शान्ति श्री परियारको नयाँ गीत

काठमाडौँ । शान्ति श्री परियार र धीरज कोइरालाको स्वरमा ‘हुन्छ मात्रै भन न मायाले, सिंगै जोवन दिन्छु’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा मायाप्रेमको निःस्वार्थ प्रस्तावका साथै पश्चिम नेपाल (विशेषतः सुर्खेत) को सांस्कृतिक र भाषिक सुगन्ध झल्किन्छ । गीतकार विक्रमबाबु विश्वकर्माले माया प्राप्तिको लागि ‘सिंगै जोवन दिन्छु’ भन्ने अभिव्यक्तिमार्फत प्रेममा आफूलाई पूर्ण रूपमा समर्पण गर्न तयार पात्रको कथालाई सुन्दर शब्दमा उनेका छन् ।


गीतमा उल्लिखित ‘टक्क शिरमा सिन्दूर लाउली, बसी बसी मिठो खाउली’ भन्ने पंक्तिले परम्परागत विवाहपछिको प्रेमिल जीवनको कल्पना प्रस्तुत गरिएको छ । गीतमा ‘सुर्खेतमा छिन्छु’ भन्ने लाइनले भौगोलिक पहिचानलाई संगीतमार्फत जोड्ने काम गरेको छ ।

गीतलाई नेपाली समाजको समर्पणशील प्रेम भावना, सांस्कृतिक आंगिकता र आधुनिक लय संयोजनको राम्रो मान्न सकिन्छ । गीतले एउटा सामान्य प्रेम प्रस्तावलाई जनप्रिय शैलीमा प्रस्तुत गर्दै, ग्रामीण भाषिकता र सजीव संवादमार्फत श्रोतामाझ गहिरो प्रभाव छोड्ने प्रयास गरेको छ । लोकपप शैलीको यो गीतमा कोरस भोकलको रूपमा रञ्जित विश्वकर्मा, अमरराज विश्वकर्मा, शीतल कल्पना र लक्ष्मी बिसीलाई अवसर दिइएको छ । गीतको म्युजिक भिडियोमा विजय पुन, गुड्डु तामाङ, विनु पोर्तेल र स्वयं धीरज कोइरालाको अभिनय रहेको छ । गीत बिहीबार कोइरालाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया