काठमाडौँ । इजरायल–इरानबीच १ साताभन्दा बढी समयदेखि जारी युद्धमा एकाएक अमेरिकाको ‘इन्ट्री’ले यो युद्ध नयाँ मोडमा प्रवेश गरेको छ । स्थानीय समयअनुसार शनिबार राति अमेरिकाले बी–२ स्टिल्थ बमवर्षक विमानमार्फत् इरानका ३ वटा परमाणु क्षेत्र फोर्दो, नतान्ज र इस्फहानमा भीषण आक्रमण गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धमा सामेल हुन १५ दिन कुर्ने जानकारी दिएको ४८ घन्टा नबित्दै हठात् आक्रमणमा उत्रिनुले इरानसँगको आणविक वार्ता थप अनिश्चित मात्र बनेको छैन, बरु विश्वव्यापी ध्रुवीकरणको स्पष्ट संकेत देखिएको छ । इरानमाथि हमलाको पहिलो जानकारी स्वयं ट्रम्पले दिएका थिए । ट्रम्पले ट्रुथ सोसलमा लेख्दै आफ्ना सबै विमान सुरक्षित रूपमा घर फर्किरहेको उल्लेख गर्दै भनेका थिए, ‘हाम्रा महान् अमेरिकी योद्धालाई बधाई ! विश्वमा कुनै पनि अरू सेना छैनन्, जो यो काम गर्न सक्षम छन् । अब शान्तिको समय हो ।’ उनले दोस्रो पोस्ट गर्दै अब यो युद्ध समाप्त गर्न इरान सहमतिमा आउनुपर्ने बताएका छन् ।
यता, आफ्नो परमाणु क्षेत्रमा आक्रमण भएको इरानले स्वीकारेको छ । तर, आक्रमण रोक्न भने असफल भएको इरानको मेहर न्युजले बताएको छ । इरानको सरकारी न्युज एजेन्जी आइआरइबीका अनुसार अमेरिकी आक्रमणभन्दा केही समयअघि इरानले ३ वटै परमाणु केन्द्र खाली गरेको थियो । यद्यपि, आक्रमणबाट कति क्षति भयो भन्ने विवरण आइसकेको छैन । आक्रमणका बाबजुद पनि इरानी आणविक कार्यक्रम नरोकिने बताइएको छ ।
झन् क्रुद्ध इरान, भन्यो– ‘अमेरिकाले युद्ध घोषणा ग¥यो’
इजरायलसँग जारी युद्धमा सामेल भएर अमेरिकाले आफूमाथि आक्रमण गरेपछि इरान थप क्रोधित बनेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यो हमलालाई ‘सानदार सैन्य सफलता’ भने पनि इरानले यसलाई अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै ‘युद्ध घोषणा’ मानेको छ । इरानमा रहेका आणविक संरचनामा अमेरिकाले आक्रमण गरेलगत्तै इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अमेरिकाले अहिलेसम्मकै ठुलो क्षति र प्रहार भोग्नुपर्ने चेतावनी दिएका छन् । यस्तै, हुथी विद्रोहका नेता मोहम्मद अल–फराहले अमेरिकी बमबारीले ‘युद्ध सुरु’ भएको बताउँदै अब ‘हिट एन्ड रन’को समय आइसकेको चेतावनी दिएका छन् ।
सुरु भएकै हो विश्वव्यापी ध्रुवीकरण ?
इरानमाथि अमेरिकी आक्रमणपछि जारी युद्धलाई लिएर विश्वव्यापी धु्रवीकरण सुरु भएको विश्लेषण गर्न थालिएको छ । चीन र रुस यसअघि नै इरानको पक्षमा खुलेका छन् भने युद्धमा अमेरिकासमेत सामेल भएपछि पाकिस्तान, साउदी अरेबिया र टर्कीले आफूलाई इरानको पक्षमा उभ्याउँदै कडा प्रतिक्रिया जनाएका छन् । तर, युद्धमै होमिने गरी कुनै पनि देशले प्रतिक्रिया जनाएका छैनन् । इरानमाथि अमेरिकाको हमला पनि आणविक अस्त्रको निर्माण रोक्नका लागि मात्र भएको विश्लेषकहरूको बुझाइ छ ।
यसबारे अमेरिकीभित्रै मिश्रित प्रतिक्रिया देखिएको छ । आणविक केन्द्रमा भएको हमलापछि त्यहाँका डेमोक््रयाट पार्टीका विधायकहरूले सिनेटबाट पारित नगराई युद्धको घोषणा गर्ने अधिकार ट्रम्पलाई नभएको र मध्यपूर्वमा अर्को अन्त्यहीन युद्धमा फस्नबाट बचाउन संसद्मा मतदान आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । अमेरिकाले इरानमाथि आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले पनि यसमा चासो राख्दै शान्तिका लागि अपिल गरेका छन् ।
