किडा हेददे मान्सु

शिक्षा र स्वास्थ्य त परका कुरा हुन् । देशमा ‘गणतन्त्र आयो रे’ भन्ने एकाध गाउँलेको कानमा परेको हो, तर त्यो गणतन्त्र त्यहाँको कुन गुफामा ध्यानस्थ छ, कहिले मुक्तिको सन्देश प्रवाह गर्ने हो, धनुषा लोहारट्टीका बासिन्दालेझैँ यहाँका बासिन्दाले चाल पाएका छैनन् ।

चमेलिया नदी छोडेपछि हाम्रो साथमा कापुची गाड थियो । त्यो बिहान हामीले दार्चुलाको उत्तर–पूर्वी सीमामा रहेका कसौटी, तोथी, रङ्घाडी गाउँ पार गरेका थियौँ । गाउँमा घर बाक्ला छैनन् । तर मध्य पहाडमा जस्तो खाली पनि छैनन् । यो हिमाली भेगमा हुम्ला, मुगु, डोल्पा, मुस्ताङमाझैँ खस क्षेत्रीको बसोबास रहेको छ । गाड किनारको बाटो सजिलो छ । वन पातलो छ । पखेरा भिराला छन् । परिवेश प्रकृतिमय छ । तर दैनिक जीवन कठिन छ । घरमा बस्ने महिलाले २० घण्टा पसिना चुहाउँदा पनि बिहान बेलुकाको छाक टर्दैन । पुरुष साथी कि त लद्दाखतिर होलान् ! नजिकै रहेछन् भने ३ महिना पहिलेदेखि लेकमा छन् । शिक्षा र स्वास्थ्य त परका कुरा हुन् । देशमा ‘गणतन्त्र आयो रे’ भन्ने एकाध गाउँलेको कानमा परेको हो, तर त्यो गणतन्त्र त्यहाँको कुन गुफामा ध्यानस्थ छ, कहिले मुक्तिको सन्देश प्रवाह गर्ने हो, धनुषा लोहारट्टीका बासिन्दालेझैँ यहाँका बासिन्दाले चाल पाएका छैनन् ।

कापुची गाडबाट उठेका पहाड अपि र साइपाल हिमाललाई हेर्न ठडिएका थिए । पाथाबाट हिँडेको दिन क्षेत्तीमा देवेन्द्र भाइकहाँ खाना खाने र धरमघर भन्ने खर्कमा यार्सालुले बनाएको तारपोलिनको छाप्रोमा बास बस्ने योजना थियो ।

उपत्यका फराकिलो हुँदै गयो । घाजिर गाउँको स्वागतद्वारमा पुग्यौँ । समुद्र सतहदेखि २ हजार ८०० मिटरको उचाइमा रहेको घाजिर कापुची गाडनजिक रहेको छ । गाउँ २ पहाडको चेपमा छ । घाजिरको फाँट साँच्चिकै लोभलाग्दो छ । यसले चुम र नार उपत्यकासँग प्रतिस्पर्धा गर्न खोज्छ । उचाइको हिसाबमा यो उपत्यका चुम र नारभन्दा होचो छ । २०८१ वैशाख २५ गते घाजिर पुग्दा गाउँभन्दा केही माथि रहेको फाँटमा लामा बाला सहितको हरियो जौ लहलह झुलेको थियो ।
घाजिरको उकालो चढेपछि हामी क्षेत्तीको फाँटमा पुग्यौँ । त्यो पनि त्यत्तिकै लामो र फराकिलो रहेछ । यी मुख्य हिमालयको नजिक दक्षिण काखमा रहेका उपत्यका हुन् जो मध्यपहाडभन्दा उत्तरमा पर्दछन् । उचाइ भूगोलको आधारमा ३ हजार मिटरको सेरोफेरोमा छन् । घाजिर र क्षेत्ती शुर्मा भवानीको विशेष आशीर्वाद प्राप्त दार्चुलाको पूर्वोत्तरमा रहेका २ अन्तिम गाउँ हुन् । शुर्मा देवी यी २ गाउँकी इष्टदेवी, कुलदेवी हुन् । शुर्मा देवीकै संरक्षण, पालनपोषणमा दार्चुलाका यीसहित समग्र दार्चुला र बझाङका गाउँ रहेका छन् । गाउँका बासिन्दाको पूर्ण विश्वास त्यही छ । हरेक वर्ष साउन पूर्णिमाभन्दा पहिले घाजिर र क्षेत्तीमा शुर्मा देवीको ठूलो जात्रा उत्सव प्रारम्भ हुन्छ । घाजिरमा धामी र मुडण्या तथा क्षेत्तीमा बोहोरा र ठाकरे थर भएका हिमाली खस क्षेत्री जातिको बसोबास रहेको छ ।

