‘द ब्ल्यू लाइट’मा बेनिशा

काठमाडौँ । छायांकनरत चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार चलचित्रकी शीर्ष कलाकार वेनिशा हमाललाई प्रस्तुत गरी पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा वेनिशाको पृष्ठभूमिमा मदिरा बार छ । उनी तनाव मुद्रामा देखिन्छन् । उनले हातमा चुरोट लिएकी छन् भने छेउमा मदिराको खाली गिलास देख्न सकिन्छ । नीलो रङको संयोजनले पोस्टरलाई थप रहस्यमयी बनाएको छ ।

यसबाट वेनिशाले चलचित्रमा सहरीया युवतीको भूमिका निर्वाह गरेको प्रष्ट हुन्छ । यद्यपि निर्माण पक्षले उनको भूमिकाबारे खुलाएको छैन । यस पोस्टरबाट चलचित्र काठमाडौँको ‘नाइट लाइफ’ कथामा बनेको अनुमान गर्न सकिन्छ । तर, निर्माण पक्षले चलचित्रको कथावस्तु अहिलेसम्म गोप्य नै राखेको छ ।

२० दिनको तालिका लिएर निर्देशक तथा लेखक बलिराम चौहान बिहीबारबाट छायांकनमा निस्किएका छन् । चौहानको यो डेब्यु निर्देशन हो । चलचित्रमा वेनिशासँगै नायक अर्पण थापा, महेश त्रिपाठी, आयुषमान देशराज जोशी, सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहेको बताइएको छ ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने यस चलचित्र स्काइफल पिक्चर्सको प्रस्तुत बन्न लागेको हो । यसको निर्माता रमन ग्रे हुन् । यो चलचित्र सन् २०२५ भित्रै प्रदर्शनमा आउने बताइएको छ ।

प्रतिक्रिया