जगदुल्ला हाइड्रोपावरको सम्झौता अगाडि नबढाउन निर्देशन

नक्कली कागजात पेस गरेको आशंका

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नक्कली कागजात पेस गरेको आशंकामा जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्का सम्झौता अगाडि नबढाउन निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माण कम्पनीले नक्कली कागजात पेस गरी बोलपत्रमा समावेश भएको भनी आएका गुनासाका विषयमा प्रस्ट नभई सम्झौता अघि नबढाउन ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय र जगदुल्ला हाइड्रोपावर कम्पनीसमेतलाई निर्देशन दिएको हो ।

‘समितिमा प्राप्त भएको जगदुल्ला हाइड्रोपावर निर्माणका लागि आशयपत्र माग तथा छनौटमा भएको अनियमितता सम्बन्धमा आशयपत्र प्रस्तुत गर्ने/प्रस्ताव गर्ने निर्माण कम्पनीले नक्कली वा धोकाधढीयुक्त कागजात÷प्रमाण पेस गरेको भन्ने विषय सार्वजनिक कानुनको परिपालना तथा पूर्वाधार निर्माणका दृष्टिले गम्भीर देखिएकोले यस प्रक्रियालाई अविलम्ब तत्काल रोक्न तथा उक्त कागजातहरूको विषयमा शीघ्र यकिन÷परीक्षण तथा छानबिन गरी निष्कर्षमा पुग्न निर्देश गर्दछ’, समितिले दिएको निर्देशनमा भनिएको छ ।

बैठकले समितिको २३औँ वार्षिक प्रतिवेदन पारित पनि गरेको छ । यस्तै, बेरुजु फस्र्यौटका सम्बन्धमा ३ तहकै जनप्रतिनिधिको सहभागितामा असार ९ र १० गते काठमाडौँमा राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने निर्णय पनि गरेको छ । गोष्ठीमा सबै प्रदेशका सार्वजनिक लेखा समिति सभापति र सचिव, विज्ञ, महालेखा परीक्षकको, कार्यालय, नगरपालिका र गाउँपालिका महासंघका प्रतिनिधि सहभागी हुने जनाइएको छ । समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु फस्र्यौटमा स्थानीय तहदेखि संघसम्मको समग्र अवस्थाबारे जानकारी लिँदै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा रायसुझाव लिने उद्देश्यले गोष्ठी गर्न लागिएको जानकारी दिए ।

बैठकले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन उपसमितिले थप अध्ययनका लागि स्थलगत अवलोकन गर्ने माग गरेकोमा स्वीकृत प्रदान गरेको छ । त्यसैगरी यो वर्ष मौसम केही जटिल हुने प्रक्षेपण गरिएकाले पूर्वतयारी प्रतिकार्यलाई चुस्त र व्यवस्थित तुल्याउन सरकारलाई सुझाव दिँदै समितिले आगामी धान बालीका लागि किसानलाई रासायनिक मलको अभाव हुन नदिन उचित व्यवस्थापनमा लाग्न निर्देश गरेको छ ।

प्रतिक्रिया