काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा करोडौँ डलर खर्चिंदै मुख्य सहयोगी बनेर अमेरिकी राजनीतिमा उपस्थिति जनाएका डलर खर्बपति एलन मस्क अहिले ट्रम्पसँग टाढिएका मात्र छैनन्, उनीहरूको सम्बन्ध दक्षिण भारतीय सिनेमामा मात्र भेटिने ‘जानी दुश्मन’को हदमा परिणत भएको छ ।
उनीहरूबीचको कटु सम्बन्धको असर मस्कको व्यापारिक साम्राज्यमा परिसकेको छ भने अर्कातिर मस्कले ट्रम्पमाथि महाभियोग लगाउन रिपब्लिकन र डेमोक््रयाट दुवैसँग गरेको लबिइङ महँगो पर्ने संकेत देखिएको छ । अहिले यी २ जनाको शत्रुताको असर मस्कको कम्पनी टेस्लामा बढी परेको छ । विगत १ सातामा मात्र मस्कले झन्डै डेढ अर्ब डलर गुमाएका छन् ।
पछिल्लोे विवरणअनुसार यस वर्षको पहिलो ३ महिनामा टेस्लाका कारहरूको बिक्री २० प्रतिशतले घटेको छ । त्यसैगरी टेस्लाको नाफा ७० प्रतिशतले घट्दा सेयर मूल्यमा पनि ठुलो गिरावट देखिएको छ । मस्कले ट्रम्प प्रशासनमा निर्वाह गरेको विवादास्पद भूमिकाका कारण ग्राहकमा नकारात्मक असर परेको छ ।
बिबिसीका अनुसार कुनै समय अन्य कुनै कम्पनीले प्रतिस्पर्धा गर्न नसक्ने टेस्ला अहिले धेरै पछि परिसकेको छ । टेस्लाले लामो समयदेखि गुगलको मातृ कम्पनी अल्फाबेटले चलाएको वाइमोसँग प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको छ । वाइमोका चालकरहित ट्याक्सीहरू सान फ्रान्सिस्कोमा केही वर्षदेखि सञ्चालनमा छन् । अहिले ती ट्याक्सीहरू अरू सहरमा पनि विस्तार भइरहेका छन् ।
टेस्लाले पनि यसै महिना स्वचालित ट्याक्सीहरू टेक्ससको अस्टिनमा सुरु गर्ने तयारी गरेको छ । मस्कले गत साता टेस्लाका चालकबिनै सञ्चालन हुने मोडल वाई कारहरू परीक्षण भइरहेको बताएका थिए । अहिले मस्कको ध्यान आफ्नो व्यावसायमा मात्र केन्द्रित नभएर ट्रपसँगको विवादमा पनि बाँडिएपछि परियोजनाको सफलताको सम्भावना पछि धकेलिएको छ । यसअघि पनि विद्युतीय सवारी र रकेट बनाएर ट्रम्पले आफूलाई अब्बल प्रमाणित गरिसकेका छन् । यो सफलताका बाबजुद पछिल्लो अवस्थाले टेस्लाका अन्य लगानीकर्तामा पनि चिन्ता थपिएको छ ।
‘अमेरिकाका राष्ट्रपति भन्दा आफूसँग बढी शक्ति छ भनेर सोच्नु सबैभन्दा मूर्ख काम हो,’ ट्रम्पसँग मस्कको सामाजिक सञ्जाल टिप्पणीबारे टेस्लाकै एक लगानीकर्ता गर्बरले भने । ट्रम्पसँग देखिने गरी शत्रुता बढेपछि उनको कार कम्पनी बहिष्कारको अभियान सामाजिक सञ्जालमा सुरु भएको छ । ट्रम्पको पद बहालीसँगै सामाजिक सञ्जालमा ‘टेस्ला टेकडाउन’ अभियान कैयौँ सहरमा देखिएको थियो । अहिले स्वयं ट्रम्पले आफूसँग भएको टेस्लाको रातो कार बेच्ने बताएका छन् ।
