काठमाडौं । आज पनि प्रतिनिधिसभा बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी रा(स्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध कायमै राखेका छन् ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीमा प्रवेश गरेको जानकारी गराउँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएसँगै रास्वपा र राप्रपाका सांसदले उठेर टेबल ठोक्दै विरोध जनाएका हुन् ।
सभामुख घिमिरले पटक–पटक उनीहरूलाई आसनग्रहणको लागि आग्रह गरे पनि उनीहरूले आफूहरूलाई पहिले बोल्न दिन आग्रह गरेका थिए । ‘मैले फेरि पनि भनिरहेको छु, कसले पहिले बोल्ने कसले पछि बोल्ने विषयलाई लिएर सभा अघि नबढाउने विषय उचित हुँदैन’, उनले भने ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने रास्वपासहितको विपक्षीको माग छ । तर, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले भने आज मात्रै सदन सञ्चालनको विषयमा दुई बुँदे सहमति गरेका छन् । हिजोसम्म विरोधमा उत्रिएको माओवादी आज पछि हटेर कांग्रेस रएमालेलाई सहयोग गर्न पुगेको हो ।
प्रतिक्रिया