काठमाडौं । वायु प्रदूषण नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारण बनेको बताउँदै विश्व बैंकको नयाँ प्रतिवेदनले यस समस्यालाई समाधान गर्न सबै क्षेत्रमा मिलेर काम गर्नुपर्ने सुझाव दिएको छ । विश्व बैंकले ‘नेपाल स्वच्छ हावातर्फ लाभ, प्रदूषणका स्रोतहरू र समाधानहरू’ शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको हो । नेपाल र इन्डो-गङ्गेटिक समथरभूमि तथा हिमाली फेदी क्षेत्रको वायु प्रदूषणको गहिरो मूल्याङ्कन प्रस्तुत गरेको छ।
प्रतिवेदनका अनुसार वायु प्रदूषणका कारण प्रत्येक नेपालीको औसत जीवन आयु ३.४ वर्षले घटेको छ भने वार्षिक झन्डै २६ हजार मानिसको असामयिक मृत्यु भइरहेको छ।
काठमाडौं उपत्यका र तराई क्षेत्रलाई वायु प्रदूषणका ‘हटस्पट’ मानिएको छ । पछिल्लो दशकमा सुधारका प्रयास भए पनि परिणाम खासै देखिएको छैन । कमजोर हावाको गुणस्तरले स्वास्थ्यसँगै देशको श्रम उत्पादकत्व, पर्यटन र विमानन क्षेत्रलाई समेत नोक्सान पुर्याइरहेको छ । यसले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत बराबरको आर्थिक क्षति हुने गरेको विश्व बैंकले जनाएको छ ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रदूषण नियन्त्रण र आर्थिक विकास परस्पर विरोधी होइनन् भन्ने धारणा व्यक्त गरे । उनले भने, ‘स्वच्छ हावा पाउनु नेपालीको अधिकार हो । अहिले नै ठोस कदम चाल्न सके खर्च कम लाग्छ, ढिला गरे झन् महँगो पर्नेछ । सरकारले कडा उत्सर्जन मापदण्डदेखि विद्युतीय सवारीसाधन प्रवर्द्धनसम्मका कदम अघि बढाएको छ ।’
वायु प्रदूषण नियन्त्रणका लागि सवारीसाधन उत्सर्जन नियन्त्रण, औद्योगिक प्रदूषण नियन्त्रण, घरायसी चुल्हो सुधार, जङ्गल आगलागी नियन्त्रण र सीमापार प्रदूषण नियन्त्रण गर्नुपर्ने विश्व बैंकले प्रस्तुत गरेको कार्ययोजनामा उल्लेख छ ।
नेपालको जटिल भूगोल, विशेष गरी चारैतिर डाँडाले घेरेको काठमाडौं उपत्यकाले वायु प्रदूषणलाई नियन्त्रण गर्न झनै चुनौतीपूर्ण बनाएको प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका निर्देशक डेभिड सिस्लेनले भने, ‘स्वास्थ्य र समृद्धिका लागि सफा हावा अत्यन्तै महत्त्वपूर्ण छ । विश्व बैंकले आफ्नो वैश्विक ज्ञान र अनुभव प्रयोग गरी नेपाललाई वित्तीय, प्राविधिक र क्षमता अभिवृद्धिमार्फत साथ दिन निरन्तर प्रतिबद्ध छ ।
प्रतिक्रिया