काठमाडौँ । पछिल्लो समय इरान र इजरायलबीचको युद्ध चर्किंदै गएपछि सरकारले मध्यपूर्वका कुनै पनि देशको यात्रा नगर्न ‘टाभल एड्भाइजरी’ जारी गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै २ देशबीचको युद्धका कारण उत्पन्न परिस्थतिलाई मध्यजनर गर्दै हालको अवस्थामा इजरायल र इरानसहित मध्यपूर्वका कुनै पनि देशमा वैदेशिक रोजगारी वा भ्रमणका लागि नजान आग्रह गरेको हो ।
परराष्ट्रले जारी गरेको एड्भाइजरीमा भनिएको छ, ‘इजरायल र इरानबाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा स्थगित गर्नुहुन जानकारी गराइन्छ ।’ सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउनुपर्ने वर्तमान अवस्थालाई ध्यान दिई हाल इजरायल तथा इरानमा रहेका र नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा यात्रा गर्ने योजनामा रहेका नेपाली नागरिकलाई लक्षित गरेर यात्रा जानकारी जारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैबीच, इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपाली नागरिकको उद्धारका लागि नाम दर्ता सुरु गरेको छ । दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई उद्धार वा स्वदेश फर्किनुपर्ने भएमा नाम दर्ता गराउन सूचना जारी गरेको हो । इजरायल र इरानबीच युद्ध चर्किएपछि इजरायलमा रहेका करिब ७ हजार र इरानमा रहेका १ दर्जन नेपाली जोखिममा छन् ।
दूतावासले सार्वजनिक सूचना जारी गर्दै उद्धार तथा फिर्तीका लागि इच्छुक नेपाली नागरिकलाई अनलाइन फारम भरी आफ्नो विवरण दर्ता गर्न अनुरोध गरेको छ । दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्या÷त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ ।’
यस प्रक्रियामार्फत् नागरिकको अवस्थाबारे आवश्यक जानकारी संकलन गरिनेछ भने त्यसका आधारमा उद्धार तथा फिर्तीको योजना बनाइने बताइएको छ । साथै, दूतावासले आवश्यक सहयोगका लागि सम्पर्कमा रहन सबै नेपालीलाई आग्रहसमेत गरेको छ । त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यहाँ रहेका नेपाली श्रमिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि कूटनीतिक नियोगलाई आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालयसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्करको संयोजकत्वमा बुधबार बसेको सरोकारवालाको बैठकले इजरायल, इरान र प्रभावित छिमेकी मुलुकमा रहेका नेपालीलाई आवश्यकतानुसार राहत, उद्धारदेखि स्वदेश फिर्ता ल्याउनुपर्ने अवस्थाको तयारी र तेस्रो मुलुकको ट्रान्जिट प्रयोग गर्नुपर्ने भएमा छिमेकी देशसँग समन्वय गरी उद्धारका लागि पहल गर्ने निर्णय गरेको छ ।
बैठकले परराष्ट्र मन्त्रालयको सहसचिवको संयोजकत्वमा रहेको श्रम आप्रवासन तथा वैदेशिक रोजगार समस्या समाधान कार्यदललाई आपतकालीन प्रतिकार्य टोलीका रूपमा समेत काम गर्ने गरी परिचालन गर्न सिफारिस गरेको छ ।
प्रतिक्रिया