रोङका ७२ भूमिहीनलाई लालपुर्जा वितरण

इलाम । इलामको रोङ गाउँपालिका–१ शान्तिपुरका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
वर्षौंदेखि बसोबास गर्दै आएका शान्तिपुरका ७२ अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको भूमि समस्या समाधान आयोग इलाम अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । भूमि समस्या समाधान आयोगले रोङ गाउँपालिकासँग समन्वय गरेर लालपुर्जा वितरण गरेको अध्यक्ष अधिकारीले बताए ।

भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले भूमिहीन दिलबहादुर सुब्बालाई लालपुर्जा हस्तान्तरण गरेर लालपुर्जा वितरण कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा आयोगका केन्द्रीय सदस्य एवं कोसी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईं, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा आयोगले शान्तिपुर पुगेर भूमिहीनलाई लालपुर्जा वितरण गरेको हो ।

रोङ गाउँपालिकामा २१२ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिएकोमा १५० जनाको निर्णय भएको अध्यक्ष अधिकारीले बताए । जसमध्ये ७२ जनाले लालपुर्जा पाएका छन् । बाँकी ७८ जनाको पनि क्रमिक रूपमा नियमअनुसार नै लालपुर्जा वितरण गरिने उनले बताए ।
‘हामी जतिसक्दो चाँडो भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गाको धनी बनाउन लागिपरेका छौँ’, अध्यक्ष अधिकारीले भने, ‘हामीले पाएको जिम्मेवारीअनुसार जनताको अपेक्षा पूरा गर्ने कोशिस गरिरहेका छौँ । असार मसान्तसम्म करिब ७०० जनालाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको छ ।’

रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन भूमि समस्या समाधान आयोगसँगको समन्वयमा काम गरिरहेको बताए ।

रोङ गाउँपालिकाभरीबाट १ हजार ८६० जनाको आवेदन परेको छ । १ वर्षभित्र सबैलाई लालपुर्जा वितरण गरिसक्ने गरी काम गर्न पालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए ।

इलाममा २२ हजार २४० जनाको निवेदन दर्ता भएको भूमि आयोग इलामले जनाएको छ । जसमध्ये २१० भूमिहीन दलित, ९१० भूमिहीन सुकुम्बासी २१ हजार १३० अव्यवस्थित बसोबासीले निवेदन दर्ता गराएको भूमि आयोग इलाम अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया