पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौं । प्रहरीले पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न नपाउने भएको छ । बिहीबार उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता दिएको छ ।

न्यायाधीशहरू टंकप्रसाद गुरूङ र टीकाराम आचार्यले पाठकलाई पक्राउ नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

‘निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवेदकलाई पक्राउ नगर्नू–नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम यस अदालतबाट मिति २०८२–०३–०२ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ, आदेशको जानकारी विपक्षीहरूलाई दिनू,’ आदेशमा भनिएको छ ।

पत्रकार पाठकविरूद्ध जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । पाठकले हिल्टन होटल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई जोडेर भिडिओ रिपोर्ट सार्वजनिक गरेका थिए । ‘टफ टक’ नामक युट्युब च्यानलमार्फत झन्डै चार साता अघि पाठकले उक्त भिडिओ सार्वजनिक गरेका थिए ।

त्यसविरूद्ध उजुरी परेपछि ब्युरोको आग्रहमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला अदालतले कार्यक्षेत्रबाहिर गएर पक्राउ पुर्जी जारी भएको भन्दै विरोध पनि भएको थियो । अब पत्रकार पाठकले दायर गरेको मुद्दा नटुंगिदासम्म प्रहरीले उनलाई पक्राउ गर्न पाउने छैन ।

प्रतिक्रिया