्यसैगरी खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाबाट बहुमतले अस्वीकार भएको थियो । बैठकमा अर्थमन्त्री पौडेलले आजै ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

विनियोजन विधेयक पारित गर्नु अगाडि आज बिहान सत्तापक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । विनियोजन विधेयक भनेको सरकारले संसदमा पेस गर्ने ऐनको मस्यौदा हो, जसले कुनै पनि आर्थिक वर्षमा कुन मन्त्रालय, निकाय वा परियोजनामा कति रकम खर्च गर्न पाइन्छ भन्ने अनुमति दिन्छ ।

यो विधेयकमार्फत सरकारले यो मन्त्रालयलाई यति बजेट, यो कार्यालयलाई यति खर्च गर्न पाउने भनेर कानुनी मान्यता दिन्छ । संसदले पारित गरेपछि मात्र सरकारले त्यो खर्च गर्न पाउँछ । गत जेठ १५ गते अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट सार्वजनिक गरेका थिए ।

कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत र पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत रहेको थियो । त्यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत रहेको थियो । उनले कूल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

प्रतिक्रिया