रुकुमपश्चिम । कागजमा योजना सम्पन्न देखाएर बजेट निकासा गरिए पनि आठबिसकोट नगरपालिका–९ राडी बजारका स्थानीयको धारामा भने खानेपानी आएको छैन । बजार नगरपालिकाको प्रशासनिक केन्द्रका रूपमा रहे पनि खानेपानीको भने हाहाकार छ । बजार क्षेत्रका लागि भनेर खानेपानी योजना पनि आयो । तर, कागजमै सीमित रह्यो । योजना बने पनि स्थानीयका घरका धारामा भने अहिलेसम्म पानी झरेको छैन । ‘एक घर एक धारा’को लागि आठबिसकोट–१२ स्थित तातोपानी मुहानबाट पुल बजार, सिमबजार खानेपानी नामक आयोजनाबाट २०७८÷०७९ मा निर्माण कार्य सुरु गरेर पनि सकियो । तर ३ वर्ष बितिसक्दा धारामा पानी झरेको छैन ।
खानेपानी योजनाको लागि आएको ६६ लाख रुपैयाँ कागजमा सकियो । तर खानेपानी कहिले आउँछ ? भन्नेसमेत टुंगो छैन । खानेपानीको मापदण्डअनुसार न त पाइप गाडिएको छ, न पानी उपभोक्तासम्म पुगेको छ ! संरचना नै नभएको यो योजनामा उपभोक्ता समितिले चरम अनियमितता गरेको प्रष्ट देखिन्छ । खानेपानी निर्माणको लागि २०७८ सालबाट निर्माण कार्य सुरु भएको थियो ।
निर्माण सुरु भएदेखि सम्पन्न भइसक्दासम्म बजार क्षेत्रमा पाइपलाइन लथालिङ अवस्थामा छन् । अझ रोचक के छ भने, उक्त आयोजनाको रकमसमेत भुक्तानी भइसकेको छ । खानेपानी कार्यालय, रुकुमपश्चिममा खानेपानी आयोजना सपन्न भएको प्रतिवेदन छ । खानेपानी कार्यालयको गैरजिम्मेवार कार्यले कागजमा मात्रै खानेपानी योजना निर्मान भएको बुझिएको छ ।
यसबारेमा वडा–९ का अध्यक्ष जनकबहादुर बटालाले भने, ‘स्थानीय पानीको चरम अभावमा छन् । खानेपानीको कार्यालयमा धारामा पानी आएको प्रतिवेदन छ । कार्यालय र उपभोक्तालाई हामीले पटक–पटक ताकेता गर्यौं । तर अटेरीले गर्दा निर्माण कार्यमा प्रगति हुन सकेन । उनले थपे, ‘स्थानीय जनताले पाएको सास्तीप्रति हामी संवेदनशील छौँ । अब कार्यालय र उपभोक्ताले खानेपानीको धारा बनाउँछौँ, भनेका छन् । यसपटक पनि नबनाए कानुनन बमोजिम कारबाही अगाडी बढ्छ ।’
३ वर्ष भयो, पाइप तानिएको छ तर पानी आएको छैन । नेताहरू चुनावमा आउँदा मात्रै वाचा गर्छन्, पछि सबै बिर्सने गरेको स्थानीयको आरोप छ । खानेपानी कार्यालयका प्रमुख ताराकेशर वाग्ले भन्छन, ‘म कार्यालयमा सरुवा भएर आएको भर्खरै हो । यसअघिका आयोजनाहरू सबै सम्पन्न भएको तथ्यांकमा देखाउँछ । तर यो आयोजनामा धारा बनेको छैन । भन्ने रिपोर्ट आएपछि मैले उपभोक्तासँग बुझ्दा कागजमा मात्रै धारा निर्माण भएको पाइएको छ तुरन्तै खानेपानीको धारा सञ्चालन गर्न उपभोक्तालाई निर्देशन दिइएको छ ।’
यसमा उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा निर्माण कार्य सकेर धारा निर्माण भइसकेको झुटो विवरण पेस गरिएको छ । स्थानीय भने, उक्त आयोजनामा कति रकम आयो, कहाँ छन् यसका संरचना भन्नेमा बेखबर छन् । उपभोक्ता गगन खत्रीले भने, ‘रकम गोजीमा हालियो, आँखामा छारो हालेर बनेका केही संरचना पनि जीर्ण भइसके आयोजना सम्पन्न भने हुन सकेको छैन । हामीले खानेपानीको आस गरेर ३ वर्ष पर्खियौँ अहिले समुदाय मिलेर आफ्नै निजी लगानीमा पानी खाइरहेका छौँ ।’
६६ लाख बजेट र ३३ लाख रुपैयाँको श्रमदान लागत अनुमान गरेको यो आयोजनाको संरचना र पाइपहरू कहाँ छन् कसैलाई पत्तो छैन । योजनाबाट ४०० घरका ५ हजार बढी लाभान्वित भएको सरकारी अधिकारी बताउँछन् । तर, यो आयोजना कागजमा मात्रै काम सम्पन्न भएको स्थानीयको भनाइ छ । खानेपानी कार्यालयले आयोजना बनिरहेको दाबी गरेको छ । तर पाइपहरूसमेत सडकमाथि लथालिंग छन् भने धारा कता छन भन्ने पत्तो छैन । उपभोक्ता समितिका अध्यक्ष प्रेम शाही भन्छन्, ‘हामीसँग निर्माणका लागि सामग्री अभाव भयो । फेडल गरेर छोडेको छ । थप निर्माण सामग्री माग गरेका छौँ । केही दिनमै घरघरमा खानेपानी पु¥याउँछौँ ।’
रुकुम पश्चिम
प्रतिक्रिया