यी दुवै गाउँमा हरेक वर्ष नियमित र ३–३ वर्षमा शुर्मा देवीको ठुलो जात्रा महोत्सव लाग्छ । दसैँ, तिहारजस्ता हिन्दु संस्कृतिसँग सम्बन्धित अन्य पर्व मनाइए तापनि शुर्मा भवानी जात्रा यहाँको सबैभन्दा ठुलो पर्व हो । यसभन्दा पहिले उल्लेख गरेझैँ दार्चुलाको यो उपल्लो हिमाली गाउँमा बस्ने सबै खस क्षेत्री हुन् । यहाँको नजिकको इतिहास वि.सं. १००० तिर तानिएको छ ।

त्यसभन्दा पुरानो इतिहासतर्फ ध्यान दिने हो भने कम्तिमा कपिल, सिद्धार्थ गौतम बुद्ध, रामायण र महाभारतकालसम्म त सहजै पुग्न सकिन्छ । हामी हिँडदै गरेको हिमालय पर्वत शृंखला अपि र नाम्पा हिमशृंखला हो । हामी अपि (७ हजार १३२ मिटर) र नाम्पा (६ हजार ६११ मिटर) को आधार शिविर (४ हजार २०० मिटर) पुगेर फर्केका थियौँ । क्षेत्तीको नजिकै हामीसँगै कापचुली हिमाल (६ हजार ४६८ मि.) उभिएको छ । हामीभन्दा केही पूर्वोत्तरमा बझाङमा साइपाल हिमाल (७ हजार ३० मिटर) र ६ हजार मिटरमाथिका थुप्रै चुचुरा रहेका छन् । अपि र सैपालको बीचमा पश्चिम सेती नदी रहेको छ । चैनपुरको उत्तर, यी २ हिमशृंखलाको बीचमा नेपाल–चीन सीमामा अति प्राचीनकालदेखि सञ्चालनमा रहेको उरै नाका छ । यसको उचाइ ५ हजार २०७ मिटर रहेको छ ।

इतिहाससँग जोडन यो प्रसंग ल्याएको हुँ । तिब्बतमा रहेको ताक्लाकोट खससाम्राज्यको बेला विकसित व्यापरिक केन्द्र हो । अहिले पनि यो केन्द्र नेपालको दार्चुला, हुम्ला र बझाङको सीमा क्षेत्रमा बस्ने बासिन्दाको मुख्य व्यापारिक केन्द्र हो । यो मानसरोवर र कैलासदेखि नजिकै छ । दार्चुला र बझाङका थपना, मन्दिर, माडु (मठ)मा मानसरोवरको पानी ल्याएर पूजा गर्ने चलन छ । यो चलन बुद्धभन्दा पहिलेका साङ्ख्य दर्शनका प्रणेता कपिल मुनिभन्दा पहिले प्रकृतिपूजाको समयदेखि भएको हो । रेसममार्गको प्रारम्भदेखि त मानसरोवर, ताक्लाकोट, उरै, चैनपुर, धनगढी हुँदै हरिद्वार, वनारससम्म व्यापारिक र तीर्थयात्रा भएको पुराण कथामा पाइन्छ । आज भोटेखम्पाको रूपमा आदिबासी जनजातिमा उल्लेख गरिएका जाति पुराना घुमन्ते व्यापारी जाति हुन् जो आज पनि यी उपत्यकामा फिरन्ते जीवनशैली अपनाएका छन् । भोटे खम्पाको संस्कृतिमा प्रकृतिपूजा, बोन, शैव, शाक्त, बौद्ध परम्परा मिश्रण भएको पाइन्छ । मैले त्यसजातिलाई हुम्लाको मुचु र यालबाङमा भेटेको पनि छु ।

