काठमाडौँ । घरजग्गाको कारोबार घटेपनि त्यस बापत संकलन हुने राजस्व भने वृद्धि भएको छ । चालु आर्थिक वर्षको जेठ महिनामा गत आवको सोही महिनाको तुलनामा घरजग्गाको कारोबार १२ प्रतिशतले घटेको हो । तर, राजस्व भने ८ प्रतिशतले वृद्धि भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
गएको जेठ महिनामा घरजग्गा सम्बन्धी १ लाख ५६ हजार ७५२ पटक कारोबार भएको छ । जसमध्ये ५६ हजार पटक लिखत पारित भएको छ । गत वर्षको जेठ महिनामा १ लाख ७५ हजार ६२० पटक कारोबार हुँदा ६१ हजार १६१ पटक लिखत पारित भएको थियो । तुलनात्मक रुपमा गत वर्षको भन्दा यस वर्षको जेठमा घरजग्गाको कारोबार १२ प्रतिशतले घटेको देखिन्छ ।
यसैगरी, गत वर्षको जेठ महिनामा घरजग्गाको कारोबारबाट ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्षको जेठमा ४ अर्ब ७२ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन ८ प्रतिशत वृद्धि हो ।
यस वर्षको जेठमा जग्गाको कित्ताकाट पनि खच्किएको छ । गत वर्षको जेठमा ७२ हजार ६७५ वटा कित्तालाई टुक्र्याएर १ लाख ६५ हजार ४०० कित्तामा विभाजित गरिएको थियो । यस वर्षको जेठमा ६४ हजार ४६५ वटा कित्तालाई १ लाख ४५ हजार ९०८ कित्तामा विभाजन गरिएको छ ।
झापामा घरजग्गाको धेरै कारोबार
विभागका अनुसार जेठ महिनामा भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापाबाट घरजग्गाको धेरै कारोबार भएको छ । यस मालपोटबाट ७ हजार १२७ पटक घरजग्गासम्बन्धी कारोबार भएको छ । त्यसैगरी, भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीमा ५ हजार २१५ पटक कारोबार हुँदा मालपोत कार्यालय बेलबारी, मोरङबाट ४ हजार ५२८ पटक कारोबार भएको छ ।
यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट ३ हजार ८४४ पटक, भूमिसुधार तथा मालपोत कार्यालय जनकपुर धाममा ३ हजार ८४४ पटक, भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलमा ३ हजार ६१० पटक र भूमिसुधार तथा मालपोत कार्यालय धनगढीमा ३ हजार ४०८ पटक घरजग्गाको कारोबार भएको छ ।
मालपोत कार्यालय चितवनबाट ३ हजार २९२ पटक कारोबार हुँदा मालपोत कार्यालय बुटवलबाट ३ हजार ४२ र भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीबाट ३ हजार ३८ पटक कारोबार भएको छ ।
प्रतिक्रिया