विपक्षी दलको अवरोधपछि आज पनि प्रतिनिधिसभा बैठक सुरु हुनासाथ स्थगित

काठमाडौं । भिजिट भिजा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आइरहेको विपक्षी दलले अवरोध गरेपछि आज पनि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

आज दिउँसो २ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक ढिलो गरी सुरु भएको थियो । तर विपक्षी दलहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि स्थगित भएको जानकारी गराएका हुन् ।

विपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन् ।

वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन् । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । सभामुख घिमिरेले आजको बैठकको सुरु भएको जानकारी गराएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।‍

आइतबार बैठकमा विपक्षीले विरोध जनाएपछि आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए । तर विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र उठिरहेपछि आधा घण्टाको लागि स्थगित गरेका हुन् ।

प्रतिक्रिया