सुदूर पश्चिममा पर्ने, राज्यले बेवास्ता गर्ने र घनगढीदेखि टाढा पर्ने भएकाले उरै भञ्ज्याङ नाका कम चर्चा भएको हो तर यसको सांस्कृतिक, धार्मिक, व्यापारिक, कूटनीतिक महत्व भने अत्यधिक छ । यस क्षेत्रका बासिन्दाको सांस्कृतिक र व्यापारिक धड्कन नै हो । क्षेत्ती वरपर हिँडदै गर्दा नजिकै रहेको उरै नाकालाई मैले टाढैबाट नमन गर्न यो प्रसंग यहाँ जोडेको हुँ । कुनै दिन धनगढी–दिपायल–चैनपुर–उरैभन्ज्याङ भएर ताक्लाकोट, मानसरोवर र कैलासको यात्रा सहज बनाउन नसकिने होइन । नेपालले चीनसँग गम्भीररूपमा पहल गर्ने हो भने चैनपुरदेखि उरै नाका सडकमार्ग जोडन ३ वर्ष पनि लाग्दैन । तर निदाएको सिंहदरबार र धनगढीलाई कसले ब्युँझाउने ?

शुर्मादेवीको जात्रामा सबैभन्दा पहिले घाजिरमा अन्यत्रबाट आएका पाहुनालाई स्वागत गरिन्छ । उनीहरूको खाने र बस्ने व्यवस्था घाजिरमा नै हुन्छ । क्षेत्तीमा प्रवेश गर्न दिइँदैन । यहाँ मुख्य पुजारी धामी हुन्छन् । धामीको जोखानाबमोजिम कुनै समयमा बाहिरबाट त्यहाँ पुगेका यात्रीलाई प्रवेशाज्ञा नहुन पनि सक्छ । त्यसो भएमा यात्रीहरू फर्कनुपर्ने हुन्छ । धामीको स्वीकृतिपछि भने यात्रीलाई क्षेत्तीमा स्वागत गरिन्छ । त्यसैले शुर्मादेवी जात्राको मुख्य केन्द्र घाजिर गाउँ बन्न पुग्यो ।

जात्राको समयमा व्रत बस्नुपर्छ । त्यस बेला लसुन, प्याज र मासु बन्देज गरिएको हुन्छ । तोकिएको दिनमा धामी र झाँक्रीको आदेशअनुसार शुर्मादेवीको जात्राको यात्रा शुर्मा सरोवरको लागि तय हुन्छ । शुर्मा भवानीको वासस्थान बझाङमा पर्ने शुर्मा हिमालयको काखमा ४ हजार २०० मिटरको उचाइमा शुर्मा सरोवरमा रहेको छ । क्षेत्ती र घाजिरमा शुर्मादेवीको गुठी रहेको छ जुन स्थानीयले स्थापना गरेका हुन् ।

क्षेत्तीबाट सुरु भएको जात्रा धेरै कठिन, हिमालयको अग्लो भञ्ज्याङ पार गरेर एक छाक शुद्ध खाना खाएर गरिन्छ । पैदल यात्रा गरी त्यहाँ पुग्न ३ दिन लाग्छ ।
त्यो बिहान हामीले क्षेत्तीमा देवेन्द्रको घरमा खाना खायौँ र अगाडि बढ्यौँ । क्षेत्तीपछि भने हामी मुख्य हिमालको फेदतिर प्रवेश गरेका थियौँ । त्यो यस भेगको अन्तिम गाउँ हो । एकपटक बाटोमा करवीरले भनेका थिए, ‘क्षेत्तीमाथि गाउँ नाई, नङमाथि मासु नाई ।’

क्षेत्तीपछि तेर्पाए उकालो हुँदै अन्नि खान पुग्यौँ । अन्नि खाना भनेको क्षेत्तीबाट जात्रामा शुर्मादेवीको थानमा जाँदा अर्नी खाने ठाउँ हो । अर्नी खाने ठाउँ भन्दाभन्दै त्यो ठाउँको नाम अन्नि खान भयो । अर्नी भनेको खाजा हो भने खान भनेको भञ्ज्याङ, लेक हो । हामी पनि त्यस अन्नि खानमा बसेर पानी पियौँ । चकलेट र बिस्कुट खायौँ । एउटा पहिरो हुँदै ३ हजार ३०० मिटरमा उक्लेपछि अन्नि खानमा पुगेका थियौँ । त्यसपछि भने खोलाको तिरैतिर उकालो लाग्यौँ अनि बल्ल ढकमक्क भएर फुलेको चिमालको वन भेटेका थियौँ ।