मानिसहरूमा मस्कप्रति आक्रोशको अर्को कारण ट्विटर भनेर चिनिने सामाजिक सञ्जाल ‘एक्स’मा उनले बढाएको आफ्नो साम्राज्य पनि हो । उनका आलोचकहरूकै विचारमा एकलौटी साम्राज्यले बढाएको दम्भ पनि एक प्रमुख समस्या हो । मस्क र उनका कम्पनीको भविष्य उनले कति ध्यान दिन्छन् भन्नेमा मात्रै सीमित छैन, त्यो कुरा ट्रम्पको निर्णयमा पनि भर पर्ने देखिएको छ ।
ट्रम्पको चुनावी अभियानको खर्च र प्रचारप्रसार दुवैमा सघाएका मस्कलाई अब ट्रम्पले कस्तो व्यवहार गर्छन् भन्ने यकिन छैन । ट्रम्पले मस्कसँग सम्बन्धित कम्पनीका सरकारी सम्झौताहरू कटौती गर्ने संकेत गरिसकेका छन् । अहिले मस्कका कम्पनीहरूले सरकारसँग मिलेर ३८ अर्ब अमेरिकी डलर बराबरका परियोजनाहरू सञ्चालन गरिरहेको ठानिएको छ । त्यसको सबैभन्दा ठुलो हिस्सा मस्कको रकेट कम्पनीलाई जान्छ । अब ती परियोजना रद्द हुन सक्ने बताइएको छ । त्यसको अर्थ ट्रम्पसँगको मनमुटावले स्पेस एक्सको भविष्यमा पनि असर पर्न सक्छ ।
स्पेस एक्सको ड्रागन अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय स्पेस स्टेसनसम्म मानिस र सामान ओसार्दै आएको छ । अहिले नासाका ३ जना अन्तरिक्ष यात्रीहरू यहाँ पुगेका छन् । अमेरिकी अन्तरिक्ष र राष्ट्रिय सुरक्षाको क्षेत्रमा स्पेस एक्सले लिएको स्थान अब ट्रम्पको धम्कीकै कारण हटाउन कठिन छ ।
त्यस्तै, अवस्था मस्कको स्याटेलाइटमा आधारित इन्टरनेट कम्पनी स्टारलिंकको पनि छ । यसको विकल्प भनेजस्तो सजिलो छैन । ट्रम्पसँगको विवादपछि मस्कले ड्रागन अन्तरिक्ष यान फिर्ता बोलाउने धम्की दिएका थिए । यद्यपि, उनी यो विचारबाट पछाडि फर्किइसकेका छन् । उनले सामाजिक सञ्जालमा सो यान फिर्ता नबोलाउने बताएका छन् ।
धेरै आक्रामक बन्दै ट्रम्प र मस्क
१२९ दिनसम्म ट्रम्प प्रशासनको हर्ताकर्ता भएर मस्कले अमेरिकाबाट विश्वभर प्रवाह भइरहेको सहायतामा डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज)मार्फत् धेरै सहयोग रकम कटौती गरेका थिए । अहिले त्यहाँबाट मस्क बिदा हुनेबित्तिकै ट्रम्पले ल्याएको करसम्बन्धी विधेयकप्रति मस्कले असन्तुष्टि जनाए । ट्रम्पले बिहीबार ‘मस्कले आफ्नो कम्पनी टेस्लालाई घाटा हुने भएर आफूले ल्याएको खर्च विधेयकको विरोध गरेको’ आरोप लगाएका थिए । विद्युतीय गाडी (इभी) ले पाइरहेको कर छुट विधेयकमार्फत् अन्त्य गर्न खोजेकाले मस्क चिढिएको उनको दाबी थियो ।
ट्रम्पलाई महाअभियोग लगाउन लबिइङ
अमेरिकी राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन संसद्मा प्रस्ताव लैजान मस्कले लबिइङ सुरु गरेका छन् । यसका लागि उनले विधायकहरूसँग छलफल सुरु गरिसकेका छन् । उनले खर्च विधेयक देशको हितमा नभएको भन्दै महाअभियोग लगाउने बताएका हुन् ।
प्रतिक्रिया