जिडिपीको ४३ प्रतिशतभन्दा बढी पुग्यो सार्वजनिक ऋण

साँवा र व्याज गरी ३ खर्ब २९ अर्ब भुक्तानी, २६ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ तिर्न बाँकी

काठमाडौँ । नेपालको अर्थतन्त्रको आकारको अनुपातमा नेपालले तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४३ दशमलव ४७ प्रतिशत पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठसम्ममको तथ्यांकअनुसार सरकारले तिर्न बाँकी सार्वजनिक ऋण जिडिपीको ४३ दशमलव ४७ प्रतिशत पुगेको हो ।

यसमध्ये आन्तरिक ऋण जिडिपीको २२ दशमलव ३१ र बाह्य २४ दशमलव २३ प्रतिशत छ । यस अवधिसम्म सरकारको तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँ तथा बाह्य ऋण भने १३ खर्ब ८२ अर्ब १२ करोड रुपैयाँ छ । कुल सार्वजनिक ऋणमा जेठ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव शून्य ६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ९४ प्रतिशत रहेको कार्यालयले जनाएको छ । गत १ साउनसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र वाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड थियो ।

११ महिनामा २ खर्ब २० अर्ब थप

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठसम्ममा सार्वजनिक ऋण २ खर्ब २० अर्ब ५८ करोड रुपैयाँ थपिएको हो । योसँगै जेठमसान्तसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । २०८१ साउन १ सम्म २४ खर्ब ३४ अर्ब ९ करोड तिर्न बाँकी ऋण रहेको थियो ।

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा ११ महिना अर्थात जेठ मसान्तसम्ममा ४ खर्ब १४ अर्ब १९ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको आधारमा कुल सार्वजनिक ऋण प्राप्ति ७५ दशमलव ७२ प्रतिशत छ । यस अवधिमा सरकारले ३ खर्ब १४ अर्ब ९९ करोड आन्तरिक ऋण तथा ९९ अर्ब २० करोड बाह्य ऋण प्राप्ति गरेको छ । जसमा आन्तरिक ऋण प्राप्ति लक्ष्यको ९५ दशमलव ४५ प्रतिशत तथा बाह्य ऋण प्राप्ति लक्ष्यको ४५ दशमलव ७२ प्रतिशत रहेको छ ।

साँवा र व्याज गरी ३ खर्ब २९ अर्ब रकम भुक्तानी

चालु आर्थिक वर्ष २०८१–०८२ मा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब वार्षिक बजेट रहेकोमा जेठ मसान्तसम्म ३ खर्ब २९ अर्ब ६० करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ८१ दशमलव ८२ प्रतिशत हो । कुल ग्राहस्थ उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ५ दशमलव ४ प्रतिशत हो ।


चालु आवको ११ महिनामा सरकारले २ खर्ब ७७ अर्ब ७३ करोड आन्तरिक ऋण तथा ५१ अर्ब ८७ करोड बाह्य ऋणको दायित्व घटाएको छ । जेठ मसान्तसम्म साँवा भुक्तानीमा २ खर्ब ६६ अर्ब ६५ करोड र ब्याज भुक्तानीमा ६२ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट र वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड ऋण जुटाइने बजेटमा उल्लेख छ । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । अर्धवार्षिक बजेट समीक्षामार्फत सरकारले बजेटको आकार झण्डै १० प्रतिशतले घटाएको छ ।

प्रतिक्रिया