चिमालको वन एउटा चट्टाने पर्वतवरपर रहेको छ । पर्वतको दुईतिरको धारको बीच साँघुरो भिरालो खोँच परेको, बर्खामा पानी बग्ने र हिउँदमा हिउँ जम्ने लामो होचो भाग छ । त्यही खोँच भएर उक्लनुपर्ने रहेछ । दुवैतिरबाट झरेका पत्रे चट्टानका पातलो चिप्लो ढुंगा त्यो खोँचभरि छिरलिएका देखिन्थे । त्यो खोँचभरि बटारिएका, लम्पसार परेका र बांगिँदै उठेका लामा, अग्ला तर खिरिला चिमालका बोट थिए । त्यो खण्ड पार गर्ने बेला पर्वतको थाप्लोमा हिउँ जमेको थियो । चिप्लोमा चिमालका जरा, भुइँमा सुतेको हाँगाले डोरीको काम गर्यो । त्यो खण्डको करिब ४०० मिटर चट्टान आरोहणकै शैलीमा जरा समात्दै चढ्यौँ । त्यसको पहिलो थाप्लो ३ हजार ८०० मिटरमा रहेको छ । त्यसलाई मार्माधर पनि भनिन्छ । त्यहाँबाट उचाइतिर उचालिएको वृक्षहीन ठाडो पखेरो देखियो । बादल धुम्म तलैसम्म ओर्लेको थियो । करिब १०० मिटर चढेपछि नाङ्गो खर्क भेटियो । त्यसको अर्को पखेरामा तारपोलिनका छाप्रोहरू देखिए ।

वरपरका अग्ला चुचुरा ६ हजार मिटर माथिका थिए । त्यस पखेरालाई भने ५ हजार ५०० मिटरका पहाडले सुरक्षा दिएजस्तो गरी उभिएका देखिन्थे । साँझ हलुका पानी पर्यो । पातलो हिउँ खस्यो । त्यो रात हामी किडा हेद्दे मान्सु (यार्सागुम्बा खोज्ने मानिस)को छाप्रोमा बस्ने कुरा बिहानै तय भएको थियो । क्षेत्तीतिरका किसानले छाप्रो बनाएर अर्को सातादेखि बस्ने गरी थप खाद्यान्न लिन गाउँ फर्केका थिए । त्यहाँ रहेका सबै पालमा कम्बल, भाँडाकुँडा, दाउरा, चामल, तेल, नुन थियो । यथार्थमा पाल टाँगेको ठाउँ वृक्षहीन वर्षामा हरियो र पोसिलो घाँस र जडिबुटी उम्रने भेडी खर्क हो । तर त्यसको नाम जात्रामा जाने तीर्थयात्रीले धरमघर राखेका रहेछन् ।

एक समय भेडागोठालोले तीर्थ यात्रीलाई आफ्नो गोठमा बास बस्न र खान दिएर आपूm तल्लो ओडारमा बस्न गएका रहेछन् । गोठालोले यात्रीलाई बास दिएर धर्म गरेकाले त्यसको नाम धरमघर भएको कुरा हाम्रा भरिया मित्र करवीर रोकायाले भनेका थिए । उज्यालोमा हामीले न्यानोको लागि हावा नछिर्ने साँघुरो पाल छान्यौँ । स्लिपिङ ब्याग झिकेर ठिक पार्यौँ । टर्चलाइट झिक्यौँ ।

साँझ देवेन्द्र र करवीरले अर्को पालमा दाउरा बाले । नजिकैको खोल्साबाट पानी ल्याएर तताए । हामीसँग क्षेत्तीबाट ल्याएको तरकारी थियो । त्यसैसँग चिउरा भिजाएर पाथा गाउँमा खाएको तल्ती (तीते फापर)को मिठो रोटी सम्झँदै खायौँ । खाना मिठो थिएन तर पनि पेट भर्नुपर्ने बाध्यता थियो । भर्यौँ ।

राति क्षणभर पानी पर्यो । साँघुरो पाल भएकाले चिसो भएन । त्यसबेला हामी ३ हजार ९०० मिटरको उचाइमा रहेको वृक्षविहीन पखेरोमा सुतेका थियौँ । हामीभन्दा केही तल चिमालको वन थियो र त्यसभन्दा तल्लो भागमा सानो सर्कला सिंह खौला र गाड थियो । पश्चिमतिर कापचुली पश्चिमको पखेरो र खाँडीचाक डाँडा थिए । धरमघरको पखेरो त्यस्तै ५५ डिग्रीमा ढल्केको हुँदो हो, ठाडो देखिन्थ्यो ।

