इजरायल–इरान पूर्ण युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ऐतिहासिक घोषणा गर्दै इजरायल र इरान पूर्ण युद्धविरामका लागि सहमत भएको घोषणा गरेका छन् । युद्धविराम सम्झौता आगामी ६ घण्टा पछिबाट सुरु भएर १२ घण्टाभित्रै चरणबद्ध रूपमा कार्यान्वयनमा आउने ट्रम्पले बताएको सीएनएनले जनाएको छ ।

‘इजरायल र इरानबीच पूर्णरूपमा सहमति भएको छ । अबको लगभग ६ घण्टापछि इजरायल र इरानले आफ्ना अन्तिम मिसनहरू समाप्त गर्नेछन् र त्यसपछि १२ घण्टासम्म पूर्ण युद्धविराम हुनेछ । त्यस बिन्दुमा युद्ध समाप्त भएको मानिनेछ,’ राष्ट्रपतिले सामाजिक सञ्जालमा लेखे ।

इरान र इजरायल दुवैले आगामी युद्धविरामबारे कुनै टिप्पणी गरेका छैनन् । ट्रम्पको पोस्ट अनुसार, युद्धविराम आगामी २४ घण्टामा चरणबद्धरूपमा लागु हुनेछ ।

‘आधिकारिक रूपमा इरानले युद्धविराम सुरु गर्नेछ र १२औँ घण्टामा इजरायलले युद्धविराम सुरु गर्नेछ । २४औँ घण्टामा १२ दिने युद्धको आधिकारिक अन्त्यलाई विश्वले स्वागत गर्नेछ । प्रत्येक युद्धविरामको समयमा, अर्को पक्ष शान्त र सम्मानजनक रहनेछ,’ ट्रम्पले पोष्टमा भनेका छन् ।

ट्रम्पको घोषणापछि फक्स न्यूजसँगकाे अन्तर्वार्तामा बोल्दै उपराष्ट्रपति जेडी भान्सले ट्रम्पले सम्झौता अन्तिम विन्दुसम्म पुर्‍याएको भन्दै प्रशंसा गरेका छन् ।

प्रतिक्रिया