काठमाडौं । गत चैत १५ गते राजावादीको आन्दोलनमा तीनकुनेमा भएको हिंसात्मक घटना प्रकरणमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जना प्रतिवादी डिल्लीबजार कारागार चलान भएका छन् ।
काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा पक्राउ परेका प्रसाईंसहित ७ जनालाई बिहीबार राति जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षको लागि थुनामा पठाएको हो ।
अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले शुक्रबार दुर्गा प्रसाईंसहित सात जनालाई थुनामा राख्न आदेश दिएको थियो । त्यसपछि उनीहरूलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
३२ जनालाई भने धरौटी माग गरेर पुर्पक्षमा राख्न आदेश दिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले ७ जना मध्यराति नै कारागार चलान भएको जानकारी दिए ।
तीनकुने घटनाका मुख्य योजनाकार भनिएका दुर्गा प्रसाई, घरमा आगो लगाएको आरोप लागेका गोकर्ण शाही, सरोज गौतम, डण्डपाणी रेग्मी, सिसिटिभी फुटेजमा तोडफोड गर्ने केशव बस्नेत, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी गर्ने र करिडोरमा भएको गाडीमा तोडफोड र आगजनी गर्नेलाई अदालतले नै थुनामा पठाउन आदेश दिएको हो ।
राजसंस्था पुनर्स्थापनासहित एजेन्डामा ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमाण्डर’ प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको थियो । उक्त घटनामा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने काठमाडौंका विभिन्न स्थानमा आगजनी, तोडफोड र भाटभटेनी सुपरमार्केटमा लुटपाट समेत भएको थियो ।
प्रतिक्रिया