पखेरा र खोलाको चिस्यानवरपर जमिनमा नै टाँसिएका सयतोली, सुनकल (नीलो र कलेजी रङमा फुल्ने पूmल । त्यसको धूप बाल्न मिल्नुका साथै जराको चिया पिउन मिल्छ) र स्वाँ (एक प्रकारको प्राइमुला) पूmलहरू उकालिँदै गर्दा देखिएका थिए । पारिपट्टि होचो तर सुन्दर निसानी झरना झरेको थियो । राति सामान्य हिउँ परेकै भए पनि पाल समथर ठाउँमा भएको हुनाले पहिरोको डर थिएन । रात चकमन्न भयो । आकाशमा बादल मडारियो । धरमघरको पखेरालाई उज्यालो पार्ने गरी तारा चम्केको भए तीनतारेसँग भलाकुसारी गर्ने योजना बुनेको थिएँ । बादलले मौका दिएन । त्यसैले ढुंगामाथि कम्बल राखेर सिरानी हालेँ । शुर्मा भवानीलाई निद्रादेवीलाई पठाइदिन अनुरोध गरेँ । सुरक्षाको लागि उत्तरी कुनोमा ठुल्दाइ हिमचितुवा बसेका थिए । अन्य संकट पर्दा ब्यँुझाइदिने हिमभँगेरा नजिकै थिए । त्यसैले ढुक्क भएर हामी सबै यात्री लम्पसार पर्यौँ किडा हेद्दे मान्सुको छाप्रोमा ।

समुद्र सतहदेखि ३ हजार ९०० मिटरको उचाइमा किडा हेद्दे मान्सुको होचो पालमा रात बित्यो । रातिको पानीले पखेरो लुछुप्प भिजेर लज्जालु भएछ । पूmलको थुंगामा शीत थपक्क बसेको थियो । हिमाली चिसोको महक थियो । कुहिरोको बर्की ओढेर सुतेको हिमालको तल्लो काँठ ब्युँझेको थिएन । बाक्लो बादलमाथि उभिएका ताजा सेतो हिउँ पहिरेका अग्ला चुचुराले बिहानीको हाम्रो गतिविधि आँखा नझिम्क्याई नियालेका देखिन्थे ।

हामीले तातोपानीमा जौको सातु घोल्यौँ । बिस्कुट चोप्यौँ । कफी पियौँ । त्यो दिन अपि–नाम्पादेखि सैपाल शृंखलाको दक्षिण काख छिर्ने बाटोमध्येको सबैभन्दा कठिन खण्ड पार गर्नुपर्ने थियो । कठिन यस कारणले कि त्यसै दिन यात्राको प्रारम्भ ३ हजार ९०० मिटरदेखि हुन्थ्यो भने ४ हजार ५०० भन्दा माथिका दुई खान (धुरी, भञ्ज्याङ) नाघ्नुपर्ने थियो । ती धुरी एउटै हिमशृंखलामा थिएनन् । एउटा नाघेपछि फेरि अर्को पर्वतको फेद (३ हजार ९०० मि.)मा भिरको पखेरो ओर्लेर पुनः ४ हजार ५०० मिटर चढ्नुपर्ने थियो । त्यसैले ६ बजे नै उकालिए पाइला कापचुली हिमालको मन भरिने गरी दृश्यावलोकन गर्न ।

चढ्दै गरेको पखेरो ५ हजार मिटरसम्म उठेको थियो । त्यस पखेरामा ४ हजार ५०० मिटरसम्म यार्सागुम्बा खोज्ने यार्सालुका पाल देखिएका थिए । अपि उपत्यकाको तुलनामा त्यस खण्डमा समथर भूभाग छैन । किडा खोज्ने पखेरा पनि साँघुरो, भिरालो र कोप्चो परेका छन् । यार्सागुम्बा पाइने जस्तो पखेरा कम थिए । राति परेको हिउँ अघिल्लो साँझभन्दा १०० मिटर तल झरेको थियो । हामी उकालो चढ्दै गर्दा किडा हेददे मान्सुका तारपोलिनका छाप्राले मन्द हावाको गतिसँगै फरफराउँदै हामीलाई ‘शुभ यात्रा’ भनेका थिए ।

प्रतिक्रिया