सुदूरपश्चिममा कृषि बालीको उत्पादन बढ्यो

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा प्रमुख कृषि बालीको उत्पादन बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययनको अर्ध–वार्षिक प्रतिवेदन अनुसार प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला) को उत्पादन २ दशमलव २६ प्रतिशतले बढेको हो । उत्पादन बढे पनि यस्ता बालीले ढाकेको भू– क्षेत्रमा भने २ दशमलव ८५ प्रतिशतले ह्रास आएको छ ।

सुदूरपश्चिम प्रदेशको प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी दलहन उत्पादन १७ दशमलव शून्य १ र धानको उत्पादन ५ दशमलव शून्य ९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, तरकारी उत्पादन ९ दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ, भने अन्य फलफूलको उत्पादन २३ दशमलव १६ प्रतिशतले बढेको छ । पशुजन्य उत्पादन अन्तर्गत दूध १० दशमलव ७३ प्रतिशत, मासु ६ दशमलव ३० प्रतिशत र अण्डा ३ दशमलव शून्य ६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा काठ, दाउरा र औषधिजन्य उत्पादन क्रमशः ११ दशमलव ५४ प्रतिशत, ३३ दशमलव ७५ प्रतिशत र १७ दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा सुदूरपश्चिम प्रदेशमा कुल सिँचित क्षेत्रफल २ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वृद्धिदर ३ दशमलव ३२ प्रतिशत रहने

चालु आर्थिक वर्ष २०८१–०८२ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३ दशमलव ३२ प्रतिशत र आधारभूत मूल्यमा २ दशमलव ७१ प्रतिशत रहने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययनको अर्ध–वार्षिक प्रतिवेदनअनुसार आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धिदर २ दशमलव ८ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर २ प्रतिशत र तृतीय क्षेत्रको वृद्धिदर २ दशमलव ९ प्रतिशत रहने अनुमान गरिएको छ ।

समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १० दशमलव ६८ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ । आव २०८०–०८१ को असार मसान्तको तुलनामा समीक्षा अवधिमा कुल कृषि कर्जा शून्य दशमलव ९७ प्रतिशतले ह्रास भएको छ । समीक्षा अवधिमा प्रदेशका अध्ययन नमुनामा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ३५ दशमलव ७९ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनमध्ये समीक्षा अवधिमा इँट्टाको उत्पादन वृद्धि भएको छ भने अन्य वस्तुहरूको उत्पादनमा ह्रास आएको छ ।

प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १६ दशमलव ४८ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ । औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा १ दशमलव ३२ प्रतिशतले घट्न गई २५ अर्ब २६ करोड ४५ लाख पुगेको छ ।

पर्यटकस्तरीय १० नमुना होटलहरूको तथ्यांक अनुसार पर्यटकको आवागमनमा १८ दशमलव ५५ प्रतिशतले गिरावट आएको देखिन्छ । घरजग्गा रजिस्ट्रेसन संख्या ५ दशमलव ३१ प्रतिशतले घटेको छ भने रजिस्ट्रेसन राजस्व २६ दशमलव ५७ प्रतिशतले बढेको छ ।

यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको आर्थिक वर्ष २०८१–०८२ को पुस मसान्तसम्मको निक्षेप २०८१ असार मसान्तको तुलनामा ३ दशमलव १३ प्रतिशतले घटेको छ भने कर्जा प्रवाह शून्य दशमलव २७ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा यस प्रदेशमा कुल ११ हजार ३९८ यातायातका साधन दर्ता भएका छन् । समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूले कुल कर्जाको ७२ दशमलव ८४ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाहित गरेका छन् ।

नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१–०८२ अनुसार २०८१ फागुनसम्म सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय औसतभन्दा न्यून ८६ दशमलव ६० प्रतिशत जनसंख्यामा मात्र विद्युतको पहुँच पुगेको छ । सोही अवधिसम्म कुल राष्ट्रिय विद्युत् उत्पादनमा यस प्रदेशको योगदान १६७ मेगावाट मात्र रहेको छ ।
समीक्षा अवधिसम्म रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति ७६ दशमलव १५ प्रतिशत र वित्तीय प्रगति ७४ दशमलव ४० प्रतिशत रहेको छ । महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत र वित्तीय प्रगति पनि ३५ प्रतिशत रहेको छ । त्यसैगरी, महाकाली पुल आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत र वित्तीय प्रगति ९२ दशमलव ५ प्रतिशत रहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजन भएको बजेटमध्ये समीक्षा अवधिमा २१ दशमलव ९० प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ विनियोजन भएको बजेट मध्ये ९ दशमलव ९७ प्रतिशत खर्च भएको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गतका ९ वटै जिल्लाहरूको स्थलगत तथा गैरस्थलगतरूपमा अध्ययन गरी आर्थिक वर्ष २०८१–०८२ को अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया