काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै उनीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियार हाल महानिर्देशक, सूचना तथा प्रसारण विभागमा कार्यरत छन् । अख्तियारले परियारसहित ७ जनामाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले उनीहरुमाथि काठमाडौं महानगरपालिकामा ढल निर्माणको ठेक्कामा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्याएको अभियोग लगाएको छ । जस अनुसार सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरा देखि म्हेपीसम्मको ढल निर्माण सम्बन्धी ठेक्कामा अनियमितता भएको देखिएको अख्तियारको दाबी छ ।
अख्तियारले परियारसहित कर्मचारीहरु रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीसमेत प्रतिवादी बनाएको छ ।
आयोगका अनुसार, समानान्तर सेवा प्रालिले सबैभन्दा कम मूल्य (करसहित १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसा) कबोल गरे पनि मिलेमतोमा सो कम्पनीलाई अयोग्य ठहर गरिएको थियो। त्यसको सट्टा दोस्रो कम कबोल (२२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसा) गर्ने कल्पवृक्ष–कोहिनुर जेभीसँग सम्झौता गरिएको थियो ।
जसका कारण काठमाडौं महानगरपालिकालाई ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसाको हानि भएको आयोगले जनाएको छ । अख्तियारले सो रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा १९ अनुसार सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यस्तो छ अख्तियारको विज्ञप्ति
प्रतिक्रिया