अनेरास्ववियुको महाधिवेशन सकियो, यी हुन् निर्वाचित पदाधिकारी

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ महाधिवेशन सकिएको छ । अनेरास्ववियु अध्यक्षमा रामेछापका डा. सुजन कडरिया निर्वाचित भएका छन् ।

२४औँ महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि बिहीबार विद्युतीय मेसिनमार्फत भएको मतदानबाट म्याग्दीका प्रकाश पौडेललाई पराजित गर्दै कडेरिया अध्यक्षमा निर्वाचित भएका हुन् ।

कडरियाले ७३२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी पौडेलले ७२५ मत प्राप्त गरे । उनीहरु दुवै जना अघिल्लो कार्यसमितिमा सचिव थिए । त्यसैगरी खुल्ला उपाध्यक्षमा रामेछापकै ई। विकास श्रेष्ठ भारी मतान्तरले विजयी भएका छन् । श्रेष्ठले ७०८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राजकुमार ढकालले ४२९ मत प्राप्त गरे ।

त्यसैगरी महिला उपाध्यक्षमा अञ्जना सिवाकोटीले ७७५ मत ल्याउँदै निर्वाचित भएकी छन् । महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन् । धामीले ७८५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी आरके रोमसले ५५४ मत प्राप्त गरे ।

त्यसैगरी सचिवमा आकाश घर्ती, ई. रचना सापकोटा, ससीम बाबु खान र अधिवक्ता गोपाल नेपाल विजयी भएका छन् । सचिवालय सदस्यमा ४० जना निर्वाचित भएका छन् । अनेरास्ववियुको निर्वाचनमा १४५७ मत खसेको थियो ।

एमालेको सचिवालय बैठकले अखिलको नेतृत्वमा ३२ वर्षको उमेरहदको सीमा लगाएपछि निवर्तमान अध्यक्ष, उपाध्यक्ष र महासचिवहरू प्रतिस्पर्धाबाट रिङ आउट भएपछि सचिवहरु प्रतिस्पर्धामा उत्रिएका थिए । केन्द्रीय कमिटीमा विजयी नेताहरुले राति नै सपथग्रहण गरेका छन् ।

यी हुन् निर्वाचित पदाधिकारी

प्रतिक्रिया