इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानले दियो एक व्यक्तिलाई मृत्युदण्ड

इरानका राष्ट्रपति अयातोल्लाह अली खामेनी

तेहरान । इरानले इजरायलका लागि जासुसी गरेको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई सोमबार मृत्युदण्ड दिएको जनाएको छ ।

‘यहूदी शासन (इजरायल) का लागि गुप्तचरको रूपमा सहयोग गरेको आरोपमा आज बिहान इरानी नागरिक मोहम्मद–अमिन महदावी शायेस्तेहलाई फाँसी दिइएको छ,’ इरानको एक न्यायलयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । शायेस्तेहमाथि इजरायलको विदेशी गुप्तचर संस्था मोसादसँग सम्बन्ध रहेको आरोप लागेको थियो ।

उनलाई इरानी सरकारको आलोचना गर्ने लण्डनस्थित फारसी भाषाको टिभी च्यानल इरान इन्टरनेसनलसँग सहकार्य गरेको अभियोगमा पनि दोषी ठहर गरिएको थियो । इरानले उक्त प्रसारणकर्तालाई इजरायलसँग जोडिएको मानेको छ ।

सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनका क्रममा इरानका अधिकारीहरूले उक्त च्यानललाई आतंकवादी संगठनको रूपमा वर्णन गरेका थिए । इरानी कुर्दिश युवती अमिनीलाई इस्लामिक गणतन्त्रको कडा ड्रेस कोड उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थियो ।

इरानले विशेषगरी उसको कट्टर शत्रु इजरायलसँग काम गर्ने विदेशी गुप्तचर निकायहरूसँग संलग्न रहेको देखिएका वा आरोप लागेका व्यक्तिहरूलाई पक्राउ गरी राष्ट्रघात गरेको आरोपमा वर्षौँ जेल र मृत्युदण्डसमेत दिने घोषणा गर्ने गरेको छ ।

आइतबार अधिकारीहरूले यस्ता कारबाहीलाई तीव्रता दिने प्रतिबद्धता जनाएका थिए । सोही दिन न्यायपालिकाले मोसादको एजेन्ट भएको आरोपमा दोषी ठहरिएका माजिद मोसायेबीलाई मृत्युदण्ड दिने घोषणा गरेको छ ।

न्यायपालिकाका प्रमुख घोलामहुसेन मोहसेनी एजेईले भने, ‘सुरक्षासँग सम्बन्धित मुद्दाहरू, विशेष गरी इजरायललाई समर्थन गर्ने र शत्रुको पाँचौं स्तम्भको रूपमा काम गर्ने मुद्दाहरूलाई अझ छिटो समाधान गरिनेछ ।’

एम्नेस्टी इन्टरनेसनललगायतका मानवअधिकारवादी समूहका अनुसार इरानमा विश्वकै अत्यधिक धेरै संख्यामा मृत्युदण्ड दिइने गरिएको छ ।

प्रतिक्रिया