इरान–इजरायल जारी युद्धका कारण अहिले नै विश्वमा ध्रुुवीकरण सुरु भइसकेको र हल्ला चलेजस्तो तेस्रो विश्व युद्धको कुनै सम्भावना नदेखिएको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सुरक्षा विज्ञ इन्द्र अधिकारी बताउँछिन् । यो एउटा शक्ति सन्तुलनको लडाइँ मात्र भएको र इरानमा अमेरिकाको हमलासँगै जारी युद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नता जस्तो देखिए पनि अमेरिका युद्धमा नै प्रवेश गरिसक्यो भन्न नसकिने उनको बुझाइ छ ।
विशेष गरी ट्रम्पले आफूलाई शान्तिदूतका रूपमा परिभाषित गराउँदै आएका छन् । चलेको युद्धलाई पनि रोक्ने प्रयास गरेका उनी आफैँ युद्धमा हामफाल्ने अवस्था छैन । अमेरिकी नागरिक पनि यसको पक्षमा छैनन् । अमेरिका आफूलाई सधैँ विश्वको नम्बर एक स्थानमा राखिरहन चाहन्छ । युद्धको परिणाम अमेरिकाको विपक्षमा पनि हुनसक्ने भएकाले युद्धमार्फत् त्यो जोखिम मोल्न चाहँदैन ।
‘शक्ति राष्ट्रहरूको आम्दानीको ठुलो स्रोत हतियार बिक्री हो । त्यसैले शक्ति राष्ट्रहरू आफैँ युद्धमा होमिनेभन्दा पनि हतियार बिक्री गर्न रणनीति बनाउँछन् । जसले गर्दा बाहिरबाट हेर्दा कुनै देशको पक्ष र विपक्षमा लागेजस्तो देखिन्छ । तर, शक्ति राष्ट्रहरू अहिले नै आफैँ युद्धमा सहभागी हुँदैनन्, अहिलेको अवस्थाले पनि त्यही देखाउँछ,’ अधिकारी भन्छिन् ।
परराष्ट्रविद् शम्भुराम सिंखडा पनि अहिलेकै अवस्थामा युद्धको आगामी दिशाबारे सटिक प्रक्षेपण गर्न नसकिने बताउँछन् । इरानलाई आणविक हतियार बनाउन रोक्न पहिलेदेखि नै भइरहेको प्रयासको अर्को प्रयत्न अहिलेको इरान–इजरायलबीच युद्ध र त्यसमा अमेरिकाको प्रवेश रहेको सिंखडाको बुझाइ छ । सिंखडा भन्छन्, ‘इरानको आणविक अस्त्रको सम्भावनालाई अन्त्य गर्न पहिलेदेखि नै प्रयास भएको हो । अहिलेको द्वन्द्व पनि मूल रूपमा त्यसैमा केन्द्रित हो र अमेरिकाको संलग्नता पनि त्यसैका लागि हो । तर, स्थिति कता जान्छ, यसै भनिहाल्ने अवस्था छैन ।’
सम्भावित विश्वव्यापी असर
अमेरिकी आक्रमणपछि इरान र मध्यपूर्वकै कट्टरपन्थी शक्तिहरू तत्काल अमेरिकासँग बदला लिनुपर्ने बताउन थालेका छन् । इरानी कट्टरपन्थी नेता होस्सेन शरियतमदारीले सरकारसँग तत्काल प्रतिक्रिया दिन माग गर्दै बहराइनमा रहेको अमेरिकी नौसेनाको जहाजमा मिसाइल हमला र अमेरिकी, बेलायती, जर्मन र फ्रान्सेली जहाजका लागि होर्मुज स्ट्रेट बन्द गर्नुपर्ने बताए । तर, यस्तो कदमले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधारहरूमा इरानले आक्रमण गर्ने जोखिम भने बढाउने विश्लेषकहरूको दाबी छ । यसले द्वन्द्व अन्त्यको साटो झन् बढाउने खतरा हुन्छ ।
विश्वकै लागि तेल व्यापारको एउटा महत्वपूर्ण सामुद्रिक मार्ग मानिएको होर्मुज स्ट्रेट बन्द गर्न इरानमाथि दबाब बढेको छ । यो स्ट्रेट इरानको दक्षिणी तट र ओमानको मुसन्दम प्रायद्वीपको बीचमा अवस्थित छ । यसले इरानलाई बहराइन, कतार, युएई र ओमानसँग छुट्ट्याउँछ । यहाँबाट विश्वको करिब २० प्रतिशत तेल (दैनिक २० मिलियन ब्यारेल) र एक तिहाइ तरल प्राकृतिक ग्यास आपूर्ति हुन्छ । इरानको नियन्त्रणमा रहेको यो जम्मा ३३ किलोमिटरको साँघुरो सामुद्रिक मार्ग बन्द भए विश्वव्यापी रूपमै तेलको मूल्य आकासिने विश्लेषण गरिएको छ । किनभने साउदी अरब, कुवेत, कतार र इरानजस्ता प्रमुख तेल निर्यातकहरूका लागि यो एकमात्र समुद्री मार्ग हो । त्यसैगरी यो इरान र चीनबीच तेललगायत अन्य सामग्री आयात–निर्यात गर्ने मुख्य जलमार्ग पनि हो ।
यद्यपि, होर्मुज स्ट्रेट बन्द गर्ने इरानी धम्की नयाँ भने होइन । सन् १९८० देखि १९८८ सम्म चलेको इरान–इराक युद्धको समयमा इरानले तेल ट्यांकरहरूलाई निशाना बनाएको थियो, तर स्ट्रेट पूर्ण रूपमा बन्द भएको थिएन । सन् २०१९ मा फुजैराह नजिकै ४ वटा जहाजमा इरानी आक्रमण हुँदा पनि तनाव बढेको थियो । तर, अहिलेको इरानको धम्कीलाई विश्वले बढी गम्भीरतापूर्वक लिएको छ ।
प्रतिक्रिया